- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । देशकै ठुलो पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ मा पूर्वाधार, स्वास्थ्य, पर्यटन र कृषिलाई प्राथमिकतामा राखेको छ । ‘समुन्नत पर्यटकीय पोखरा’ लाई रूपान्तरण गर्न महानगरपालिकाले यी चार विषयवस्तुलाई प्राथमिकता दिइएको हो ।
पोखरा महानगरपालिकाको सुरु नवौँ नगर सभामार्फत प्रस्तुत नीति तथा कार्यक्रममा यी चार विषय प्रमुखताका साथ अघि सारिएको छ । नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगर प्रमुख मानबहादुर जिसीले कोभिड १९ नियन्त्रणका लागि महानगरले आवश्यक भौतिक पूर्वाधार, अस्पतालमा पर्याप्त जनशक्ति व्यवस्थापन, पिसिआर परीक्षण, कनट्र्याक्ट ट्रेसिङ लगायतका कार्यलाई निरन्तरता दिने बताए ।
मेयर जिसीले कोभिड १९ को कारणले प्रभावित भएका व्यवसायीलाई कर छुट तथा राहतको व्यवस्था गर्ने उल्लेख गरे ।वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिलाई लक्षित गरी कार्यक्रमहरु, आन्तरिक पर्यटनमा टेवा पुर्याउन जनप्रतिनिधिलाई पाँच दिन पर्यटन बिदा दिने उनले उल्लेख गरे ।
पोखरा क्षेत्रका फिर्के खोला, विजयपुर खोला, सुइँ खेत, भोटी, स्याङ्खुदी, फुस्रे खोला लगायतका खोलाको मापदण्ड परिमार्जन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । यसका लागि मापदण्ड परिमार्जनको लागि विज्ञ सहितको कार्यदल बनाएर अध्ययन गरी उक्त कार्यदलको सिफारिसको आधारमा कार्यपालिकाले मापदण्ड परिमार्जन गरिने भएको छ ।
महानगर क्षेत्रमा हालसम्म २६८ सडक ढलान, ८२१ सडक कालोपत्रे र २९१ सडक ग्राभेल गरिएको मेयर जिसीले बताए । मुख्य सहरी सडकहरूको स्तरोन्नति गर्ने क्रममा महानगरपालिका, सडक विभाग र प्रदेश सरकारको सहकार्यमा ४० करोड लागतमा २२ किमी सडक अस्फाल्ट कङ्क्रिट गर्ने काम धमाधम भइरहेको प्रमुख जिसीले बताए । उनले विजयपुर बेगनास सडक खण्डमा १४ किमी सडक अस्फाल्ट प्रविधिमार्फत कालोपत्रे भइरहेको बताए ।
यसै गरी महानगरले प्रमुख पर्यटकीय सम्पदा फेवाताल, बेगनास ताल, रुपाताल, खास्टेताल लगायतका ९ वटा तालको सिमाङ्कनसहित दीर्घकालीन संरक्षणको योजना तयार पारेको उनले बताए ।
प्रमुख जिसीले महानगरका विभिन्न वडाहरूमा सहरी स्वास्थ्य केन्द्र स्थापना गरी ४६ वटा स्वास्थ्य चौकी र सहरी स्वास्थ्य केन्द्रमार्फत सेवा प्रवाह गरेको बताए । उनले स्थानीय कृषि तथा अन्य उत्पादनलाई ब्रान्डिङ गर्ने, मौलिक कृषि उत्पादनको समर्थन मूल्य तोक्ने, उद्यमशीलता प्रवर्द्धन गर्ने, कृषि उत्पादनलाई पर्यटन स्तरका होटेल एवं रेस्टुरेन्टको सहकार्यमा मेनोमा प्राथमिकता दिने योजना अगाडि सारेको बताए ।
महानगरले पोखरा क्षेत्रका प्राकृतिक सम्पदा निजी क्षेत्रलाई भाडामा लगाउने योजना बनाएको छ । प्रमुख जिसीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम फेवाताल, सेती नदी तथा राम घाट क्षेत्र संरक्षणको जिम्मा निजी क्षेत्रलाई सार्वजनिक–निजी साझेदारी अवधारणाअनुसार दिने उल्लेख गरिएको छ ।
प्रमुख जिसीले पातले छाँगो, फेवातालको मुहानको सिल्टेनड्याम र सेती खोँचको सम्झौता अन्तिम चरणमा पुगेको बताए । उनले पोखरा क्षेत्रका अन्य प्राकृतिक सम्पदाको संरक्षण र संवर्द्धन गर्नका लागि अध्ययन भइरहेको बताए ।