arrow

क्रसर व्यवसायीको दबाबमा ‘चुरे विनाश’को बाटो रोज्यो सरकारले

‘सरकारले यस्ता नीति लिनु चोरी, पैठारीलाई प्रोत्साहन गर्नुका साथै यो नीतिगत भ्रष्टाचार हो'

logo
चन्द्र धामी,
प्रकाशित २०७८ जेठ १९ बुधबार
chure-news-aaa.jpeg
फाइल तस्विर।

काठमाडौं । व्यापार घाटा न्यूनीकरण गर्ने बहानामा खानीजन्य ढुङ्गा, गिट्टी र बालुवाको निकासी फुकुवा गर्ने सरकारी घोषणाले प्रकृति संरक्षण तथा वातावरण संरक्षणका क्षेत्रमा गम्भीर प्रश्न उब्जाएको छ ।गएको शनिवार बजेट सार्वजनिक गर्दा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले तीन वटा बुँदामा वातावरण संरक्षणको बजेट कार्यक्रम सुनाए भने एउटा बुँदालाई त्यसको ठिक विपरीत उभ्याए । त्यो थियो, बुँदा नम्बर १ सय ९९ ।

यो बुँदालाई लिएर अहिले प्रकृति र वातावरणका क्षेत्रमा काम गर्ने सरोकारवाला आन्दोलित छन् । कोरोना महामारीका कारण सडकमा जुलुस नभए पनि आ–आफ्नो क्षेत्र र तहबाट सबैले विरोध गरेका छन् । बजेटमा राखिएको यो बुँदालाई लिएर चुरेको अझ बढी चिन्ता गरिएको छ । अर्थ मन्त्रालयका अधिकारीहरू त्यो बुँदा चुरे लक्षित होइन भन्छन्। तर, अस्पष्ट ढङ्गले राखिएको बुँदामा खराब नियत हुनसक्ने शङ्का विज्ञहरूले गरेका छन् ।

ढुङ्गा, गिट्टी र बालुवाको निकासी गरेर व्यापार घाटा कम गर्ने सरकारको योजनालाई लिएर कतिपय अर्थ एवं योजना विज्ञहरू खुब हाँसे । उनीहरूले सरकारको यस्तो मानसिकतालाई देखेर असाध्य हाँसो उठेको प्रतिक्रिया दिए । पूर्व अर्थ सचिव रामेश्वर खनालले भने, ‘यो हाँसो उठ्दो कुरा हो । प्राकृतिक सम्पदा मासेर व्यापार घाटा कम गर्छु भन्नु हास्यास्पद नभई के हुन सक्छ ? बालुवा, गिट्टी, ढुङ्गा निकासी गर्दा त्यहाँबाट निस्किने ३० प्रतिशत ठोस वस्तु मात्रै निकासी पैठारी हुने हो । बाँकीको ७० प्रतिशतको थुप्रो कहाँ राख्ने ? त्यो बगेर तराई मधेस भरिने हो । यो भोलि ठुलो समस्या बन्छ । खानीजन्य वस्तुलाई व्यवस्थित गर्न सकिएन भने प्राकृतिक विनाश हुन्छ । अहिले २ रुपैयाँ कमाउने लोभले भोलि ठुलो विनाश हुनसक्छ । सोचेर, विचार गरेर यस्ता विषयमा निर्णय लिनुपर्छ ।’

सरकारको यो घोषणाले चुरेभावर क्षेत्र व्यापक दोहन हुनसक्ने चिन्ता खनालले गरे । डा. रामवरण यादव राष्ट्रपति हुँदा खनाल राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिको अध्यक्ष थिए । उनको पालामा चुरे संरक्षणका क्षेत्रमा थुप्रै काम भएका छन् । बजेटमा सरकारले चुरे वा शिवालिक पर्वत भन्ने शब्द उल्लेख गरेको छैन । तर, खानीजन्य पदार्थको निकासीले सबैभन्दा ठुलो प्रभाव चुरे क्षेत्रमा पर्ने गरेको कुरा विगतका अध्ययनले देखाएका छन् ।

बजेटको बुँदा नम्बर १ सय ५२, १ सय ५९ र १ सय ६२ मा चुरे र त्यहाँको वन संरक्षणका लागि बजेट विनियोजन गरेको छ, सरकारले । तर, बुँदा नम्बर १ सय ९९ ले सरकारको संरक्षण योजनाकै घाँटी निमोठ्ने आशय बोकेको छ । बजेटमा गरिएको यस्तो घोषणालाई लिएर चुरे संरक्षणका अभियन्ता र पर्यावरणका अभियन्ताहरू चिन्तित छन् । उनीहरूले बजेटमा राखिएको यो कार्यक्रम तत्काल फिर्ता लिन भनेका छन् ।

संरक्षण थोरै विनाश धेरै

चुरे क्षेत्रको संरक्षणका लागि २०७१ असार २ मा महत्त्वपूर्ण निर्णय लियो सरकारले । वातावरण ऐन २०५३ को दफा १० (१) अनुसार चुरे क्षेत्रलाई वातावरण संरक्षणका हिसाबले संवेदनशील क्षेत्र घोषणा गरेर गुरुयोजना बनाउने निर्णय भएको थियो, २०७१ असार २ मा ।

चुरे संरक्षण भनेर २०७१ अघि पनि वन मन्त्रालयले झण्डै पाँच वर्ष खर्च गर्‍यो । त्यसको खास उपलब्धि थिएन । २०७१ साउनदेखि राष्ट्रपति चुरे संरक्षण कार्यक्रम विधिवतरुपमा सुरु भयो । जस अन्तर्गत गल्छी रोकथाम, खहरे, पहिरो रोकथाम, पोखरी निर्माण, वन विकास, वृक्षारोपण र सामुदायिक विकासका कार्यक्रम अहिले पनि जारी छन् ।

चुरे संरक्षणका लागि सरकारले ०७१–७२ देखि ०७६–७७ सम्म ९ अर्ब २१ करोड खर्चिएको छ । चालु आर्थिक वर्षमा सरकारले १ अर्ब ५५ करोड बजेट विनियोजन गरेकोमा खर्चको विवरण आएको छैन । आगामी आर्थिक वर्षका लागि १ अर्ब ५३ करोड रकम छुट्टाएकामा विनाश गर्ने गरी खानीजन्य वस्तुको निकासी फुकुवाको घोषणा गरिदियो ।

राष्ट्रपति चुरे–तराई मधेस संरक्षण कार्यक्रम जनकपुर इकाई प्रमुख विश पोखरेलले चुरेको जुन हिसाबले विनाश भएको छ, त्यो आधारमा संरक्षणका कार्यक्रम हुन नसकेको बताए । उनले भने, ‘चुरेमा १६४ वटा नदी प्रणाली छन् । २०७१ देखि अहिलेसम्म ४५ वटा नदी प्रणालीलाई मात्र छुन सकिएको छ । चुरे संरक्षणका लागि बजेट न्यून हो । जम्मा ४–५ प्रतिशतले के हुन्छ । यो त सबै क्षेत्रलाई समेटेकै छौँ भनेर छर्ने काम मात्रै भएको छ । एउटा अभियानै नचलाउँदा सम्म चुरे संरक्षणमा गरिएको काम देखिनेवाला छैन ।’

युद्ध स्तरमा खटिएका एक जना आयोजना प्रमुखले यसो भनिरहँदा सरकार उल्टै चुरे विनाशकलाई पोस्ने कार्यक्रम अघि सार्छ । २०३० सालमा पथलैयादेखि पूर्व पश्चिम राजमार्ग खुल्यो । त्यो संगै चुरेभावर क्षेत्रको दोहन बढ्यो । पूर्वपश्चिम राजमार्ग खुलेपछि चुरे क्षेत्रमा मानिसहरूको चहलपहल बढ्यो र मेसिनहरू भित्रिए ।

चुरे संरक्षणका अभियन्ता नागदेव यादव भन्छन्, ‘बाटो विस्तारसँगै चुरे क्षेत्रमा मेसिनहरू भित्रिए । र, दोहन बढ्यो । सरकारको कानुन थियो, अहिले पनि छ । त्यसको कुनै प्रभाव छैन । २०७१ देखि व्यावसायिक निकासी पैठारी रोकियो र चुरेका संरक्षणका काम अघि बढे । आशा जागेको थियो कि पानी र अन्नको भण्डार चुरे जोगिने भयो भनेर चर, अहिले सरकारको घोषणाले त्यसलाई शून्यतर्फ लैजाने भयो ।’

अभियन्ता यादवका अनुसार अहिले पनि चुरे क्षेत्रको दोहन रोकिएको छैन, चोरी निकासी भइरहेकै छ । सरकारको घोषणाले त्यसलाई झन् शतप्रतिशत बल पुगेको उनको भनाई छ । उनी भन्छन्, ‘सरकारले यस्ता नीति लिनु चोरी, पैठारीलाई प्रोत्साहन गर्नु हो । अर्को अर्थमा भन्ने हो भने यो नीतिगत भ्रष्टाचार हो ।’

राष्ट्रपतिले एक पल्ट सोधिनन्

आफु राष्ट्रपति हुँदा डा. रामवरण यादवले चुरेको संरक्षणमा अग्रसरता लिएका हुन् । उनकै पहलमा आएको हो राष्ट्रपति चुरे संरक्षण कार्यक्रम । त्यो बेला उनी आफैँ चुरेको भ्रमणमा निस्किन्थे । विज्ञहरूसँग नियमित छलफल गर्थे । विज्ञहरूले पनि राय लिन्थे ।

तर, अहिले राष्ट्रपति विद्यादेवी भण्डारीले विज्ञलाई एक पल्ट पनि सोध्न आवश्यक ठानिनन् । चुरेमै विद्यावारिधि गर्ने एक मात्रै विज्ञ हुन्, डा. विजयकुमार सिंह । उनले चुरेको दोहनले मधेस मरुभूमि हुन्छ भन्ने तथ्यमै विद्यावारिधि गरेका हुन् । डा. विजयलाई वर्तमान राष्ट्रपतिले एक पल्ट पनि छलफल गर्न आवश्यक ठानिन् । डा. यादव राष्ट्रपति हुँदा डा. विजय विज्ञ सदस्य थिए, राष्ट्रपति चुरे–तराई मधेस संरक्षण समितिको । उनीसहित चुरेका जानकार र अभियन्ताहरूसँग डा. यादव नियमित जसो छलफल गर्थे । अहिले त्यस्तो छैन । राष्ट्रपति चुरेको प्रमुख संरक्षक हो । तर, यहाँ भेद छ । आफ्नो पक्षकालाई मात्रै बोलाउने र कुरा गर्ने । खास विज्ञलाई एक पल्ट पनि सोधेको देखिएन ।

मन्त्रीलाई क्रसर व्यवसायीले घेरेपछि

अहिले वन तथा वातावरण मन्त्री हुन् प्रेमबहादुर आले । उनी आफैँ वन मुद्दा खेपेका व्यक्ति हुन् । वन क्षेत्रमा हुने पूर्वाधार विकास एवं उत्खनन उनको विभागीय मन्त्रालयसँग जोडिन्छ । वन तथा वातावरण मन्त्रालयका अनुसार क्रसर व्यवसायीले वन क्षेत्र समेत पर्ने ३० वटा स्थानमा खानी सञ्चालनका लागि सरकारलाई पहिल्यैदेखि दबाब दिँदै आएका छन् ।

वन मन्त्रालयमा रोकिएका फाइल अघि बढाउन मन्त्री आलेले मन्त्रालय सम्हालेदेखि दबाब दिन थालेको बताइन्छ । कर्मचारीले मन्त्रीको खप्की सहेर कतिपय फाइल अघि बढाएनन् । कति फर्काइदिए । कति फाइल खानी तथा भू–गर्भ विभागमै थन्किएका छन् । ती थन्किएका फाइल अघि बढाउन बल पुग्ने गरी मन्त्रीले बजेटमा व्यवस्था गर्न दबाब दिए । क्रसर व्यवसायीको दबाबमा ‘चुरे विनाश’को बाटो रोजेको भनेर अहिले सरकारको आलोचना भइरहेको छ।



नयाँ