arrow

जङ्गलको निगुरोकै भरमा सयौँ परिवार

logo
विवेक मिश्र,
प्रकाशित २०७८ असार १० बिहिबार
niguro.jpg

मोरङ । मोरङको उत्तरी भेगको जङ्गलमा वर्खायाममा प्रशस्त मात्रामा निगुरो पाइन्छ । यहाँको निगुरो राजधानी काठमाडौँसमेत जान थालेपछि माग ह्वात्तै बढेको छ । कानेपोखरी, लेटाङ, भाउन्ने लगायतका सामुदायिक वनमा पाइने निगुरो टिप्न बिहानैदेखि साँझसम्म स्थानीयको जङ्गलमा भिड बढ्न थालेको छ । सयौँ परिवारको गुजारा यसैले चलेको छ ।

  तर यस विषयमा सरकारी निकायले नत कुनै तथ्याङ्क नै राखेको छ नत यस विषयमा चासो नै राखेको छ । कृषि मन्त्रालय प्रदेश एकका प्रवक्ता राजेन्द्र उप्रेतीका अनुसार हाल सम्म मन्त्रालयमा निगुरो निर्यातको विषयमा कुनै पनि तथ्याङ्क नरहेको बताए । व्यवसायीक हिसाबले किसान द्वारा उत्पादित वस्तुको मात्र यस मन्त्रालयले तथ्याङ्क राखेको तर जङ्गलमा आफै उम्रिएको निगुरोको विषयमा कुनै पनि तथ्याङ्क नरहेको प्रवक्ता उप्रेती बताउँछन् । उनले भने पत्रपत्रिकामा आएको समाचारलाई आधार मान्दा वार्षिक एक करोड भन्दा बढीको मात्रामा यहाँको निगुरो काठमाडौँ निर्यात भएको अनुमान गर्न सकिन्छ ।

चैत्र दोस्रो हप्ता देखी जङ्गलमा टिप्न मिल्ने निगुरो असोज अन्तिम सम्म टिप्न सकिने र जति टिप्यो त्यति राम्रो निगुरो पलाउने निगुरो व्यवसायी भद्रमाया भटराई बताउँछिन् । बेलबारी १० भाउन्नेमा विगत २८ वर्ष देखी निगुरोको व्यापार गर्दै आएको भद्रमायाले बताइन् । उनका अनुसार केही वर्ष पहिले यसरी निगुरो काठमाडौँ निर्यात हुँदैन थियो र बजारको खोजीमा इटहरी, दमक, बिर्तामोड सम्म पुर्‍याउनु पर्थ्यो तर अहिले अरूले टिपेर ल्याएको हामीले सङ्कलन गर्छौ र हामीसँग काठमाडौँ व्यापारीले किनेर लैजान्छन् । ६७ वर्षकी भद्रमाया यसै व्यवसायबाट दश जनाको परिवार चलाएको बताउँछिन् । 

भाउन्नेकी गीता दर्जी र मनमाया दर्जी बिहान ७ जङ्गल पसेका थिए । उनीहरूले ११ बजेसम्ममा ४०-४० मुठा निगुरो टिपेछन् । उनीहरूले टिपेको निगुरो १० रुपैयाँ प्रति मुठाको दरले सङ्कलन केन्द्रमा बिक्री गरे । गीता र मनमाया जस्तै यहाँका सयौँले दैनिक निगुरो टिपेर सङ्कलन केन्द्रमा बेच्ने गरेका छन् । सङ्कलन केन्द्रले प्रति मुठा २ रुपैयाँ नाफा राखेर प्रति मुठा १२ को दरले काठमाडौँ को व्यापारीलाई बिक्री गर्ने गरेको छ । दैनिक यो भेगबाट पाँच पिक अप निगुरो काठमाडौँ निर्यात हुने गरेको छ ।  

माग बर्सेनि बढेता पनि गत वर्ष र यस वर्ष वैशाख र जेठ महिनामा लकडाउनको कारणले निर्यातमा समस्या भएको व्यवसायीहरू बताउँछन् । तर अर्ग्यानिक सब्जीको रूपमा रुचाइएको यहाँको निगुरो ब्राण्डीङको भने पर्खाइमा रहेको छ । अब चाँडै नै सिर्जना सामुदायिक वन क्षेत्रको निगुरोलाई ब्राण्डीङ गरेर निर्यातमा जोड दिने उक्त सामुदायिक वनका अध्यक्ष छत्र लिम्बुले बताए । 

जनसेवा सामुदायिक, कमलपुर सामुदायिक वन, सिंहदेवी सामुदायिक, सिर्जना र लक्ष्मी सामुदायिक वनमा दैनिक निगुरो टिप्नका लागि आउने धेरै भएकाले पनि यस क्षेत्र निगुरो सङ्कलन केन्द्रका रूपमा विकसित हुँदै गएको अध्यक्ष लिम्बु बताउँछन् । विद्यालय तहमा पढ्दै गरेका तथा कलेज स्तरमा पढ्दै गरेका विद्यार्थीले समेत बिदाको समयमा निगुरो टिपेर  पढाइ खर्च जुटाउने गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ