arrow

कर्णाली सरकारमा कांग्रेसबाट दुई मन्त्री, शुक्रवार शपथ

logo
हाम्राकुरा संवाददाता
प्रकाशित २०७८ जेठ २० बिहिबार
karnali-prade.jpg

काठमाडौं । नेपाली कांग्रेस कर्णाली प्रदेश सरकारमा सहभागी हुने भएको छ । कांग्रेस कर्णाली प्रदेशमा दुई मन्त्रालय लिएर सरकारमा जाने पक्का भएको हो । कांग्रेसले गत ३ वैशाखमा मुख्यमन्त्री पदमा महेन्द्रबहादुर शाहीलाई सघाएको थियो । कांग्रेसले विश्वासको मत दिएपछि उनी मुख्यमन्त्री बनेका थिए । 

कांग्रेस कर्णाली स्रोतका अनुसार सामाजिक विकास मन्त्रालय र जलस्रोत तथा ऊर्जा मन्त्रालयसहित कांग्रेस सरकारमा जाने भएको हो । कर्णालीमा कांग्रेसबाट यज्ञबहादुर बिसी र दिनवन्धु श्रेष्ठ मन्त्री बन्ने भएका हुन् । 

उनीहरू दुई मध्ये बिसीले सामाजिक विकास र श्रेष्ठले ऊर्जा मन्त्रालय सम्हाल्ने सहमति बनिसकेको छ । कांग्रेस प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले को को मन्त्री बन्नेबारे भने छलफल भइरहेको बताए । 

‘को को मन्त्री हुने भन्ने छलफल भइरहेको छ, तर दुई मन्त्रालयसहित हामी सरकारमा जाँदैं छौं,’ प्रदेश संसदीय दलका नेता शाहीले हाम्राकुरासँग भने । 

कांग्रेसले तोकेका व्यक्तिलाई आजै मन्त्री नियुक्त गरिने तयारी भइरहेको छ । तर शपथ भने भोलि (शुक्रवार) हुने बताइएको छ । प्रदेश सरकारमा हाल सामाजिक विकास मन्त्रालय र जलस्रोत तथा ऊर्जा मन्त्रालय खाली छ । 

एमालेले समर्थन फिर्ता लिएपछि ३ वैशाखमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिएका थिए । विश्वासको मत लिँदा काँग्रेस र एमालेको नेपाल समूहका चार जना सांसदले फ्लोर क्रस गरेर मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएका थिए ।

त्यति बेला नेपाल समूहबाट फ्लोर क्रस गरेर मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिने चारमध्ये तीन जना हाल कर्णाली सरकारमा मन्त्री छन् । 

कर्णाली सरकारमा हाल माओवादी केन्द्रबाट मुख्यमन्त्रीसहित ३ जना र एमालेको नेपाल समूहका ३ जना मन्त्री छन् । कांग्रेसका २ जना थपिदा ८ सदस्यीय मन्त्रिपरिषद् हुने छ ।

हाल ३५ सदस्य रहेको प्रदेशसभामा एमालेका सभामुखसहित १६, माओवादी केन्द्रका १२, कांग्रेसका ६ र राप्रपाका एक सांसद छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ