arrow

न्यूयोर्क राज्यले मे २९ मा सगरमाथा दिवस मनाउने 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १६ आइतबार
mount-everest-home.jpg.jpeg

न्यूयोर्क । अमेरिकाको न्यूयोर्क राज्यले मे २९ तारिखमा सगरमाथा दिवस मनाउने निर्णय गरेको छ । विश्वको सर्वोच्च शिखर सगरमाथामाथि पहिलो पटक मानव पाइला टेकेको ऐतिहासिक दिनको स्मरणमा अन्तर्राष्ट्रिय सगरमाथा दिवसको रुपमा मनाइने निर्णय भएको घोषणा न्यूयोर्क राज्य विधान सभा सदस्य जेनिफर राजकुमारले बताए । 

यूएस नेपाल क्लाईम्बर्स एसोसिएशन र युनाइटेड शेर्पा एसोसिएशनद्वारा संयुक्त रुपमा आयोजित विश्व सगरमाथा दिवसको उपलक्ष्यमा प्रमुख अतिथिको आसनबाट बोल्दै विधान सभा सदस्य राजकुमारले अर्को सालको विश्व सगरमाथा दिवस न्यूयोर्कको राजधानी आल्बनीको एसेम्ब्ली हलमा मनाउनका लागि निमन्त्रणा पठाइने जानकारीसमेत दिए । 
  
कोभिड–१९ का कारण ठूल्ठूला जमघट गर्न नमिल्ने भएको र मातृभूमि नेपालमा हजारौं दाजुभाइ दिदीबहिनीहरुले ज्यान गुमाइरहेको अवस्थामा बढी तामझाम् गर्नु उपयुक्त नहुने भएकोले गत साल र यस सालको सगरमाथा दिवस ज्यादै सीमित अतिथिहरुको उपस्थितिमा भएको थियो । 

कार्यक्रमको शुरुमा दीप प्रज्ज्वलन गरी हिम आरोहणका क्रममा दिवंगत हुने आरोहीहरु र कोभिड–१९ कारण ज्यान गुमाउन परेका सबैको चिर शान्तिको लामा गुरुहरुबाट पूजा प्रार्थना गरिएको थियो । 

कार्यक्रममा बोल्दै गिरिजाप्रसाद कोइराला फाउन्डेशन अमेरिका च्याप्टर अध्यक्ष सोमनाथ घिमिरेले मे २९ को दिनलाई सगरमाथा दिवसको रुपमा मनाइने गरी न्यूयोर्क स्टेट् एसेम्ब्लीको निर्णय प्रति आभार प्रकट गर्दै यो दिवसको अस्तित्व मेटाउने गरी अन्य कुनै दिवस ल्याउन नहुने कुरा बताए । 

रोटरी क्लबका सहायक गभर्नर नवराज केसीले सगरमाथा दिवस हामी सबैको गौरब भएको हुनाले यस दिवसको पहिचान जोगाउन हामी सबै जागरुक हुनु पर्ने बताए । 

कार्यक्रममा न्यूयोर्क काउन्सिल डिस्ट्रिक्टका पूर्व चीफ् स्टाफ क्यारोलिन् ट्र्यान, शेर्पा किदुगका पूर्व अध्यक्ष तथा आदिवासी जनजाति महासंघ अमेरिकाका संस्थापक अध्यक्ष कर्मा ग्याल्जेन शेर्पा, किदुगका पूर्व अध्यक्ष तथा क्विन्स कम्युनिटी बोर्ड सदस्य उर्गेन शेर्पा, यूएस नेपाल क्लाइम्बर्स एसोसिएशनका संस्थापक अध्यक्ष किपा शेर्पा र शेर्पा संघ अमेरिकाका अध्यक्ष आङ जाङ्बु शेर्पाले आ–आफ्नो मन्तव्य राखेका थिए । 

शेर्पा किदुगका अध्यक्ष छिरिङ् शेर्पाले ‘मे २९ भनेको नेपाल डे पनि होइन नेपाल परेड डे पनि होइन यो दिन सगरमाथा दिवसको रुपमा स्थापित भैसकेको छ’ भने । यूएस नेपाल क्लाईम्बर्स एसोसिएशनका अध्यक्ष पासाङ् निमा शेर्पाले न्यूयोर्क राज्यले मे २९ लाई सगरमाथा दिवसको रुपमा  मनाउने निर्णयको स्वागत गर्दै न्यूयोर्क राज्य सरकार र यू एस नेपाल क्लाईम्बर्स एसोसिएशनलाई विभिन्न क्षेत्रबाट सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।  

प्रमुख अतिथि एसेम्ब्ली मेम्बर जेनिफर राजकुमारले क्लाईम्बर्स अध्यक्ष पासाङ् निमा शेर्पालाई राज्य सरकारबाट सगरमाथा दिवसको नाममा दिएको रेजिलुशन प्रमाणपत्र, यूएस नेपाल क्लाईम्बर्स एसोसिएशनलाई साइटेशन र अध्यक्ष पासाङ् ङिमा स्वयंलाई पनि प्रशंसा स्वरुप ब्यक्तिगत साइटेशन गरी तीनवटा प्रमाणपत्र एकै पटक हस्तान्तरण गरे । 

सगरमाथा दिवस कार्यक्रममा करिब ४० जना सगरमाथा आरोहीका साथै सगरमाथा आरोहणमा विभिन्न कीर्तिमान कायम गर्ने आरोहीहरुको सहभागिता रहेको थियो  र यस कार्यक्रमका संचालन संस्थाका महासचिव मिङ्मार लामाले गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ