- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
करिब ७० लाख बढी मानिस बसोबास रहेको राजधानी काठमाडौं कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिममा छ । देशभरको तुलनामा सङ्क्रमित हुनेको सङ्ख्या काठमाडौंमा उच्च स्थानमा छ । त्यसैले पनि काठमाडौंका हरेक स्वास्थ्य सम्बद्ध कार्यालय तथा अस्पतालहरू अत्यन्तै व्यस्त र जिम्मेवार छन् ।
मुलुक सङ्घीयतामा गइसकेपछि सबैजसो सरकारी कार्यालयहरूमा व्यस्तता बढेको छ । कोरोनाविरुद्धको खोप वितरण, व्यवस्थापन तथा अन्य स्वास्थ्य सचेतनाका कार्यक्रमले कार्यालयका कर्मचारीहरूलाई एक छिन फुर्सद छैन । कोरोनाको हटस्पट नै बनेको काठमाडौं जिल्ला र यस मातहतका स्वास्थ्य सम्बद्ध कार्यालय तथा अस्पतालका कर्मचारीहरूलाई बोल्ने फुर्सद नै छैन ।
कोरोना महामारी बढेपछि स्वास्थ्य कार्यालय काठमाडौं सबैभन्दा धेरै व्यस्त देखिन्छ । सङ्क्रमणको जोखिम र निषेधाज्ञाका समयमा यहाँका कर्मचारीहरू जोखिम मोलेर सक्रिय देखिन्छन् । अझ स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्री बहादुर खड्काको दैनिकी फेरिएको छ । सङ्क्रमण तीव्र रूपमा फैलिरहेको बेला २०७७ भदौमा स्वास्थ्य प्रमुखको जिम्मेवारी लिएर स्वास्थ्य कार्यालय छिरेका उनलाई त्यसयता एकै दिन बिदा बस्ने फुर्सद नमिलेको बताउँछन् ।
स्वास्थ्य तालिम केन्द्रबाट सरुवा भई २०७७ भदौ देखि जनस्वास्थ्य कार्यालय काठमाडौं आएको हुँ । त्यस बेला कोरोनाको उच्च जोखिम भएकाले काम गर्न उस्तै चुनौती थियो । तर काम जसरी पनि गर्नु नै थियो । महामारीबाट काठमाडौंबासीलाई जोगाउने जिम्मेवारी गहन थियो । हुन त यो महामारी हाम्रालागि नौलो र पहिलो भएकाले सिकाइका क्रममा थियौं । सिक्दै र भोग्दै काम गर्दा केही समस्याहरू भए । व्यवस्थापनमा केही कमजोरीहरू अवश्य भएका हुन् । तर त्यसलाई व्यवस्थापन गर्दै अघि बढ्दा केही सफलतामा पनि मिलेको महसुस हुने गर्छ ।
हुन त गत वर्ष र यस वर्षको केस विल्कुलै भिन्न देखियो । गत वर्षको चैतदेखि लकडाउन सुरु हुँदा म स्वास्थ्य तालीम केन्द्र बागमती प्रदेश कार्यालयमा कार्यरत थिएँ । तर पछि स्वास्थ्य कार्यालयमा आएपछि मात्र आम मानिसहरूसँग प्रत्यक्ष जोडिएका केसहरूसँग काम गर्ने मौका मिलेको हो । केसहरूसँग फेस गर्ने बाध्यता परेको हो । यो महामारी हामी सबैका लागि नौलो भएकाले सरकारले पर्याप्त तयारी गर्ने अवसर पाएको थिएन । हतारमा तयारी गर्दा केही समस्याहरू आएका थिए । उपचार र रोकथामको काम सजिलो थिएन । गत वर्ष त मृत्युदर पनि न्यून र अस्पताल नै बस्ने बिरामीको सङ्ख्या कम भएकाले आइसोलेसन र क्वारेनटाइनको व्यवस्थापनमा जुटेका थियौं । केन्द्रीय सरकारले अघि बढाएको क्वारेनटाइन र आइसोलेसनको अभियानलाई हामी सबैले कार्यान्वयन गर्दै अघि बढेकाले केही सफलताहरू मिलेको थियो ।
पछि होम आइसोलेसनका लागि सरकारको निर्देशन आयो । सोही अनुसारको हामीले आम मानिसलाई सचेत गराउने जिम्मेवारी थपियो । सरकारको योजना हामीले कार्यान्वयन गर्दै गयौं । आम मानिसहरूलाई घरमै बस्न, स्वास्थ्य मापदण्ड पालना गर्न, मास्क लगाउन सिकायौं । काठमाडौं जिल्लाका ११ वटै स्थानीय तहहरूले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गरे ।
भदौमा मैले स्वास्थ्य कार्यालयको जिम्मेवारी सम्हालेको असोजपछि केसहरू नियन्त्रण हुँदै गयो । करिब तीन महिना भाइरस फैलने क्रम केही न्यून भयो । फागुनदेखि फेरि बढ्दै गयो । दोस्रो लहर आउँछ भनेर त विज्ञहरूले भनेकै थिए । तर हामीले पर्याप्त तयार गर्न नपाउँदै अवस्था थप चुनौतीपूर्ण बन्दै गयो । तयारी गर्न केही कमी भएकै हो । तर जति काम गरियो त्यसलाई सन्तोष मान्न सकिन्छ । केही सफलता मान्न सकिन्छ । केन्द्रीय सरकारले अपनाएको कार्य योजना हामीले सक्दो कार्यान्वयनमा पहल गरेकाले जति जोखिम बढ्नुपर्ने त्यो बढ्न पाएन ।
अक्सिजनको महत्त्व थाहा भयो
हुन त अक्सिजनको आवश्यकता अनुसार अस्पतालहरूले आफै व्यवस्थापन गरिरहेका थिए । अक्सिजनको अवस्था यस्तो होला भन्ने लागेको थिएन । तर केसहरू एकाएक यसरी बढे कि व्यवस्थापन गर्नै हम्मे पर्यो । सुरुवातमा त हामी आत्तियौं । तीनवटै तहका सरकारले अक्सिजन यस्तो तीव्र रूपमा आवश्यकता पर्छ भन्ने सोचेकै थिएनन् । तर अवस्था अर्कै भयो । बिरामीलाई लक्षण नदेखिने, अस्पताल नै जानुपर्ने र अक्सिजन नै चाहिन थाल्यो । जसका कारण हामीलाई समस्या भएको हो । तर बिस्तारै व्यवस्थापन गर्न सफल भयौं । सबैतिरको सहयोग र जनस्तरबाट पनि सकारात्मक सहयोग भयो । अक्सिजनको व्यवस्थापनमा सफल बन्दै गयौं ।
अस्पतालहरूले अक्सिजन छैन, बिरामी डिस्चार्ज गर्छौं भन्दा स्थलगत अनुगमन गएर अवस्था बुझौं । वास्तविकता थाहा पायौं र बिस्तारै अक्सिजनको व्यवस्थापन गर्न सफल भएका छौं । यो घट्नाले मानिसहरूलाई अक्सिजनको महत्त्व बुझ्ने मौका मिलेको जस्तो लाग्छ । महत्त्व बुझेका छन् । अहिले अस्पतालहरू पनि चनाखो भएका छन् । अस्पतालहरूले पनि प्लान्ट नै राख्नु पर्ने मानसिकतामा छन् । भएका प्लान्टहरू पनि सक्रिय बनेका छन् ।
सङ्क्रमण घट्दो छ
सङ्क्रमणको सुरुवात र मध्यतिर आइपुग्दा काठमाडौमा दैनिक ३३ सय जनालाई केस देखिन्थ्यो । हामीलाई अत्यास लागेको थियो । भयावह हुने अवस्था आइसकेको थियो । तर हामीले काउन्सिलिङ र सचेतनालाई निरन्तरता दिन सक्यौं । सङ्क्रमितहरू व्यक्ति व्यक्तिलाई फोन गरेर गरेर काउन्सिल गरेका थियौं । जसका कारण हाल आएर केस दैनिक पाँच सय जनामा झरेको छ । यसले केही सन्तोष बनाएको छ । काठमाडौंमा सक्रिय सङ्क्रमितको सङ्ख्या अहिले नौं हजार जति मात्र होला त्यो घट्दो क्रममा छ । निको हुने दर बढेको छ । ९० प्रतिशत निको भएका छन् र मृत्यु दर घटेको छ । सैद्धान्तिक अध्ययन नभए पनि लकडाउन र निषेधाज्ञाको प्रभावले केही सङ्क्रमण घटेको छ । आम मानिसहरू सचेत भएका छन् । तर सङ्क्रमण घट्यो भन्दैमा जथाभाबी गर्न हुँदैन । स्वास्थ्य मापदण्ड अपनाउनु पर्छ । मिडियाहरूमा तेस्रो लहर पनि आउने भनिएको छ । सचेत हुनपर्छ ।
काठमाडौंका २२ लाख जनालाई खोप
हुन त खोप विदेशबाट ल्याउनुपर्ने भएकाले केही समस्याहरू देखिएका छन् । सरकारले हर सम्भव प्रयास गरिरहेको छ । काठमाडौंबासीलाई १८ वर्ष माथिका सबैलाई खोप दिने भनेकै हो । सन् २०११ को तथ्याङ्क अनुसार काठमाडौं जिल्लाको जनसङ्ख्या २२ लाखको हाराहारीमा छ । ७७ वटा जिल्लाका मानिसहरूको बसोबास हेर्ने हो भने करिब ६६ लाख मानिस काठमाडौंमा बस्छन् । यी सबै मानिसले खोपको अपेक्षा गरेका छन् । यो स्वाभाविक पनि हो । तर तत्काल त्यो सम्भव देखिँदैन । नेपाल आइरहेको जति पनि खोप छ त्यो धेरै भन्दा धेरै काठमाडौंमा नै खपत भइरहेको छ । यो हटस्पटमा सङ्क्रमितको दर घटाउन सकियो भने अन्य जिल्लामा बिस्तारै न्यूनीकरण हुँदै जान्छ ।
हामीले हालसम्म काठमाडौंमा पहिलो मात्रा खोप तीन लाख ७३ हजार लगायौं । त्यसमा २ लाख ३५ हजारलाई दोस्रो डोज लगाइसकेका छौं । चीनबाट ल्याइएको १० लाख खोपमध्ये दुई लाख काठमाडौंमा लगाऔं भनेर प्रस्ताव गरेको छु । तर पनि ६४ हजार डोज खोप ११ स्थानीय तहलाई वितरण गरिसकेका छौं । ७७ जिल्लाका मानिस काठमाडौंमा बस्ने भएकाले पनि खोपको मात्र बढाउनुपर्ने बाध्यता छ ।
काठमाडौंमा खोपको धेरै आवश्यक भएको छ । अब आएको डोज छुटेकाहरु र लक्षित समुहलाई लगाउने योजनामा छौं । कोभिडसिल ८६ हजार जेष्ठ नागरिक र ६० हजार जति दोस्रो डोज लगाउन बाँकी छ । त्यो पूरा गर्नेछौं । मौखिक रूपमा काठमाडौंमा खोपको मात्र बढाऔं भनेर प्रस्तावहरु गरेको छु । मेरो अपेक्षा अनुसार खोप पाएको छैन । सबैलाई खोप लगाउन सकिएको छैन । म त शुरुवातीमै २२ लाख काठमाडौंबासीलाई खोप लगाउने पक्षमा छु । त्यसपछि बढाउँदै लानुपर्छ भनिरहेको छु । सामाजिक विकास मन्त्रालय र स्वास्थ्य निर्देशनालय र स्वास्थ्य विभागको परिवार कल्याण महाशाखालाई बारम्बार घचघच्याइरहेको छु । तर त्यो एकदमै चुनौतीपूर्ण छ । खोप पर्याप्त नहुँदा समस्या छ ।-प्रस्तुती : युवराज गौतम