arrow

ललितपुर उवा सङ्घ, आरम्भ फाउन्डेसन र अक्षेश्वर महाविहारको सहकार्यमा महासङ्घद्वारा पुलचोकमा आइसोलेसन सेन्टर सञ्चालन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ८ शनिबार
covid-isolation-lalitpur-fncci.jpg

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घले ललितपुर उद्योग वाणिज्य सङ्घको संयोजन, आरम्भ फाउन्डेसन र अक्षेश्वर महाविहार पुलचोकको सहयोग र सहकार्यमा कोभिड सङ्क्रमितहरूका लागि आइतबारबाट अक्षेश्वर महाविहार पुलचोक, ललितपुरमा ड्राई (अक्सिजन र आपत्कालीन उपचार विनाको) आइसोलेसन सेन्टर सञ्चालनमा ल्याउने भएको छ।

ललितपुर उद्योग वाणिज्य सङ्घको स्थानीय संयोजन, आरम्भ फाउन्डेसनको स्वास्थ्य  सेवा सम्बन्धी सहकार्य र अक्षेश्वर महाविहारले आइसोलेसन केन्द्र स्थापनाका लागि स्थान उपलब्ध गराएको छ।

आइसोलेसन सेन्टरमा प्रारम्भमा जम्मा ३० बेड रहने छन् र आवश्यकताका आधारमा थप बेडहरूको व्यवस्थापन गर्दै जाने योजना छ। केन्द्रबाट दैनिक पौष्टिक आहार र स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराइने छ। केन्द्रका लागि आवश्यक औषधि, महासङ्घको कार्यकारिणी समिति सदस्य प्रवलजंग पाण्डे र निवर्तमान उपाध्यक्ष उमेशलाल श्रेष्ठ, मास्क स्यानिटाइजर कार्यकारिणी समिति सदस्य आनन्द वगाडिया, खाद्यान्न कार्यकारिणी समिति सदस्य संदिप अग्रवाल(गाडिया), स्यानिटाइजर हयाण्डवास सोप पवन चौधरी, डेटोल सोप, कोल्गेट, टुथपेष्ट, टुथव्रस, हार्पिक बल्लभ सिग्देल, पिउने पानी अजय सिंह कार्की, इन्टरनेट सेवा भयानेटका सेवा पाठक, हात्तिछाप चप्पल विदुषी राणाले उपलब्ध गराई सहयोग गरेका छन्।

निम्न आय भएका, कुनै लक्षण नदेखिएका सङ्क्रमितहरू कामका लागि बाहिर जाने र त्यसबाट सङ्क्रमण समेत फैलन सक्ने उच्च खतरा रहेकाले त्यस्ता सङ्क्रमितहरूलाई उचित वातावरणमा एकै ठाउँमा राखी सङ्क्रमण नियन्त्रणमा सहयोग पुर्‍याउने उद्देश्यले केन्द्र सञ्चालनमा ल्याएको हो।

आइसोलेसनमा रहँदा कुनै सङ्क्रमितहरूमा स्वास्थ्य जटिलता आई अस्पताल जानुपर्ने अवस्था आइपरेमा बिरामीलाई अस्पतालसम्म जाने कार्यको समन्वय नेपाल उद्योग वाणिज्य महासङ्घले गरिदिने छ भने तत्पश्चात्को सम्पूर्ण व्यवस्थापन बिरामी आफैले गर्नुपर्नेछ। केही व्यवहारिक र सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गर्दै प्रारम्भमा कोभिड सङ्क्रमित एकल महिलाहरूलाई सेन्टरमा सेवा दिन असमर्थ हुने महासङ्घ जनाएको छ।

आइसोलेसनमा केन्द्रको आज अवलोकन गर्दै महासङ्घका अध्यक्ष शेखर गोल्छाले सङ्क्रमणका बखत उचित खानपिन र वासस्थानको अभाव भइरहेकालाई केन्द्र सञ्चालनबाट ठुलो राहत पुग्ने विश्वास व्यक्त गरे। वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले महामारीको यो समयमा समस्यामा परेकाहरूलाई मानवीय सेवा गर्ने उद्देश्यले महासङ्घले सञ्चालन गरेको स्वास्थ्य अभियानबाट निकै धेरैले राहतको महसुस गरेको बताए।

आइसोलेसन सेन्टर स्थापनामा महत्त्वपूर्ण भूमिका निर्वाह गरी रहेका महासङ्घको कार्यकारिणी समितिका सदस्य रंजितराज आचार्यले कोभिडको यो विषम परिस्थितिमा ललितपुरमा आइसोलेसन केन्द्र सञ्चालनका लागि सहयोग गरेकोमा ललितपुर उद्योग वाणिज्य सङ्घ, आरम्भ फाउन्डेसन र अक्षेश्वर महाविहार र यसका नेतृत्वलाई धन्यवाद दिए।

ललितपुर उवा सङ्घका अध्यक्ष मनोज बहादुर न्याच्छयोले यो मानवीय सहायता कार्यमा महासङ्घसँग जोडिन पाएकोमा खुसी प्रकट गर्दै सङ्घको तर्फबाट पूर्ण सहयोग र सहकार्य रहने प्रतिबद्धता जनाए।

महासङ्घले यसअघि गत वैशाख ३० गतेदेखि भगवान् महावीर जैन–निकेतन ज्ञानेश्वर र आरम्भ फाउन्डेसनको सहयोग र सहकार्यमा कमलपोखरीस्थित जैन निकेतनमा ५० बेडको आइसोलेसन सेन्टर र जेठ ३ गते देखि क्षेत्रपाटीस्थित पुरानो गोरखा अस्पतालको भवनमा काठमाडौँ महानगरपालिका वडा नम्बर १७ सँगको सहकार्यमा ५० बेडको आइसोलेसन केन्द्र सञ्चालनमा ल्याई सकेको छ।

स्मरणीय छ, महासङ्घले कोभिड–१९ को नयाँ भेरियण्टको सङ्क्रमणको महामारीबाट आक्रान्त आम सर्वसाधारणको स्वास्थ्य सुरक्षालाई उच्चतम प्राथमिकतामा राखी एफएनसीसीआई अपरेसन कोभिड रिलिफ नेपाल अभियानको थालनी गरेको र सोही अभियान अन्तरगत नै आइसोलेसन सेन्टरहरू सञ्चालनमा ल्याइएको हो।

महासङ्घले यसअघि कोभिड सङ्क्रमितहरूलाई उचित स्वास्थ्य परामर्शका लागि हेल्लो डाक्टर सञ्चालनमा ल्याई सकेको छ भने स्वास्थ्य सहायता खोज्नेका लागि कोभिड स्वास्थ्य सहायता केन्द्रले सहयोग गरिरहेको जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ