arrow

बुद्धको सिद्धान्त

logo
वरदेश मानन्धर, 
प्रकाशित २०७८ जेठ ४ मंगलबार
gautam_buddha.jpg

भगवान् बुद्धको सिद्धान्त के हो ? यो कुरा कसैले सोधेमा तुरुन्त जवाफ दिन सजिलो छैन । भगवान् बुद्धको सिद्धान्त यही हो भनेर तोकेर भन्न सकिँदैन । त्यसो हुँदैमा उनको सिद्धान्त नै छैन भनेको होइन । उनको सिद्धान्त बुझ्न बुझाउन वा पूर्ण रूपले व्याख्या गर्न गाह्रो छ। यो कुरा बुझ्न विवेक विचार अत्यावश्यक छ । नेपाली समाजले बुद्धको सिद्धान्त के हो भन्ने कुरा संक्षेपमा भए पनि बुझिराख्नु अनिवार्य छ । यस कार्यमा केही कुरा बुझ धर्म सेनापति सारिपुत्रले बुद्धको सिद्धान्त कसरी बुझिलिए भन्ने कुरा अध्ययन गर्दा थाहा पाउन सकिन्छ ।

धर्म सेनापति भिक्षु सारिपुत्र को जन्म उपतिस्स नामक ग्राममा भएको थियो। उनका आमा बाबु निक्कै धनी थिए। धन सम्पत्ति धेरै भएता पनि उनको मन त्यसमा आशक्त भई बसेन । जहिले पनि गहिरो चिन्तनको सागरमा डुबिरहे त्यस बेला उनको नाम उपतिस्स थियो।

उनको अति मिल्ने एक जना मित्र पनि थिए, कोलित। कोलित पनि उस्तै धनीका पुत्र भएता पनि उपतिस्सकै विचारका थिए। दुवै जना जीवनको रहस्य र सत्य खोजीमा लागे । उनीहरूको इच्छा थियो दुःख कसरी आयो र दुःखको अन्त कसरी गर्ने । यो कुरा घरमा बसेर बुझ्न नसक्ने भएकोले दुवै जनाले गृह त्याग गरे ।  उनीहरूले प्रतिज्ञा गरे कि जसले पहिले सत्य ज्ञान प्राप्त गर्छ त्यसले अर्कोलाई भन्नुपर्छ । ती दुवै जना सञ्जय नाम  गरेको पण्डित कहाँ विद्या अध्ययन गर्न गए । तर त्यहाँ उनीहरूले आफूलाई चाहिँदो विद्या पउन सकेनन् ।

 एकदिन उपतिस्स घुम्न जाँदा अस्सजि नाम गरेका एक जना भिक्षुलाई भेटे । अस्सजि भिक्षुको शान्त वातावरण देखेर उपतिस्स निक्कै प्रभावित भए। त्यस भिक्षुबाट आफूलाई चाहिने सत्य ज्ञान पाउन सक्ला भन्ने विचार गरे बाटोमा भिक्षाटन गइराखेको भिक्षुले नबोलेको हुँदा उनीसँग पछि लागे। बिहारमा पुग्दा अस्सजि भिक्षुसँग उनको गुरु को हो ? र उनको सिद्धान्त के हो भन्ने कुरा सोधे । अस्सजि भिक्षुले बुद्धको परिचय र सिद्धान्तबारे एक छोटो श्लोक भने।

ये धम्मा हेतु पन्भबा तेसं हेतु तथागत आह।
तेसंचं यो निरोधो एवंवादि महासमणोति ।

अर्थात्- 'जुन धर्मद्वारा हेतु हुने हो त्यही धर्मको हेतु तथागतले भन्नुभएको छ । साथै त्यस हेतुको निरोध पनि भन्नुभएका पहाँ महाश्रमण हुनुहुन्छ ।'

ज्ञान र बुद्धि भएका उपतिस्सले त्यति भन्दैमा सब कुरा बुझे । यस श्लोकद्वारा उपतिस्स स्रोतापति ज्ञान लाभी भए । निर्वाणको बाटोमा पुगे । उनीसँग म र मेरो भावना, नचाहिँदो शङ्का अन्धविश्वास आदि भएन । उसले बुद्धलाई चिने, साथै बुद्धका सिद्धान्त बुझे। उपतिस्सले उत्पत्ति र अन्तको हेतु र हेतुको कारणलाई निर्मूल पार्ने उपाय बुझे। यो नै बुद्धको मुख्य सिद्धान्त हुन् ।

अब हामीले बुद्धको सिद्धान्तलाई केलाएर हेरौँ। छोटकरीमा बुद्धको सिद्धान्त चार आर्य सत्य हुन् । चार आर्य सत्य भनेको दुःख सत्य, दुःख समुदाय सत्य, दुःख निरोध सत्य, दुःख निरोध गामिनी प्रतिपदा आर्य सत्य ।

सबभन्दा पहिले दुःख सत्य के हो बुझौँ । यस संसारमा मुख्यतया आठ प्रकारका दुःख छन् । ती हुन् जन्म हुनु, बूढा हुनु, रोगी हुनु, मर्नु, मनपर्नेसँग बरन नपाउनु, मन नपर्नेसँग बस्न पर्नु, आफूले इच्छा गरेको चीज नपाउनु, आदि संक्षेपमा भन्ने हो भने यो शरीर धारण गरिरहनु मै दुःख हो । किनभने शरीर नभएको भए दुःख आइपर्ने नै थिएन । यी आठ प्रकारका दुःख समूहलाई दुःख सत्य भन्दछ ।

दोस्रो दुःख समुदाय सत्य, दुःखको कारण पनि छ। दुःखको कारण हो तृष्णा, काम तृष्णा, भव तृष्णा, विभव तृष्णा । तृष्णाको कारणले मानिसहरूमा सन्तोष भनेको नै हुँदैन । लोभी भएको खण्डमा कहिले पनि मन सन्तोष हुँदैन । उसलाई के मलाई पनि भए हुन्थ्यो कसरी त्यो पाउने हो भन्ने विचार भइरहन्छ । अनि दुःखबाट बच्न सक्दैन । सबै दुःख भइरहेको ने तृष्णाको कारणले नै हो ।

 तेस्रो दुःख निरोध सत्य । दुःखको कारण बुझेर  त्यसपछि कारणलाई निर्मूल पर्ने विचार गर्नुपर्छ । यसरी दुःखको अन्त हुन्छ । दुःखको अन्त गर्ने कारण तथा उपाय खोज्नु नै दुःख निरोध सत्य हो ।

चौथौँ निरोध गामिनी प्रतिपदा आर्य सत्य । दुःखको अन्त गर्न दुःखको कारण जरैदेखि उखेल्नुपर्छ भन्ने कुरा बुझेर हामीले बाटो खोज्नुप-यो। कार्य सञ्चालन गर्नुपर्‍यो। त्यसको उपाय आर्यअष्टांगिक मार्ग हो ।

 १. सम्यक् दृष्टि, (राम्रो बुझ्नु) २. सम्यक्संकल्प (राम्रो  सङ्कल्प वा निःस्वार्थता) ३. सम्यक् बचन (राम्रो बोली) ४. सम्यक्कर्मान्त (राम्रो काम गर्नु) ५. सम्यक् जीवन (राम्रो निर्दोष जीवन) ६ सम्यकव्यायाम (उत्साहित हुनु) ७. सम्यक् स्मृति (होस् राखी बस्नु) ८. सम्यक् समाधि (ध्यान बस्नु) यति हामीले राम्रोसँग बुझी जीवन चलाउन सकेमा हामी दुःखबाट मुक्त हुन सक्छौँ र साथै साँचैको बौद्ध पनि हुन्छौँ । आनन्द भूमिबाट

(यो लेख ३९ बर्ष अघि २५२६ औँ बुद्ध जयन्तीको साप्ताहिक रेडियो कार्यक्रम अन्तर्गत रेडियोबाट प्रसार भएको थियो ।)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ