arrow

बागमतीमा राष्ट्रिय सभा उपनिर्वाचन विहीबार: तीन उम्मेदवार, ३४७ मतदाता

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ५ बुधबार
election-commission1-1618997712.jpg

काठमाडौं । राष्ट्रिय सभाको दुई रिक्त पदका लागि हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले तयारी अन्तिम चरणमा पुर्‍याएको छ ।

बागमती प्रदेशतर्फ रिक्त एक सदस्यका लागि भोली बिहीबार उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनका लागि अहिले मौन अवधि जारी छ । यो अवधिमा मत माग्न तथा प्रचार प्रसार गर्न पाइँदैन ।

बागमती प्रदेशतर्फको उपनिर्वाचनमा तीन उम्मेदवार र ३४८ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ । सो प्रदेशमा नेकपा एमालेबाट रामबहादुर थापा ‘बादल’, कांग्रेस, माओवादी केन्द्र, र जसपा र एमालेकै माधव नेपाल समूहबाट डा.खिमलाल देवकोटा उम्मेदवार बनेका छन् । यसैगरी नेपाल मजदूर किसान पार्टीका तर्फबाट कृष्णबहादुर तामाङ उम्मेदवार बनेका छन् ।

वागमती प्रदेशतर्फको उपनिर्वाचनमा आफ्नै प्रस्तावबाट देवकोटालाई उम्मेदवार बनाए पछि एमालेको नेपाल समूह यो निर्वाचनमा अग्नि परिक्षामासमेत रेको छ । एमाले भित्रको विवाद साम्य गर्न कार्यदल बनाएर वार्ताको चरणमा रहेका कारण नेपाल समूहले आफैंले उम्मेदवार बनाएर अघि सारेका देवकोटालाई साथ दिने की नदिने भन्नेमा धर्म संकटमा परेको हो ।

तर, कांग्रेस, माओवादी केन्द्र र जसपाले भने नेता नेपालकै प्रस्तावमा देवकोटालाई उम्मेदवार बनाइएको भन्दै निणर्यबाट पछि नहट्ने बताइरहेका छन् । उपनिर्वाचनमा बागमती प्रदेशसभाका ११० जना मध्ये १०९ सांसदले मतदान गर्नेछन् । एक सांसदको भने केही दिनअघि कोरोना संक्रमणका कारण निधन भएको छ ।

यस्तै स्थानीय तहका २३८ जना प्रमुख र उपप्रमुखसमेत गरी कुल ३४८ जना मतदाता हुनेछन् । प्रदेशसभा सदस्यको मतभार ४८ हुनेछ भने स्थानीय जनप्रतिनिधिको मतभार १८ गणना हुनेछ ।

बागमतीतर्फ सत्तारुढ नेकपा एमालेबाट उम्मेदवार बनेका गृहमन्त्री बादलले सूर्य चिन्ह पाएका छन् । यस्तै कांग्रेस, माओवादी केन्द्र र जसपाबाट उम्मेदवार बनेका देवकोटाले कलम चिन्ह पाएका छन् । नेमकिपाका उम्मेदवार तामाङले मादल चिन्ह प्राप्त गरिसकेका छन् ।

देवकोटा संघीयता सम्वन्धि विज्ञ समेत मानिन्छन् । बादल भने केही समयअघि मात्रै एमाले प्रवेश गरेका हुन् । नेकपा एकता हुनुअघि उनी माओवादी केन्द्रबाट उम्मेदवार थिए । उनलाई एमालेमा प्रवेश गरेपछि माओवादी केन्द्रले कारवाही गरेको थियो । उनीमाथि पार्टीले कारवाही गरेपछि उनको राष्ट्रिय सभा सदस्य पद गुमेको थियो । त्यसपछि बागमतीतर्फ उनको सोही स्थानमा उपनिर्वाचन हुन लागेको हो ।

लुम्बिनी प्रदेशतर्फ रिक्त एक सदस्यका लागि भने १७ जेठमा उपनिर्वाचन हुँदै छ । लुम्बिनीमा दुईजनाको उम्मेदवारी परेको छ । सो प्रदेशमा २९६ जना मतदाता छन् । लुम्बिनीमा एमालेका तर्फबाट चन्द्रबहादुर खड्काले उम्मेदवारी दिएका छन् । उनी माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका थिए ।

यसैगरी कांग्रेस, माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाका तर्फबाट दिर्घनारायण पाण्डेको उम्मेदवारी परेको छ ।यसअघि उनी लुम्बिनी प्रदेशसभा सदस्यमा एमालेका तर्फबाट निर्वाचित थिए । तर अहिले भने उनी कांग्रेसमा आबद्ध छन् । उनी केही दिनअघि मात्रै कांग्रेस प्रवेश गरेका हुन् ।

दाङस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार उनीहरुले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकारी निमराज भट्टराईले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ