- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रमुख राजनीतिक दलहरुबीच विश्वासको वातावरण निर्माण गर्न जरुरी रहेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित ‘शान्ति प्रक्रिया: विगत र वर्तमान’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले शान्ति प्रक्रियाका बाँकी कामलाई पूरा गर्न र मुलुकलाई समुन्नत बनाउन विस्तृत शान्ति सम्झौताका पक्षधर दलहरू कांग्रेस, एमाले र माओवादी केन्द्रका नेतृत्वबीच विश्वासको वातावरण बनाउनुपर्ने आवश्यकता औँल्याए ।
नेता सिटौलाले प्रमुख दलहरुबीच विश्वासको सङ्कट गहिरिँदै गएको उल्लेख गर्दै त्यसले पीडितले न्याय पाउने गरी शान्ति प्रक्रियाको बाँकी काम अघि बढ्ने अवस्था नदेखिएको जिकिर पनि गरे। उनले मुलुकमा सामाजिक न्याय, शान्ति र समृद्धिका लागि विस्तृत शान्ति सम्झौताको जगमा संविधान निर्माण भएको भन्दै त्यसलाई सार्थक बनाउने कार्यमा दलहरुबीच घनिभूत छलफल हुनुपर्ने पनि स्पष्ट पारे ।
नेता सिटौलाले भने, ‘यो विस्तृत शान्ति सम्झौतालाई सम्झिँदा हिजोका ७ राजनीतिक दल, जसको मूल नेतृत्व नेपाली कांग्रेस र एमालेले गर्दछन् आजका दिनमा । अर्को माओवादी विद्रोही, उनीहरूको बिचमा अरू कुरामा गर्न सकिएन भने पनि मूलभूत रूपमा यो शान्ति प्रक्रिया र यससँग जोडिएका हरेक कुरामा, हरेक विषयमा परस्परमा विश्वास गरेर अघि गयौँ भने मलाई लाग्छ । ४ वर्ष पनि नलाग्ला । हामी २-३ वर्ष भित्र शान्ति प्रक्रियालाई पूर्णता दिनसक्छौं । तर परस्परमा विस्तृत शान्ति सम्झौतासँग जोडिएका विषयमा विश्वास निर्माण गर्न सकिएन भने फेरि पनि हामी समस्यामा पर्न सक्ने खतरा छ । त्यसैले आज विस्तृत शान्ति सम्झौतालाई सम्झेर तपाईँहरूले जुन कार्यक्रम राख्नुभयो । यो दिनमा आज म यति नै भन्न चाहन्छु-यो नेपालको राजनीतिक विकासको आधारशिला हो । यो गणतन्त्रको आधारशिला हो, लोकतन्त्रको आधार शिला हो । शान्तिको आधारशिला हो । गरिब जनताका हामी समाजवादी आर्थिक कार्यक्रम अन्तर्गत गरिब जनताको जीवनस्तर उठाउँछौँ भन्ने कमिटमेण्ट गरेको संविधान हो यो । लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रहेर समृद्ध राष्ट्र निर्माण गर्छौँ भन्ने लक्ष्य निर्धारण गरिएको संविधान हो यो । तर त्यो कार्यदिशामा, त्यो क्षेत्रमा काम गर्न बहुत धेरै बाँकी छ । यो काम गर्नका लागि राजनीतिक वृत्तमा मूल राजनीतिक वृत्तमा विश्वास स्थापना गर्नु आजको मूल आवश्यकता हो । यो कार्यदिशामा पनि कन्फिक्टी म्यानेजमेण्टको एउटा मूल तत्त्व परस्परको विश्वास हो । परस्परमा विश्वास नगरेसम्म जबरजस्ती कन्फिलिक्टको म्यानेजमेन्ट गर्न सक्नुहुन्न । द्वन्द्वको समाधान गर्न सक्नुहुन्न । पहिलो त द्वन्द्वरत पक्षहरूलाई एक ठाउँमा ल्याउनका लागि परस्परमा विश्वास जगाउन सक्नुपर्दछ । त्यसलाई तपाईँले औपचारिक रूपमा गोष्ठी, छलफल गरेर पार लगाउन सक्नुहुन्न । अनेकौँ अनौपचारिक भेटघाट, छलफलबाट तपाईँले विश्वास निर्माण गर्न सक्नुभयो भने त्यसको जगबाट द्वन्द्वलाई व्यवस्थापन गर्न सक्नुहुन्छ, समाजलाई पनि व्यवस्थापन गर्न सक्नुहुन्छ । र राष्ट्रलाई पनि समुन्नत राष्ट्रको रूपमा द्रुतगतिका साथ अघि बढाउन सक्नुहुन्छ भन्ने मेरो विश्वास हो । ’