arrow

भेरी घटना आवेगको परिणाम, दोषीलाई कारबाहीको सिफारिस

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २० बिहिबार
beri-hospital-cmmittee.jpg

नेपालगन्ज । भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि हातपात भएको घटनाको छानबिन गर्न गठित समितिले बुझाएको प्रतिवेदन सार्वजनिक गरिएको छ । प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले प्रतिवेदन सार्वजनिक गरेका हुन् । 

पत्रकार सम्मेलन गरेर प्रतिवेदन सार्वजनिक गर्दै प्रजिअ गेलालले घटना सुनियोजित नभई आवेगको परिणाम भएको बताए । सार्वजनिक गरिएको प्रतिवेदनमा घटना सुनियोजित नभई आफन्तको मृत्यु पश्चात् आवेगको कारण घटना घट्न गएको निष्कर्ष निकालिएको गेलालले जानकारी दिए । 

नर्सिङ स्टाफसहित चिकित्सक समेत ज्यान जोगाउन एक तलाबाट हाम फल्नुपर्ने गरी भएको घटनालाई छानबिन समितिले आवेगमा भएको घटनाको संज्ञा दिँदै अस्पतालमा सुधार गर्नुपर्ने सुझावहरू समेत दिएको गेलालले जानकारी दिए । 

प्रतिवेदनले अस्पतालको सेवामा केही कमी भएको सङ्केत गर्दै त्यसकै कारण घटना घटाउनेहरू आवेगमा आएको प्रतिवेदनको आशय रहेको बताइएको छ । समितिले बुझाएको प्रतिवेदनमा विभिन्न २० बुँदे कमी कमजोरी औँल्याउँदै २५ बुँदे सुझाव समेत दिइएको छ । समितिले स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने दोषीलाई कारबाहीको सिफारिस गरेको छ ।

 प्रजिअ गेलालले अस्पतालमा उपचारको लागि आउने बिरामी तथा उपचारमा खटिने चिकित्सकदेखि सबैको सुरक्षाको लागि विशेष ध्यान पुर्‍याउने लगायतका सुझाव आउनुको साथै अस्पतालको सेवालाई अझ गुणस्तरीय बनाउन समितिले दिएको सुझावलाई कार्यान्वयन गर्दै घटनामा संलग्न तीन जनालाई नियन्त्रणमा लिएर कानुनी कारबाहीको प्रक्रियामा अघि बढाइएको बताए । 

गत १३ गते राति दाङ तुलसीपुरका कोरोना सङ्क्रमित डिल्लीबहादुर रावतको उपचारका क्रममा भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएपछि आफन्तले त्यहाँ कार्यरत डाक्टर र नर्सहरूमाथि हातपात गरेका थिए । घटनामा संलग्न रहेका मृतकका भाइहरू मानबहादुर रावत, भरत रावत तथा छोरा लोकराज रावतविरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा ज्यान मार्ने उद्योग तथा शारीरिक उपद्रो कसुरमा मुद्दा दर्ता भएको छ । 

घटना लगत्तै सुरक्षाको माग गर्दै स्वास्थ्यकर्मीहरुले काम बन्द गर्ने अवस्था आएपछि तत्कालै बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर बिष्टको संयोजकत्वमा ७ सदस्यीय छानबिन समिति गठन गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ