arrow

बुद्धको 'शील'

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १२ बुधबार
buddhaj.jpg

जन्म र मृत्यु मानिसका प्राकृतिक अवस्था हुन् । जन्मदेखि मृत्युसम्ममा मानिसले जुन प्रकारको स्थिति गुजार्दछ त्यही मानिसको जीवन हो। जीवनभरिमा मानिसले अनुभव गर्ने मुख्य कुरा सुख र दुःख नै हुन् ।

मानिस सुख चाहन्छ, दुःख चाहँदैन । मानिसले जति काम गर्छ सुख प्राप्तिको लागि हो अर्थात् दुःख नहोस् भन्नाका लागि हो। चाहँदैमा वा काम गर्दैमा भने अनुसारको कुरा प्राप्त हुँदैन । कुनै पनि कुरा चाहने मानिसको स्वभाव हो र काम गर्ने फल प्राप्ति होस भन्ने आशा हो । आशा गरे अनुसारको कुरा प्राप्त गर्नको लागि स्वभावलाई सार्नुपर्छ। 

स्वभावको पनि आफ्नै स्वभाव हुन्छ । यो स्वभाव भनेको धर्म हो। धर्म शब्दको अर्थ धारण गर्नु हो । यसले प्रयोगमा 'धर्म' शब्द स्वभाव वाची बन्यो । अनि स्वभावले प्रत्येक बस्तुको कार्य र व्यापारको नियम नियत हुने हुनाले यो नियम वाची पनि बन्यो।

'धर्म' धेरै प्रकारका हुन्छन् । त्यसमध्ये लौकिक र लोकोत्तर गरी दुई मुख्य धर्म मानिन्छ । समस्त मौलिक धर्महरूमा चित्त शीर्ष भूत छ र समस्त लोकोत्तर धर्महरूमा प्रज्ञा शीर्ष भूत छ । मन सर्व धर्महरूमा पहिले अग्रसर हुन्छ । सबै धर्महरूमा मन सर्वश्रेष्ठ छ । सर्व धर्म मनोमय छन् । संसारका दुःख एवं त्यस दुःखबाट विमुक्ति यी दुवै नै चित्तका अधीनमा छन् ।

चित्तलाई नियमले बाँध्नुपर्छ । नियम भनेको सदाचार हो। यही सदाचारलाई बुद्धले 'शील' नामकरण गरेको छ । यही शील' नै सुखको मुहान हो । मानिसको साथमा लागिरहने दुःख मानिसक अशुद्धिका कारण हुन् । अशुद्धि मानिस जन्मँदा साथमा लागेर आएको हुँदैन । मानिस जन्मँदा पवित्र भएर जन्मन्छ तर बाहिरी वातावरणले उसलाई अपवित्र बनाउँछ। मानिसमा लागेको अपवित्रता शीलद्वारा शुद्ध हुन्छ । यसले चरित्र शुद्ध गर्नुलाई पनि 'शील' नै भनिन्छ । अनि शील भनेको नैतिक गुण पनि हो।

बाहिरी वातावरण भनेको सामाजिक व्यवस्था हो। सामाजिक व्यवस्था राम्रो पार्न नैतिक नियम र विधान हुनुपर्छ भन्ने बुद्धको धारणा हो । 'शील' नै नैतिक नियम र विधान भएकोले शीलको अनुसरणबाट नै विश्व कल्याण हुनुका साथै कुरीति, अन्याय तथा अशान्तिको समूलोच्छेवन गरी न्याय र शान्तिको मार्ग पहिल्याउने नैतिक तथा व्यावहारिक मार्ग फेला परेको छ भन्ने कुरामा धेरैजसो सहमत छन् र आज यसको अनुगमनमा मानिस प्रतिदिन अग्रसर हुँदै छन् ।

बुद्धले सदाचारलाई समष्टिरूपमा अष्टशीलमा राख्नुभएको छ। अष्टशीलको व्याख्या गर्दा समस्त शीलका कुरा छलंग हुन्छ । धारण गर्न सजिलोको लागि शीललाई पचनील र अष्टशीलमा विभक्त गरिएको छ। हिंसा नगर्ने; नचोर्ने, व्यभिचार नगर्ने; झुटो नबोल्ने मादक पदार्थ सेवन नगर्ने यो पाँच शीलमा कुबेलामा भोजन  नगर्ने; नाच्ने, गाउने सङ्गीतमा मन नलगाउने, कुनै पनि  शारीरिक शृङ्गार नगर्ने यी कुरा थपेर अष्टशील बताएको छ । 

दुःखको कारण बन्ने शरीर र बोली दुवै हुन् । यी दुई कायिक र वाचिक कर्म अनर्थरूपले यताउति बहकिन नदिने वा राम्ररी आरक्षा गरिराख्ने नं 'शील' हो र काय-वाक् सुशिक्षित हुनुलाई पनि 'शील' नै भनिन्छ किनकि यसले कुशल धर्मको लागि आधार दिन्छ र शरण लिने गर्छ, तब सम्पूर्ण गुण धर्मको मूल नै 'शील' भइरहन्छ । 

'शील' कसैले लुटेर वा चोरेर लिन सकिने बस्तु होइन । 'शील' संसारको जीवनयात्रा पूर्ण नहुन्जेल को लागि बटुवाको लागि सामल झैँ हुन्छ । 'शील' जहाँसुकै पनि सधैँ सुवासयुक्त फूल के अनि सबैभन्दा मूल्य जाने सत्पुरुषहरूको साँचोको आभूषण कै नै हो। 'शील' कसैको उपासना र कृपाद्वारा पाइने बस्तु होइन । शीलको पालन आफै आत्म गौरवले स्वेच्छाले गर्नुपर्छ, कसैको भनेको कारणले होइन । शील भावनाको प्रयोजन प्रात्मभाव रक्षा हो जसबाट परकल्याणमा समर्थक हुन सकोस् ।

 'शील' आरक्षित भएमा निन्दा, अनादर अथवा दुर्गतिको कारण बन्दछ । शीलको पालनमा बुद्धले ठुलो जोड गरेको छ । 'शील' पालन बौद्ध दृष्टिकोणमा मानिसको लागि नैतिक कर्तव्य हो । शीलका तीन पारमिता छन् - मनोरञ्जनका लागि वा बल प्रदर्शन गर्न वा रिस र मोहमा हिंसा नगरी शील नछोडेको र भव भोग, यश सम्मान आदि प्राप्त गर्न र छोराछोरी स्वास्नी पर्यन्तको कारणमा पनि शील नछोड्नेलाई पारमिता-शील भनिन्छ । 

आफ्नो शरीरको अङ्गप्रत्यङ्ग आरक्षाको लागि पनि शील नछोड्नेलाई उपपारमिता-शील भनिन्छ । प्राणै जानेहुँदा पनि विचलित नै पालन गरिनेलाई परमत्थ-शील भनिन्छ । सुख-दुःखको कारणमा नै बुद्धले मानिसमा धर्म देशना गर्नुभएको हो । बुद्धको दृष्टिमा प्राणी मात्र समान छन्, मानिस बिचका वर्ण जातिका त कुरै छैन । बुद्धले प्रत्येकलाई आत्मविश्वासको शिक्षा दिनुहुन्थ्यो र स्वयं सत्यको साक्षात्कार गर्ने उपदेश पनि दिनुहुन्थ्यो। बुद्धको धर्म देशना मुख्यतया घरबार छोडेर संसारबाट निवृत्तिको लागि तत्पर भिक्षुहरूको लागि थियो, किन्तु अधिकांश मानिस सहसा यस्तो त्यागको लागि सुश्रद्धा थिएनन् ।

अतएव बुद्धले उनीहरूलाई उपासकको रूपमा ग्रहण गर्नुभयो र उनीहरूका लागि धर्मको गृहस्योपयोगी संस्करण प्रचार गर्नुभयो जसमा नैष्कर्म्यको ठाउँमा संयम, सन्तोष एवं शुभ कर्महरूमा जोड दिइएको छ । यस मार्गको अनुसरणले प्रत्यक्ष जीवनमा सुख र सौभाग्य एवं औध्वंदहिक जीवनमा सद्गतिको लाभ हुन्छ ।

'शील' शब्दको विषय होइन, बरु कर्तव्य पालनको विषय हो । रोगीको सेवक हुने, सुभाषित वचन बोल्ने, आफ्नो गुण प्रकाश नगर्ने र अर्काको गुणमा ईया नगर्ने- शीलकै काम हुन् । स्वार्थी धूर्तहरूले तुच्छ स्वार्थपूर्ति आफ्नो र आश्रको जीवन ध्वस्त पार्ने दाउ रचेको बेलामा बुद्धले संसारका प्राणीहरूको कल्याण सोची आफ्नो धारणा सबैको अगाडि प्रस्तुत गर्नुभएको हो। 'शील' त्यसैको उपज हो।

मन र चित्त समाहित गरी 'शील' पालन गर्नु नै मानव मात्रको लागि कल्याण हुने धर्म हो । यसले शीलद्वारा नयाँ युग प्रवर्तन गर्नु आजको ठुलो आवश्यकता हो। उन्नतिको अघिल्लो सोपान मनुष्यको शरीरमा होइन, अपितु उसको आत्मामा हुनेछ; उसको मन र चित्तमा अपेक्षाकृत अधिक सहृदयता र चेतनाको वृद्धिको रूपमा,चरित्रको एक नयाँ सङ्गठनको विकासको रूपमा, जुन कि नयाँ युगको लागि उपयुक्त होस् । अतः 'शील' दुःसाध्यको रूपमा नभै सुसाध्यको रूपमा हुनु नितान्त आवश्यक छ ।आनन्द भूमिबाट

(यो लेख ३९ बर्ष अघि २५२६ औँ बुद्ध जयन्तीको साप्ताहिक रेडियो कार्यक्रम अन्तर्गत रेडियोबाट प्रसार भएको थियो ।)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ