- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पाटीको माग मुद्दा सम्बोधन गर्न अलमल गरे पछि जसपाको ठाकुर पक्षले सरकारमा नजाने बताएको छ। जसपाको अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले मङ्गलवार संयुक्त विज्ञप्ति निकाली सरकारमा नजाने बताएका हुन्। राष्ट्रिय सहमतिको सरकार या जसपाले सरकारको नेतृत्व गर्ने अवसर आएमा भने सरकार गठनको लागि अगाडि बढेन सहमति ठाकुर र यादवले गरेका छन्।
यादव सुरु देखि नै ओली सरकारको विपक्षमा छन्। संसद्मा ओली सरकारविरुद्ध यादव पक्षका सांसदहरूले विपक्षमा भोट दिएका थिए। तर जसपाका ठाकुर पक्षका सांसदहरू तटस्थ बसी ओलीलाई सहयोग गरेका थिए। ठाकुर पक्षका एक नेता भन्छन्, ‘वैशाख ३१ गते पछि हाम्रो कारणले ओली प्रधानमन्त्रीको कुर्सीमा टिक्नु भएको हो।’ उहाँले मन्त्रिपरिषद्को पहिलो बैठकबाट माग पूरा गर्ने आश्वासन दिनु भएको थियो। तर अहिले माग पूरा गर्न उहाँ अलमल गर्नु भएको छ।’ ती नेताले भने,‘त्यसैले अहिले शङ्का गर्नु पर्ने अवस्था आएको छ।’
तर ठाकुर निकट नेता डा.सुरेन्द्र झाले भने ठाकुर र यादवले निकालेको संयुक्त विज्ञप्तिमा सरकारमा जाने नभई तत्काल सरकारमा नजाने भनी उल्लेख गरिएको बताउँदै माग मुद्दा सम्बोधन भएमा सरकारमा जाने ढोका बन्द नभएको बताए। जसपाले राखेका माग मुद्दा सम्बोधन गर्न प्रधानमन्त्रीलाई अझै समय रहेको उनले बताए।
जसपाले राखेका ५ वटा माग मध्ये एउटा माग मात्र ओलीले सम्बोधन गरेका छन्। मधेस आन्दोलनको क्रममा लगाइएको १ सय २० जना व्यक्तिको मुद्दा फिर्ता लिने निर्णय ओलीले गरेका छन्। बाँकी ४ मुद्दा अहिले पनि जाँताको त्यही छन्। जसपाले सरकारसँग मधेस आन्दोलनको क्रममा लगाइएका मुद्दा खारेज गर्नु पर्ने, नागरिकता विधेयक पास गर्नु पर्ने, संविधान संशोधन गर्नु पर्ने,लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नु पर्ने र रेशम चौधरीको रिहाइ गर्नु पर्ने माग अघि सारेको छ।
ओली सरकारलाई ढाल्ने कि ओली सरकारको विरोधमा नजाने भन्ने विषयमा जसपा दुई कित्तामा विभाजित भएको छ। यही विषयमा पार्टी झन्डै विभाजन हुन लागे पछि सोमबार जसपाका अध्यक्ष द्वय महतो र ठाकुरले काठमाडौँमा गोप्य वार्ता गरेका थिए। पार्टी विभाजन हुनबाट रोक्न ठाकुर र यादवले ८ बुँदे सहमति गरेका छन्।
उक्त सहमतिमा राजेन्द्र महतोलाई संसदीय दलको नेता घोषणा गरेको विषयमा केही बोलिएको छैन। ठाकुर पक्षले महतोलाई संसदीय दलको नेता चयन गरेको बताएको छ भने यादव पक्षका नेताहरूले कसैलाई पनि संसदीय दलको नेता चयन नगरिएको प्रस्ट पारेका छन्।
यसैबीच, यही जेठ ८ र ९ गते पार्टीको कार्यकारिणी समितिको बैठक बोलाइएको छ। ५१ सदस्यीय कार्यकारिणी समितिमा यादव पक्ष बलियो छ। संसदीय दलमा भने ठाकुर र यादव पक्ष बराबरको स्थितिमा छ।
यही समयमा, ठाकुर र यादवले सहमति गरेकै दिन मङ्गलवार ठाकुर पक्षले संसद् सचिवालयलाई चिठी लेखेर महतोलाई संसदीय दलको नेता चयन गरेको जानकारी गराएको छ। यादव पक्षका नेताहरूले भने महतोलाई संसदीय दलको नेता चयन गरेको ठाकुर पक्षको दाबी ठाकुर र यादवको ८ बुँदे सहमति सँगै खारेज भएको बताउँछन्।