arrow

कर्णालीमा सास बचाउन हेलिकोप्टरको सहारा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २१ शुक्रबार
helicopter-corona-rescue.jpg

जाजरकोट । विकटताको नाम र नमुना हो, कर्णाली । जहाँ गरिबी मात्रै छैन, अभाव र समस्याहरूको भकारी छ । गाउँमा मानिसहरू छन् । तर स्वास्थ्य चौकी छैनन् । स्वास्थ्य चौकी भए पनि डाक्टर हुँदैनन् । जसले गर्दा गम्भीर बिरामी परेकाहरूको सास बचाउन हेलिकोप्टरको सहारा लिनु कर्णालीका मानिसहरूको बाध्यता हो ।

यदि पैसा र पहुँच हुने हो भने कर्णालीका मानिसहरू भाग्यले बाच्छन् । अहिले त पहुँचकै आधारमा गाउँ गाउँका मानिसहरूको हेलिकोप्टरबाट उद्धार हुने गरेको छ । जुन गरिबहरूका लागि भने असम्भव हो । स्थानीय सरकारले चाहेको खण्डमा भने धेरैको ज्यान जोगिन थालेको छ ।

जाजरकोटको कुशे गाउँपालिकाबाट एक महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । कुशे गाउँपालिका ६ की पम्फा सिंह शाही अचानक बिरामी भएपछि हेलिकोप्टरबाट उद्धार गरेर कोहलपुर मेडिकल कलेज लगिएको हो । 

उनलाई एपेन्डिसाइटिस भएको थियो । दुई दिनदेखि बिरामीले थलिएकी उनलाई सिम्रिकको हेलिकोप्टर मगाएर उद्धार गरिएको हो । गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतको पहलमा उनको उद्धार गरेर अस्पताल लगिएको स्थानीय विमल रोकायाले जानकारी दिए ।

यसअघि पनि गाउँपालिका अध्यक्ष बस्नेतले हेलिकोप्टर बोलाएर थुप्रै बिरामीको ज्यान जोगाउन पहलकदमी गरेका थिए । कर्णाली प्रदेश सरकारले कर्णालीको विकटतालाई मध्यनजर गरेर हेलिकोप्टरबाट कोरोना सङ्क्रमितको उपचार गर्ने निर्णय नै गरेको छ । यसबाट केही सङ्क्रमितको उद्धार र उपचार भइरहेको छ ।

तर गरिब र दलितले पहुँच नपाउँदा ज्यान गुमाउनु परिरहेको छ । हेलिकोप्टरको भाडा तिर्न नसकेर ज्यान गुमाउनु उनीहरूको बाध्यता हो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ