arrow

वैकल्पिक राजनीतिक शक्ति बनाउने नेपाल पक्षको दृढता, ओली वार्ताको नाममा अलमल्याउँदै

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७८ जेठ २२ शनिबार
60baeb3ed0ac6.jpg
फाइल तस्बिर

काठमाडौँ। एमालेका निष्कासित नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल समूहका नेताहरूले पार्टी अध्यक्ष केपी शर्मा ओली लचिलो नभए अर्को दल बनाउन आनाकानी गर्न नहुने सुझाव दिएका छन्। उनीहरूले नयाँ दल निर्माण र केपी ओली पक्षसँग वार्ता सँगसँगै अगाडि बढाउनु पर्ने र आत्मसम्मान गुमाएर आत्मसमर्पण गर्नु नहुने भन्दै अर्को दल बनाउन ढिलाइ नगर्न नेताहरूलाई सुझाव दिएका हुन्।

नेपाल समूहको भर्चुअल बैठकमा अधिकांश नेताहरूले ओलीले सधैँ पेल्ने गरेको र अब पनि पार्टीभित्र राखेरै पेल्ने नीति लिएको बताउँदै आनाकानी गरेमा नेपाल समूहबाट केन्द्रीय सदस्यहरूसहित तल्लो तहका नेताहरू पनि चोरेर लैजाने भएकाले ओली समूहसँगको संवाद चाडै टुङ्ग्याउनु पर्ने तथा संवादबाट निकास नआउने हो भने नयाँ दल चाडै नै खोल्नु पर्ने बताएका थिए।

‘हामीले एकता नगर्ने भनेका छैनौ, २०७५ जेठ २ गते अघिका सबै कमिटीहरूको व्यूतिनु पर्‍यो, नवौँ महाधिवेशनको विधान चल्नु पर्‍यो, पार्टी नीति र विधिमा चल्नु पर्‍यो, संविधान उल्लङ्घन गरेका विषय गलत हुन भनेर स्विकार्नु पर्‍यो, सबैको सम्मानजनक पूर्ववत् कमिटीमा काम गर्न पाउनु पर्‍यो, होइन भने नयाँ दल बनाउने नयाँ पार्टी निर्माण गरेर जानुपर्छ, क्षणिक नाफा हुन्छ भनेर कसैको टाङमुनि छिर्ने कुरा हुँदैन भन्ने धारणा आएका छन्’, केन्द्रीय सदस्य राजेन्द्र राईले भने।

राईका अनुसार अन्तिम समयसम्म पार्टीलाई बचाउने कुरामा सबै केन्द्रीय सदस्यहरू सहमत भएको तर ओलीले पेल्दै जाने हो भने अर्को विकल्पमा जानुको अर्थ छैन। ‘ओलीले बहिर्गमन चाहेकै कारण हामीले देशभर समानान्तर कमिटी बनाएका हौ अब ती कमिटी नै नयाँ दलका कमिटीमा रूपान्तरण हुनेछन्’, नेता राईले भने।

केन्द्रीय सदस्यहरूले नेताहरूलाई कारबाही पनि गर्ने संवादको नाटक गरेर अलमल्याउन खोजेकाले कारबाही फुकुवा गरेर सहज अवस्था नआएसम्म कुनै पनि प्रकारको औपचारिक संवाद नहुने समेत धारणा राखेका थिए ।

‘ नेताहरूलाई कारबाही गरेर संवाद गर्नु भनेको नेताहरूकै अपमान हो त्यस कारण कारबाही फिर्ता गर्नुपर्छ त्यसपछि मात्रै संवाद हुनुपर्छ’, शुक्रवार बोल्ने नेताहरूको भनाई उद्धृत गर्दै एक नेताले भने ।  शुक्रवारको बैठकमा आफूनिकट केन्द्रीय सदस्यहरूको भर्चुअल बैठकमा ओली पक्षसँग भइरहेका छलफलहरू आफूसँग परामर्श गरेरै भइरहेको नेपालले बताए पनि केन्द्रीय सदस्यहरूले अहिलेको अवस्थामा संवादको कुनै औचित्य नभएको धारणा राखेका थिए ।

केही दिनयता सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्टलगायतले नेपालको इच्छा विपरीत ओली पक्षसँग वार्ता जारी राखेको बताइएको थियो । ‘वार्ता र छलफलमा जानु भएका साथीहरूले जानु भन्दाअघि नै मसँग परामर्श र छलफल गर्नुभएको छ। बाहिर आएको जस्तो कुरा होइन। एकल बसे पनि सामूहिक बसे पनि मेरो नोटिसमै भइरहेको हो, तर वार्ताको नाममा हाम्रो वैकल्पिक पार्टी निर्माण गर्ने विषयलाई अलमल्याउने खोजेको हो कि भनेर हामी चनाखो बन्नुपर्छ। अहिले वार्ता र वैकल्पिक राजनीतिक दल बनाउने विषय सँगसँगै जान्छ,’ नेपाललाई उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने ।

छलफलमा केन्द्रीय सदस्यहरूले वार्ताको नाममा ओली पक्षले नयाँ दल बन्नबाट रोक्ने रणनीति लिएको हुनसक्ने भन्दै नेपाललाई सचेत गराएका थिए । छलफलमा नेता नेपालले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता नहुने पनि जानकारी गराएका छन् ।

‘प्रतिगमन विरोधी समूहको मोर्चा बन्ने क्रममा देउवालाई समर्थन गरिएको हो यो फिर्ता हुँदैन’, नेता नेपालको भनाई उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने । नेता नेपालले ओलीको गतिविधि पार्टीको मात्रै विषय नभएको भन्दै हस्ताक्षर फिर्ता नहुने बताएका हुन् ।

‘ओलीले जे गरेका छन्। त्यो पार्टीको मात्रै विषय होइन। यो देश र संविधान रक्षाको कुरा हो। यो विषय आफ्नो प्रक्रियामा अघि बढिरहन्छ,देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर र संसद् विघटनविरुद्ध अदालतमा परेको रिट फिर्ता हुँदैन,’ नेता नेपालको भनाई उद्धृत गर्दै ती नेताले भने ।

नेपालसहित एमालेका २३ जना सांसदले प्रधानमन्त्री ओलीले दोस्रो पटक गरेको संसद् विघटनविरुद्ध नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चाका सांसदसँग मिलेर अदालतमा मुद्दा दायर गरेका छन् ।

बैठकमा  सबै तहका सरकार सञ्चालनका लागि बेग्लै संयन्त्र निर्माण गर्नुपर्ने, प्रतिनिधिसभा विघटनको कमजोरी सच्याएर पूर्ण कार्यकाल सञ्चालन हुने सुनिश्चितता हुनुपर्ने तथा सरकारले यसबिचमा अध्यादेशहरू ल्याएर कमजोरी गरिएको स्विकार्नु पर्ने विषय निकै टड्कारो गरी उठेको थियो । 

शुक्रवार बैठकमा नेता नेपालले आफू न्यायोचित एकताकै पक्षमा रहेका र पार्टीलाई फुटतिर अग्रसर गराउने काम प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले गरेको निष्कर्ष सुनाएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ