- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपालको नयाँ प्रधानमन्त्रीका रुपमा केपी शर्मा ओली नै दोहोरिने लगभग पक्कापक्की भएको छ । राष्ट्रपति कार्यालयले दिएको समयसीमा भित्र प्रधानमन्त्री पदका लागि गरिएको आह्वानमा कसैले पनि दाबी नगरेको जानकारी गराएसँगै ओली प्रधानमन्त्री हुने निश्चित देखिएको हो ।
राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले विहीबार साँझ विज्ञप्ति जारी गर्दै बैशाख २७ गतेदेखि बिहीबार ३० गतेसम्मका लागि प्रधानमन्त्री पदका लागि आह्वान गरिएको तर त्यसमा कुनैपनि दाबी नपरेको जनाएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाका सदस्यलाई मिति २०७८/१/३० गते बिहीबारका दिन साँझको ९ बजेभित्र नेपालको प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनको लागि आफ्नो दाबी पेश गर्न आह्वान भएकोमा उक्त समयावधिभित्र कसैको पनि दाबी पेश हुन नआएको व्यहोरा अनुरोध छ ।’
विपक्षी दलहरुसँग बहुमत नपुग्ने भएपछि कसैले पनि प्रधानमन्त्रीका लागि दाबी पेस गरेनन् । बिहीबार साँझ ९ बजेसम्म दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्ने सदस्यले प्रधानमन्त्रीमा दाबी पेश गर्नुपर्ने थियो । एमालेभित्र माधवकुमार नेपाल र केपी ओली पक्षबीच सहमति भइसकेकाले ओली नै प्रधानमन्त्री हुने निश्चित देखिएको हो ।