- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
एकपल्ट भगवान् बुद्ध वैशालीको नजिक महावनमा रहनुहुन्थ्यो। त्यस बेला आफ्ना गुरु नाथपुत्तले विरोध गर्दागर्दै पनि सिहसेनापति भन्ने लिच्छवी राजा बुद्धकोदर्शन गर्न गए । उनी बुद्ध अक्रियावादी हुन् भन्ने धारणामा रहेकोले प्रश्न उत्तरको समयमा बुद्धले भन्नुभयो-'हे सिंह, म कायदुश्चरित वाग्दुश्चरित र मनोदुश्चरितको अक्रियाको उपदेश दिने गर्छु।" "म कायसुचरित,' वाक्सुचरित र मनः सुचरितक्रियाको उपदेश दिने गर्छु।" "म लोभ, द्वेष र मोह इत्यादि सबै पाप कारक मनोवृत्तिहरूको उच्छेद क्रियाको उपदेश दिन्छु ।
सिद्धार्थ गौतम क्षत्रिय कुलमा जन्मेर पनि तपस्वी बनेका थिए । तर छ वर्षसम्मको तपश्चर्या पछि गौतम बुद्ध भएर गृहस्थश्रमको सुख भोग एवं सन्यासाश्रमको तपश्चर्याको निषेध गर्न लागेपछि उनी अक्रियावादी झै देखिएका थिए। उनी सधैँ मानव जातिको युद्ध पिपासा शान्त गरेर मित्रताको आधारमा समाजको निर्माण सम्भव छ भन्ने कुरो सोच्ने गर्यो । त्यसैले उनले मध्यम मार्ग अपनाउनु भयो।
त्यस बेलाका सालेय्यक ब्राह्मणहरूलाई दुश्चरित एवं सुचरितता विषयको बोध गराउँदै भगवान् बुद्ध भन्नुहुन्छ–'हे गृहस्थी, कायबाट हुने तीन प्रकारका अधर्माचरण, मारपीट, हत्या, चोरी एवं व्यभिचार गर्नु हो । वाचाबाट हुने चार प्रकारका अधर्माचरण झुठ बोल्नु, नजानेको कुरो पनि जान्छु भन्नु, नदेखेको कुरो पनि देखेको छु भन्नु, चुक्ली गर्नु, झगडा गराउनु, गाली गलोज गर्नु, कटुवाक्य बोल्नु र नचाहिने कुराहरू बोल्नु हो । त्यस्तै तीन प्रकारका मानसिक अधर्माचरण-अर्काको धनको लालच गर्नु, द्वेष राख्नु, मिथ्या दृष्टि दिनु इत्यादि हो।"
मज्झिम निकायमा सालेय्यक सुत्तमा उल्लिखित उक्त उपदेशहरूको संक्षेप-प्राणघात, अदत्तादान, काममिथ्याचार यो तीन कायिक पाप कर्म हुन् । असत्य, चुक्ली, गाली गलौज र बेकारको बकवास यी चार वाचसिक पापकर्म हुन् र अर्काको धनको लोभ, अरूहरूको नासको इच्छा एवं नास्तिक प्रवृत्ति यी तीन मानसिक पापकर्म हुन् ।
यी नै दश अकुशल कर्मपथबाट हामीले हट्नुपर्छ । यिनै दश अकुशल कर्मबाट हामीले पन्छिन सकेपछि हामी दश कुशल कर्ममा लाग्न सक्ने हुन्छौँ भन्ने कुरो त्रिपिटक-वांङमयको अनेक पृष्ठमा हामी पाउँछौं । कुशल कर्मपथमा आर्य-अष्टांगिक मार्गको उल्लेख छ ।
त्यसमध्ये तीन प्रकारका कुशल कार्य-कायकर्म नै सम्यक् कर्म हो। चार प्रकारका कुशल वाचसिक कर्म नै सम्यक् वाचा हो र तीन प्रकारका मानसिक कुशल कर्म नै सम्यक् दृष्टि एवं सम्यक् सङ्कल्प हो। आर्य-अष्टांगिक मार्गको बाकी चार अङ्ग यिनै कुशल कर्मपथ गर्नेहरूको लागि टेवा हो । सम्यक् आजीव, सम्यक् व्यायाम, सम्यक् स्मृति र सम्यक् समाधि उक्त अङ्गहरूको यथा तथ्य भावना विना पूर्णता हुन सक्तैन।
फेरि पनि यही हामी केवल कुशल कर्म गर्दै जान्छौँ र त्यसमा आसक्त पनि हुँदै जान्छौ भने हामीमा अकुशलताको उत्पत्ति हुन सक्नेछ । अर्थात् कुशल मनोविचार अकुशलताको लागि आलम्बन प्रत्ययले प्रत्यक्ष हुन्छ । कोही मानिसले दान दिन्छ, शील पालन गर्छ, उपोसय कर्म गर्छ र उसको आस्वाद लिन्छ, अभिनन्दन गर्छ भने उसबाट लोभ उत्पन्न हुन्छ, दृष्टि उत्पन्न हुन्छ, शङ्का उत्पन्न हुन्छ, भ्रान्ति उत्पन्न हुन्छ र दोमंनस्य उत्पन्न हुन्छ ।
यस प्रकार कुशल मनोवृत्तिले अकुशल कारण बन्न जान्छ । त्यसैले कुशल विचारमा आशक्ति राख्नहुन्न । निरपेक्षताका साथ कुशल कर्म गरिरहनु पर्छ। धम्मपदको गाथा अनुसार:
सम्बपापस्स अकरणं कुसलस्स उपसंपदा
सचित्त परियोदपनं एतं बुढ़ानुसासनं ।
अथवा सर्व पापहरूको अकरण, सर्व कुशलहरूको सम्पादन र स्वचित्तको संशोधन नै बुद्धको शासन हो।"
त्यस कारण उल्लिखित सबै अकुशल कर्महरू त्यागेर कुशल कर्ममा लाग्दा मनलाई पनि अनासक्त तुल्याउन सक्नुपर्छ । यो सबै अष्टांगिक मार्गहरूको अभ्यासबाट सम्भव हुन्छ र हामी शोलवान् हुनसक्ने हुन्छौँ।
त्यस्तै कुशल कार्यमा सचेष्ट गराउन भगवान् बुद्ध उपदेश दिँदै भन्नु हुन्छ-"भिक्षहरू हो! जराधर्मी हुँ भन्ने विचार गर ता कि तारण्यमदको कारणले कायेनवाचा-मनसाबाट हुने दुराचरणबाट कमसेकम मुक्त हुन सक्नेछौ। व्याधिधर्मी हुँ भन्ने विचार गर ता कि आरोग्य मदको कारणले कायेन वाचा मनसाबाट हुने दुराचरणबाट कमसेकम मुक्त हुन सक्नेछौ।" "मरण धर्मी हुँ भन्ने विचार गर ता कि जीवितमदको कारणबाट कायेन वाचा मनसाबाट हुने दुराचरणबाट कमसेकम मुक्त हुन सक्नेछौँ।"
"आफूलाई मन पर्ने प्राणी वा पदार्थबाट पनि वियोग हुनुपर्छ भन्ने विचार गर ता कि कायेन वाचा मनसाबाट हुने, दुराचरणबाट कमसेकम मुक्त हुन सक्नेछौ।" कर्म स्वकीय (कर्म नै सबै कुरा) कर्मदायाद (कर्मक भोग) कर्मयोनि (कर्मबाट जन्म) कर्मबन्धु (कमनै बन्धु) र कर्म प्रतिसरण (कर्मद्वारा नै रक्षा) हुने भन्ने कुराको विचार गर ता कि कायेन वाचा मनसाबाट हुने दुराचरणबाट कमसेकम मुक्त हुन सक्नेछौँ । यसैले क्षमाद्वारा क्रोधलाई जितौँ असाधुलाई साधुत्वबाट जितौँ कञ्जुसलाई दानबाट जितौँ। र हामी मनसा वाचा कमर्णा शुद्ध होऔँ। ' आनन्दभूमिबाट