- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानको नयाँ व्यवस्था अनुसार प्रधानमन्त्री नियुक्त भए पनि आफ्नो मन्त्रीमण्डल भने पुरानै राख्ने तयारी गरेका छन् ।
संविधानको धारा ७६ (३) अनुसार संसद्मा सबै भन्दा बढी सदस्य रहेको ठुलो दलको हैसियतमा प्रधानमन्त्री पदमा ओली हिजो राती नियुक्त भएका हुन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट केही बेरमा शीतल निवासमा शपथ लिँदै छन् ।
प्रधामन्त्री ओलीले आफ्नो क्याबिनेटमा रहेका मन्त्रीहरूलाई भने तत्काल नचिढ्याउने नीति लिएको बुझिएको छ । आफ्नो शपथपछि उनले अन्य मन्त्रीहरूलाई पनि शपथ खुवाउने तयारी गरिरहेका छन् ।
तर, जसपाले मन्त्रीमा आफ्ना सांसदहरूलाई पठाउने भएमा भने प्रधानमन्त्री ओलीले केही मन्त्रीलाई फेर्ने विषयमा तयार रहन मन्त्रीहरूलाई भनिसकेका छन् ।
‘अहिलेलाई पुरानै मन्त्रिमण्डलमा रहेका मन्त्रीलाई नै दोहोर्याउने कुरा भएको छ, पछि जसपा पनि सरकारमा आउने भयो भने हेरफेर हुन्छ,’ सपथको तयारीमा रहेका एक मन्त्रीले भने ।
उनका अनुसार प्रतिनिधि सभामा सदस्य नरहेका र पहिले मन्त्री रहेकालाई पनि फेरी निरन्तरता दिइँदै छ । संवैधानिक व्यवस्था अनुसार सांसद नरहेको व्यक्ति ६ महिनासम्म मात्र मन्त्री बन्न पाउँछन् । तर मन्त्रीमण्डल परिवर्तन भएमा फेरी दोहोर्याउन पाउने नपाउने संविधानमा उल्लेख छैन ।