arrow

अस्तायो निःशब्द बनाएर उज्वल भविश्य..

उज्वल थापालाई वैकल्पिक र आदर्श राजनीतिको अभियन्ताको रुपमा स्मरण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १८ मंगलबार
ujwal-thapa-memory.jpg

काठमाडौं । विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष एवम विवेकशील साझा पार्टीका संस्थापक संयोजक उज्वल थापाको निधनपछि उनले नेपाली समाजमा खेलेको भूमिकाबारे प्रशंसा भएको छ । थापाको मंगलबार अपरान्ह ४ः२५ बजे नेपाल मेडिसिटी अस्पतालमा निधन भएको हो ।

कोरोना संक्रमणले थलिएका उनको अत्याधुनिक एक्मो प्रविधिको सहायतामा उपचार भइरहेको थियो । तर फोक्सोमा दीर्घकालिन असर भइसकेकाले उनलाई बचाउन चिकित्सकहरु असफल भएका थिए ।

उनको निधनपछि नेपाली राजनीतिका शीर्ष नेता, कलाकार, बुद्धीजिवी, पत्रकारलगायतले उनले वैकल्पिक र आदर्श राजनीतिको शुरुवात गर्ने अभियन्ता भनेर स्मरण गरेका छन् ।  ‘नेपाली भन्ने कि बन्ने’ र ‘नेपाल खुल्ला छ’ जस्ता नागरिक जागरण र बैकल्पिक राजनीतिको अभियान थालेका उज्वलप्रति सयौं शुभेच्छुकहरुले समवेदना प्रकट गरिरहेका छन् ।

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डेले नेपालमा वैकल्पिक राजनीति स्थापित गर्न उल्लेख्य भूमिका खेलेका थापाको निधनले राष्ट्रिय राजनीतिमा अपूरणीय क्षति पुगेको उल्लेख गरेका छन् ।

खासगरी शान्तिपूर्ण र रचनात्मक प्रदर्शनका माध्यमबाट राजनीतिक, सामाजिक, आर्थिक, जनस्वास्थ्य सरोकार लगायतका मुद्दामा दलहरूले नागरिकको समर्थन हासिल गर्ने र सुधारात्मक कदमको लागि राज्यलाई दबाब दिने विधि स्थापित गर्न उज्वलको अहम् भूमिका भएको जनाएका छन् ।

थापाले अंगालेको सुसंस्कार, अहिंसा र निष्ठाको मार्गलाई विवेकशील साझा पार्टी अविचलित र प्रतिबद्ध भएर अवलम्बन गर्दै अगाडी बढ्ने पनि उनीहरुले प्रतिवद्धता जनाएका छन् । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले विवेकशील नेपाली दलका संस्थापक एवं अभियन्ता उज्ज्वल थापाको निधनको खबरले निकै दुःखी भएको बताएका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि समवेदन ब्यक्त गरेका छन् । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेपालमा वैकल्पिक राजनीतिक अभियानका अगुवा तथा असल मानव भनेर उज्वलको व्याख्या गरेका छन् ।

डा.भट्टराईले श्रद्धाञ्जली ब्यक्त गर्दै थापाको असामयिक निधनले देशलाई अपूरणीय क्षति भएको र उनको निधनपश्चात पनि वैकल्पिक राजनीतिको औचित्य अरू बढेर जाने उल्लेख गरेका छन् ।

कांग्रेस नेता डा.मिनेन्द्र रिजालले थापाको निधनप्रति श्रद्धाञ्जली ब्यक्त गर्दै लेखेका छन्, ‘नेता उज्वल थापाले धेरैको मन जित्नु भएको थियो, आशा जगाउनु भएको थियो, आत्मविश्वास बढाउनु भएको थियो। अब उहाँ हामीबीच रहनु भएन। देशले नै, विशेषतः युवाले उहाँको योगदान पछिसम्म सम्झिरहनेछ। दिवङ्गत श्री थापाप्रति हार्दिक श्रद्धाञ्जली। एरिकाजी लगायत सम्पूर्ण परिवारजनमा गहिरो सम्वेदना।’

कांग्रेसका नेता गगन थापाले ‘एक असल मान्छे र प्रिय मित्रको निधनले अत्यन्त मर्माहत छु’ भनेका छन् । उनले नेपाली राजनीति र समाजलाई रूपान्तरण गर्न मनैदेखि लागिरहेको एउटा अथक अभियन्ताको अभाव सधैं खड्किरहनेछ भन्दै समवेदना ब्यक्त गरेका छन् ।

कांग्रेसकै अर्का नेता डा.शेखर कोइरालाले थापाले युवा माझ बनाएको सकारात्मक छवि र व्यक्तित्व हाम्रासामु अनुकरणीय रहनेछ भनेर स्मरण गरेका छन् । डा.कोइरालाले थापाको निधनप्रति श्रद्धाञ्जली ब्यक्त गर्दै देशका लागी अझै आवश्यक्ता भएका ब्यक्ति भनेर पनि ब्यक्त गरेका छन् ।

नेपाल सरकारका पूर्वसचिब रामेश्वर खनालले उज्वललाई राजनीतिमा विवेकको प्रयोग गर्नपर्छ भन्ने विचारको प्रणेता र व्यवहारमा पालना गरेका नेता भनेर स्मरण गरेका छन् । समवेदना प्रकट गर्दै खनालले लेखेका छन्, ‘थापाले शुरू गरेको पार्टी ठुलो नहोला, कुनै सडक वा सार्वजनिक पुर्वाधारको नामाकरण उनको नामबाट नहोला, तर राजनीतिमा विवेकको प्रयोग गर्न पर्छ भन्ने विचारको प्रणेता र व्यवहारमा पालना गरेका नेता हुन उनी। हार्दिक श्रद्धाञ्जली ।’

राप्रपाका अध्यक्ष कमल थापाले नेपाली राजनीतिको एक उज्वल नक्षत्र तथा आशाको धरोहर भनेर स्मरण गरेका छन् । गायक प्रमोद खरेलले ‘निशब्द बनाएर ।अस्तायो उज्वल भविष्य’ भनेका छन् ।

एमाले नेतृ रामकुमारी झाँक्रीले नेपाली राजनितीमा एउटा फरक आयाम भित्राउन कोसिस गर्ने, स्वपनाजीवी युवा र लाखौ युवाको आईकन हो’ भनेकी छन् । अग्रज पत्रकार विजयकुमार पाण्डेले ‘राजनीतिमा जसरी पनि सत्ता र सामान्य व्यवहारमा जसरी पनि पैसा बाहेक सबथोक फजुल हो’ भन्ने बिषालु झार सर्वत्र फेलिरहेको बेला, उज्वलदाई जनताले दिएको स्नेहले नयाँ मान्यता स्थापित गर्न खोजेको’ भनेर ब्याख्या गरेका छन् ।

व्यवसायिक साझेदारी समेत गरेका मनिष झा ले उज्वललाई अरू दलहरूले देश ठप्प पार्दा, ‘नेपाल खुल्ला छ’, ‘नेपाल हाम्रो घर हो डेरा हैंन’ ‘बिकल्प भन्ने हैन, बन्ने हो’ भन्दै युवाहरूलाई राजनीतिमा जोड्ने साथै एकतर्फी बोल्ने हैन, अरूको कुरा सुन्ने ब्यक्तीका रुपमा औंल्याएका छन् ।

योजना आयोगका पूर्वउपाध्याक्ष डा.गोविन्द पोखरेलले परम्परागत राजनीतिलाई सुधार्नुपर्छ भन्दै अहिंसात्मक आन्दोलनका रुपमा बैकल्पिक राजनीतिलाई भुईमान्छे बीच पुर्याउने अभियन्ताका रुपमा बुझेका छन् ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ