- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
कपिलवस्तु । नेपाल प्रेस युनियन कपिलवस्तुले जिल्लाका कोभिड १९ संक्रमित पत्रकारहरूलाई घरदैलोमा स्वास्थ्य जाँच तथा परामर्श सेवा सुरु गरेको छ । जिल्लामा कार्यरत पत्रकारहरू संक्रमित भएको जानकारी आउन साथ डाक्टर तथा स्वास्थ्यकर्मी सहितको टोली पत्रकारको घरमै गएर ज्वरो परीक्षण, अक्सिजनको मात्रा परीक्षण, मुटुको धड्कन लगायतका परीक्षण गरिएको छ ।
परीक्षणको लागि जिल्ला आयुर्वेद कार्यालयका प्रमुख प्रवेश श्रीवास्तव, डा. आषिश चौधरी लगायतको स्वास्थ्य टोलीलाई घरदैलामा लगिएको छ । त्यस्तै युनियनले जिल्लाका पत्रकारहरूलाई स्वास्थ्य समस्या आउन साथ कोरोना फोकल पर्सन विनोद अधिकारीलाई तोकेर २४ सै घण्टा समस्या जानकारी गराउने संयन्त्र निर्माण गरी काम गरिएको युनियन कपिलवस्तु सभापति गोपाल भण्डारीले जानकारी दिए ।
जिल्लाका संक्रमित पत्रकार तथा उनीहरूको परिवारलाई कोरोना संक्रमित भएमा डाक्टर सहितको सेवा घरमा पुर्याउने साथै अक्सिजनको मात्रा कमी भएका सिलिन्डर लिएर सम्म घरदैलो सम्म जाने , औषधी व्यवस्था समेत युनियनले गरेको सभापति भण्डारीले बताए ।
त्यस्तै कोरोना भएको वेलामा समस्या भएका दिउसो १ देखी २ बजे सम्म परामर्शको लागि डा. अमूल्य पाठक सँग सहकार्य गरी परामर्श सेवा दिइएको छ भने बिहान ७ बजे देखी राती ९ बजे सम्म परामर्श तथा सल्लाह र मनोवैज्ञानिक जानकारीको लागि स्टाफ नर्स सिर्जना ढकाल सँग सम्पर्क गर्ने व्यवस्था मिलाइएको छ ।
डाक्टर सहित घरदैलो सेवामा जाँदा संक्रमितलाई मायाको चिनो र आत्मबल बढाउन वास किट, हाइजेनिक किट लगायतका सामाग्री समेत प्रदान गरिरहेको युनियन सचिव मणि प्रसाद गैह्रले बताए । पत्रकार तथा परिवारलाई कुनै समस्या हुनसाथ स्वास्थ्य उपचार परामर्श, एम्बुलेन्स सेवा लगायतको व्यवस्थापनमा समेत सहजीकरण गरिएको सचिव गैह्रले बताए ।
हाल सम्म दोस्रो चरणको कोरोना भाइरसको कारण संक्रमित जिल्लाका ६ जना पत्रकारलाई घरदैलो स्वास्थ्य परामर्श तथा मायाको चिनो प्रदान गरिसकेको जिल्ला सदस्य वसन्त बन्जाडेले बताए । पत्रकारहरूलाई समस्या पर्दा घरदैलोमा स्वास्थ्य जाँच तथा भेटघाट गरी आत्मबल बढाउने काम भएकोमा आफूहरू खुसी हुनुका साथै युनियनको सर्हानिय कार्य भएको पत्रकार महासङ्घ कपिलवस्तुकी उपाध्यक्ष श्वेता योगीले बताइन् ।