arrow

सरकार नै निर्लज्ज बने पछि जनताले दुःख पाए : काँग्रेस नेता विष्ट 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ११ मंगलबार
diwan-sing-bista.JPG

कोरोना भाइरसको बढ्दो संक्रमण र नियन्त्रणका लागि गरिएको लकडाउन यी दुवै कारणबाट मुलुक भर जनताको जीवन कष्टकर बन्दै गएका बेला पीडित समुदायलाई राहत हुने कुनै ठोस कदम सरकारले नचालिरहेका बेला जनतालाई अत्यावश्यक स्वास्थ्य सामाग्री र अक्सिजन नि:शुल्क वितरणको अभियानमा जुटेका सुदूरपश्चिम प्रदेशको कञ्चनपुरका नेपाली काँग्रेसका नेता एवं पूर्व सांसद दिवानसिंह विष्ट सँग हाम्रा संवाददाता दीपेन्द्र बस्नेतले गरेको कुराकानीको सम्पादित अंश : 

# यति बेला तपाईँ  जिल्लाका हरेक तहहरूको अनुगमनमा खट्नु भएको छ कोभिड नियन्त्रण र जनताको स्वास्थ्य अवस्थामा सरकारी पहल कस्तो महसुस गर्नु भयो ?

उत्तर : यति बेला मैले कञ्चनपुरको सीमान्त दक्षिणी क्षेत्र जुन सेवा सुविधा र पहुँचका हिसाबले पछाडि परेको क्षेत्र हो जहाँ विशेष गरी स्वास्थ्य सुविधामा जनताको पहुँच पुग्न सकेको छैन । र वर्तमान सरकारले यहाँका जनताका लागि सर्वसुलभ स्वास्थ्य सेवा समेत दिन सकेको छैन । कोभिड १९ कोरोना भाइरसबाट अति प्रभावित पुनर्वास,  बेलौरी , बेल्डाँडी र लालाझाडी यी चार वटा स्थानीय तहहरूमा जनताले सरकार भएको महसुस गर्न सकिरहेका छैनन् । 

# खासमा के के समस्या देख्नु भयो ?

उत्तर : विशेष गरी वर्तमान कोभिड संक्रमणबाट जनता थलिँदै गर्दा स्थानीय निकाय , प्रदेश र केन्द्र सरकारले कोरोना भाइरस नियन्त्रणमा जुन भूमिका निर्वाह गर्नु पर्दथ्यो त्यो गर्न सकेन । सरकारमा जनता जोगाउने इच्छा शक्ति देखिएन । यो विपद्का बेला जनताको घर दैलोमा सरकार र जनप्रतिनिधि हरुले उभिन सक्नु पर्थ्यो । तर त्यसो नगरी विपद्का बेला पनि जनप्रतिनिधि कमिसनको खेल र भ्रष्टाचारमा डुबेको छ । महाविपद्का बेला आफूले मतदान गरी जिताएका जनप्रतिनिधिहरू समेत निर्लज्जता पूर्वक बसिरहेका छन् । जनताले यति बेला सरकार र जनप्रतिनिधिको साथ खोजेका छन् तर त्यसो हुन सकेन । 

# नेता ज्यु तपाइले भन्नू भएको कोरोना भाइरस नियन्त्रणमा सरकारको इच्छा शक्ति देखिएन भन्नू भयो के के गरिन पर्थ्यो र किन यसो भएन ?

उत्तर : मैले अघि पनि केही बुँदाहरू राखे के यो कोरोना भाइरसका कारण उत्पन्न महामारी एकाएक अकस्मात् आएको हो र ? होइन नि एक वर्ष अघि देखि कोभिड १९ भाइरसको संक्रमणले महामारीको रूप लिएको हो नि । किन यति लामो समयसम्म सरकारले भाइरसका कारण उत्पन्न महामारी नियन्त्रण , रोकथाम र सहज र सुलभ उपचारको लागि नीति , योजना र कार्यक्रम ल्याउन सकेन ? यो प्रश्न जनताले गर्ने कि नगर्ने ? पोहोर साल पनि नेपालमा कोरोनाले वितण्डा मच्चाएकै हो तर पनि खोइ सरकारले जनतालाई सहज स्वास्थ्य उपचार र  नियन्त्रणमा प्रभावकारी भूमिका खेलेको समय प्रशस्त थियो सरकार सँग चाहेको भए हरेक पालिका तहमा गुणस्तरीय अस्पताल बनाउन सक्थ्यो । नभए हरेक निर्वाचन क्षेत्रमा त सकिन्थ्यो नि बनाउन तर सारकार र जनप्रतिनिधिहरूको चाहना देखिएन । कम्तीमा हरेक निर्वाचन तहमा चालू आर्थिक वर्षकै सुरुमा अक्सिजन प्लान्ट स्थापना गरेको भए आज अक्सिजनको अभावमा जनताको अकाल मृत्यु हुने थिएन । अघिल्लो वर्षको विपद्बाट सरकारले सिकाइ लिन सक्थ्यो र भाइरसको संक्रमण बाट जनतालाई जोगाउन सरकार सफल बन्न सक्थ्यो तर जनताको दुर्भाग्य सरकार र जनप्रतिनिधिहरुले यसो गर्न सकेनन् ।

# प्रश्न :  जनता विपद्मा परेको बेला सरकार र निर्वाचित जनप्रतिनिधिहरूको पहल नभएका बेला तपाइले कसरी पहल गरिरहनु भएको छ ?

उत्तर : सरकारले केही गरोस् जनताले चाहन्थे । तर सरकारले केही गर्न सकेन अब यो बेला प्रमुख प्रतिपक्षी भएका नाताले हाम्रो पनि दायित्व हो जनता विपद्मा परेका बेला हामीले केही गर्नु पर्छ र थोरै भए पनि राहत पुगाउनु पर्छ भन्ने हिसाबले आफ्नो निर्वाचन क्षेत्र र जिल्लाकै लागि बिरामीहरूलाई अक्सिजन तथा कोभिड अस्पताललाई एक्सिमिटर , पङ्खा लगायतका उपकरण र स्वास्थ्य सामाग्री उपलब्ध गराउँदै आइएको हो । अहिले अक्सिजन भन्दा पनि जनतालाई कसरी दीर्घकालीन रूपले स्वस्थ बनाउने यो नै महत्त्व पूर्ण हो । सबै जनतालाई सरकारले विलम्ब नगरी खोप लगाउने अभियान थाल्नु पर्छ । अहिले पनि दूर दराज र विकट ठाउँका जनता इन्टरनेटको सुविधाबाट वञ्चित रहेका बेला सरकारले खोपको लागि अनलाइन दर्ता सुरु गर्नु गलत हो । सरकारको  यो नीतिबाट सहज र सुगम ठाउँमा खोपको लागि नाम दर्ता गर्लान् तर दुर्गम ठाउँका जनतालाई वञ्चित पार्नेछ तसर्थ यो काम रोजेर टोल टोलमै नाम दर्ता गरी अनिवार्य खोप लगाउने व्यवस्था गर्नु पर्छ ।

प्रश्न : सहज स्वास्थ्य सेवाका हिसाबले जनताले कष्टकर जीवन बिताइरहँदा प्रतिपक्षीका हिसाबले तपाईँ र नेपाली काँग्रेसको तर्फबाट  सरकारको ध्यानाकर्षण कत्तिको पहल भए ?

उत्तर : सरकार नै निर्लज्ज बने पछि कसको के लाग्छ । नेपाली काँग्रेसले संसद होस कि अन्य अनौपचारिक रूपमा होस  बारम्बार घचघच्याइने काम भएकै छ । तर कोरोना भाइरस नियन्त्रण , सहज स्वास्थ्य सेवा लगायतका अन्य थुप्रै विकासका कामहरूका लागि सरकार चिन्तित देखिएन । तपाइहरूले पनि देखि रहनु भएको छ नि सरकारको चाला त । संविधान मिचेरै भए पनि सत्ता र कुर्सी कसरी जोगाउने भन्ने ध्याउन्नमा सरकार लागेको छ । कुर्सी मात्रै देख्ने सरकारका आँखाले जनताका पिर मर्का देख्न सकेन । महामारीका बेला सरकार नै निर्लज्ज बने पछि जनताले दुःख पाए ।



नयाँ