arrow

सोह्र वर्षे फोटोग्राफरको दुर्लभ रेड पाण्डाको तस्बिर कथा

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १६ शनिबार
redpanda-2080-08-16-(10).jpg

काठमाडौैँ । १६ वर्षीय दिपतान्शु श्रेष्ठ आफ्नो वाइल्ड लाइफ फोटोग्राफी गर्ने बुबा दशरथ श्रेष्ठको पद पछ्याउँदै गत वर्षदेखि फोटोग्राफीमा आफ्नो रुची बढाउँदै चराहरुको तस्बिर लिन शुरु गरेका थिए । 

गत दशैँ बिदाको समय सदुपयोग गर्दै बुबा र बुबाका साथीहरुसँग इलाम जिल्लाको जमुना जंगलमा रेड पाण्डा, हाब्रेको तस्बिर लिन पुगेका थिए दिपतान्शु । करिब एक हप्ता बसाईमा उक्त क्षेत्रमा पाण्डा नभेटे पनि केही नयाँ चराहरुको तस्बिर लिन सफल दिपतान्शुले धेरै नयाँ कुुरा सिकेका छन् । 

बुुबा र अगस्ट रस सिंह लामा दाइले  गत वर्ष पनि इलामको उक्त क्षेत्रमा पाँच दिनको बसाइमा अन्तिम दिनमात्र रेड पाण्डा भेटेका थिए । तर खराब मौसम र पानी परिरहेको समयमा लिएको तस्बिर राम्रो नभएको कारणले नै पुनः इलाममा जाने निधो गरेका रहेछन् । 

वाइल्ड लाइफ फोटोग्राफी कै लागि भनेर क्यामेरा बोकेर काठमाडौँ उपत्यका बाहिर बुुबासँग दिपतान्शुको यात्रा पहिलो थियो । इलाम यात्रा लगत्तै पाण्डाको लागि हेलम्बुको यात्रा गर्ने भनेर अगष्ट रस सिंह लामा, अमरराज लिम्बू दाइहरुसँग सल्लाह गरेपछि तिहार र छठसम्म दिपतान्शुको बिदा भएकोले उनी पनि सँगसँगै गए । 

दिपतान्शुको यात्रा कथा

भाइटीकाको दिन टीका लगाएर काठमाडौँबाट करिब २ बजे सिन्धुपाल्चोक जिल्ला हेलम्बु –७ मा रहेको माङ्ग्जिङ्गगोठतिर लागियो । अपरान्ह ४ः३० बजेतिर कुटुमसाङ्गमा रहेको लाङ्टाङ्ग राष्ट्रिय निकुन्जको प्रवेशद्वारमा बाइक राखी आफ्नो गन्तव्यतर्फ लागियो । 

करिब ३ घण्टा ४० मिनटको कठिन उकालो पश्चात् ३२५० मिटरमा माङ्गजिम गोठमा रहेको ग्रिन भ्यु लज पुगियो । त्यही नै स्थायी क्याम्प रहेको थियो । उक्त क्षेत्र हेलम्बु पदमार्गले परिचित छ ।

साथै काठमाडौँबाट चिसापानी, हैबुंग, कुटुमसाङ्ग, माङ्ग्जिङ्ग गोठ हुँदै गोसाइकुण्ड पुग्ने मुख्य मार्गको रुपले पनि परिचित रहेको छ । पहिलो रात बाबा (दशरथ श्रेष्ठ ) अगष्ट रस सिंह लामा, अमरराज लिम्बू दाइहरु रेड पाण्डाको वासस्थानको बारे स्थानीय एवं होटल संचालक कालु लामासँग छलफल गरेर म्यापिङ गर्दै गर्दा दिपतान्शु भने ताराहरुको तस्बिर लिन चिसोमा बाहिर निस्किए । 

होटलमा केही विदेशीहरु पनि थिए । कोही गोसाईकुण्डबाट फर्केका थिए भने केहि गोसाइकुण्ड हुँदै लाङ्ग्टाङ्ग सम्मको यात्रा लागि आएका थिए ।

दोश्रो दिन राष्ट्रिय चरा डाँफेका लागि ३५०० मिटरमा रहेको भ्यु पोइण्ट तर्फ लाग्यौं जहाँबाट सगरमाथाको एक भाग देख्न सकिन्छ भनेर होटलका संचालक कालु लामाले जानकारी दिएका थिए । थुप्रै चराहरु भ्यु पोइण्टमा देखिए । डाँफे चैँ भेटे तर निक्कै पर उडेपछि मात्र थाहा भयो । 

चौथो  दिन बिहानै सबै जना उठेर गोठ तल्लो भेकतिर लाग्दै गर्दा त्यति  नै बेला गोठको साहुलाई बाटोमै भेट भयो र उनको कुरा सुन्दा रेड पाण्डा भेटिन्छ कि भन्ने मनमा आस पलायो । उनको पछिपछि लाग्दै जंगलभित्र तिर लागियो । 

पर भिर देखिएको ठाउँसम्म पुग्ने भन्दै हिँड्दै गर्दा गोठको साहुले अमर राज लिम्बूलाई रेड पाण्डाले खाने खुराक भन्दै निङ्गालोको बोट देखाउँंदै थिए । 

त्यति नै बेला अगष्ट रस सिंह लामाले रेड पाण्डा रुखमा नै छ जस्तो भन्दै ४–५ सट क्लिक गरेपछि पाण्डा यहीँ छ भन्दै उत्साही बनाए । 

चिडियाखाना र टीभीमा मात्र देखेको रेड पाण्डा उसैको वासस्थानमा हेर्न पाउनु र तस्बिर लिन पाउनु उनका लागि अहोभाग्य । जब उनले रुखको बीचमा पाण्डाको अनुहार देखे तब धेरै खुशी भए । 

डिस्टर्ब नगरी यसको क्रियाकलाप हेर्नुपर्छ भन्दै करिब २ घण्टा उक्त रेड पाण्डालाई हल्ला नगरी हेरिराखे । 

उसले गर्ने क्रियाकलापलाई नियाल्दै बसे । रेड पाण्डा लजालु स्वभावको जनावर हो । रेड पाण्डा कसैको मतलब नै नगरी आनन्दले रुखमा सुतिरह्यो । 

विश्वको दुर्लभ जनावर रेड पाण्डाको करिब १५०० तस्बिर उनले खिचेका छन् । वाइल्ड लाइफ फोटोग्राफीको यात्रामा रेड पाण्डाको तस्बिर लिन पाउनुलाई उनले भाग्यमानी ठान्छन् । 

तस्बिर लिने मात्र हैन भविष्यमा प्रकृति संरक्षण र दुर्लभ वन्य जन्तु संरक्षण र वाइल्ड लाइफ फोटोग्राफीको तर्फबाट केही योगदान दिन उनी तयार छन् । 

एसईई पश्चात केही समय फोटोग्राफीमा समय दिएका १६ वर्षीय दिपतान्शु रिलायन्स इन्टरनेशनलमा कक्षा ११ मा अध्यनरत छन् । 

आफ्नो बिदा र खाली समयमा बुबा दशरथ श्रेष्ठसँग काठमाडौँ उपत्यकाका गोदावरी, फूलचोकी, टौदह, शिवपुरीलगायत क्षेत्रमा वाइल्ड लाइफ फोटोग्राफीको लागि जाने गर्दछन् दिपतान्शु श्रेष्ठ । बुबाको फोटोग्राफीबाट प्रभावित भएर नै फोटोग्राफीमा लागेको दिपतान्शु बताउँछन् । (नेपाल फोटो लाइब्रेरी)

redpanda-2080-08-16 (7).jpg
redpanda-2080-08-16 (8).jpg
redpanda-2080-08-16 (9).jpg
redpanda-2080-08-16 (1).jpg
redpanda-2080-08-16 (2).jpg
redpanda-2080-08-16 (3).jpg
redpanda-2080-08-16 (4).jpg
redpanda-2080-08-16 (5).jpg
redpanda-2080-08-16 (6).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ