arrow

ईश्वर पोखरेलको कलमले रोक्न खोजेको रथी प्रेम शाहीको 'करिअर'

logo
हाम्राकुरा संवाददाता
प्रकाशित २०७८ असार १३ आइतबार
Ishwor-pokhrel-prem-sahi-ar.jpg

काठमाडाैं। निर्णायक ठाउँमा रहेका जिम्मेवार व्यक्तिले नियतवश कलम चलाए के हुन्छ भन्ने यतिखेर नेपाली सेनाका उपरथी प्रेम शाहीलाई सोधे पुग्छ। व्यक्तिलाई पीडा दिन हतियार चलाउनु पर्ने साङ्घातिक आक्रमण नै गर्नु पर्दैन भन्ने उदाहरण बनेका छन् शाही। निर्णय गर्नेले स्वार्थ र नियत राखी कलम चलाउँदा 'करिअर'मा कस्तो असर पर्ने व्यावसायिक जीवनमा कस्तो तनाव हुँदो रहेछ भन्ने उदाहरण पनि बनेका छन् शाही। 

नेकपा एमालेका महासचिव एवं पूर्वउपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले चलाएको कलमले अहिले शाही आफ्नो करिअरकै सबैभन्दा सङ्गिन लडाई लड्न बाध्य भएका छन्। रक्षा मन्त्रीको कुर्सीमा छँदा पोखरेलले नेपाली सेनाका उपरथी प्रेम शाहीको जन्म मितिलाई एक वर्ष बढाएर प्रमाणित गरिदिएपछि शाही अहिले आफ्नो करिअरकै सबैभन्दा सङ्गिन लडाइ लड्न बाध्य भएका हुन्। नेपाली सेनाका उपरथी एवं पश्चिम कमाण्डका कमाण्डर प्रेम शाहीले नागरिकता, शैक्षिक प्रमाणपत्र र विद्यालयले दिएको चारित्रिक प्रमाणपत्रमा जन्म मिति फरक परेकोले सच्याई पाउँ भन्दै सैनिक मुख्यालय भद्रकालीमा दिएको निवेदन पोखरेलसमक्ष पेश हुँदा उनले नियतवश गरेको निर्णयले शाही अदालतको ढोकासमेत ढकढक्याइ रहेका छन्। आफू पढेको विद्यालयको कमजोरीका कारणले उसले दिएको चारित्रिक तथा अन्य प्रमाणपत्रमा जन्म मिति फरक परेपछि विद्यालयले कमजोरी भएको स्विकार्दै जन्म मिति सच्याएर पठाए पनि त्यसलाई नजरअन्दाज गर्दै पोखरेलले जन्म मिति एक वर्ष बढाएर निर्णय गरिदिएपछि शाही सो विरुद्ध सर्वोच्च अदालत समेत गएका छन्। तत्कालीन रक्षा मन्त्री पोखरेलले कुन नियतले सो निर्णय गरे भन्ने प्रश्न पनि अहिले उठ्न थालेको छ।   

डोटी पुर्ख्यौली थलो भएका शाहीले काठमाडौंको बुढानीलकण्ठ स्कुलबाट एसएलसी दिएकै साल अर्थात् ०३९ सालमा नै नागरिकता बनाए । नागरिकतामा उनको जन्म मिति ०२३ पुस २३ गते उल्लेख भए पनि कक्षा आठको जिल्ला स्तरीय परीक्षादेखि एसएलसीको प्रमाणपत्रसम्ममा जन्म मिति २०२३ पुस २२ उल्लेख भई एक दिनको फरक परेपछि शैक्षिक प्रमाणपत्र अनुसार नागरिकतामा मिति सच्याई पाउँ भन्दै शाहीले जिल्ला प्रशासन कार्यालय काठमाडौँमा निवेदन दिएका थिए । निवेदन अनुसार २०२३ पुस २३ गते जन्म मिति भएको शाहीको पुरानो नागरिकता रद्द गरी जिल्ला प्रशासन कार्यालय काठमाडौंले २०२३ पुस २२ गते जन्म मिति भएको नागरिकताको प्रतिलिपि दियो। नेपाली सेनामा प्रवेश गर्नु अघि नै शाहीलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक दिन जन्म मिति सच्याएको नागरिकताको प्रतिलिपि २०४३ साल भदौ १६ गते दिएको थियो। शाही ०४३ साल फागुन ३ गतेबाट नेपाली सेनाको सहायक सेनानी पदमा भर्ना भएका थिए । सेनाको अधिकृत हुँदै असार २०७७ देखि शाही उपरथीमा पदोन्नति भएका छन् ।

जति माथिल्लो पदमा पुग्यो प्रतिस्पर्धा उत्ति बढी हुने र अनेक झमेला व्यहोर्नु पर्ने तथ्य उनले करिअरमै सुबैभन्दा बढी यही समयमा भोगे। माथिल्लो पदमा बढुवा हुने बेला चाहिने शैक्षिक प्रमाणपत्र र जन्म मिति खुल्ने प्रमाणहरूमा एकरूपता हुनुपर्ने शाहीले नबुझेका होइनन्। यस्तै एक प्रसङ्गमा सबै शैक्षिक प्रमाणपत्र र चारित्रिक प्रमाणपत्रहरू हेर्दा शाही छाँगोबाट खसे झैँ भए।

सेनामा भर्ना हुँदा बुझाएको नागरिकता, शैक्षिक प्रमाणपत्र र चारित्रिक प्रमाणपत्र मध्ये सैनिक मुख्यालय जङ्गी अड्डा भद्रकालीले शाहीको जन्म मितिमा बुढानीलकण्ठ स्कुलले दिएको चारित्रिक प्रमाणपत्रमा उल्लेख १९६६ जनवरी ४ लाई नेपालीमा परिवर्तन गरेर २०२२ साल पुस २० गते उल्लेख गरेको रहेछ । सैनिक मुख्यालयले चारित्रिक प्रमाणपत्रलाई उल्लेख गरेर रेकर्डमा राखेको सो जानकारी प्रथम श्रेणीको अधिकृत भइसकेपछि केही वर्ष अघि मात्र शाहीले थाहा पाए । जस अनुसार शैक्षिक प्रमाणपत्र र चारित्रिक प्रमाणपत्रमा आफ्नो उमेर एक वर्ष २ दिन तलमाथि परेको थियो ।

आफूले विद्यालय तहको अध्ययन गरेको बुढानीलकण्ठ स्कुलले दिएको चारित्रिक प्रमाणपत्रमा आफ्नो जन्म मिति अझ फरक परेको देखेपछि उनी अवाक् हुनु स्वभाविक थियो। इस्वी संवत्मा सन् १९६६ जनवरी ४ उल्लेख गरेको विद्यालयले दिएको चारित्रिक प्रमाणपत्र अनुसार शाहीले आफ्नो जन्म मिति २०२२ साल पुस २० गते भएको पाए।

बेलायती पद्धति अनुसार गुणस्तरीय शिक्षा अध्ययन अध्यापन गर्ने भनेर सुरुवात गरिएको विद्यालय बुढानीलकण्ठ स्कुलले यस्तो कमजोरी गर्ला भन्ने उनले अनुमान पनि गरेका थिएनन्। तर आफ्नो प्रमाणपत्रहरूमा यस्तो धेरै कमजोरी देखेर उनी छक्क मात्र भएनन् पीडा समेत महसुस गरे। चारित्रिक प्रमाणपत्रमा एसएलसी पास गरेको साल समेत ०३६ उल्लेख गरेको रहेछ । यसरी एउटै विद्यालयले दिएको शैक्षिक प्रमाणपत्र र चारित्रिक प्रमाणपत्रमा शाहीको उमेर एक वर्ष दुई दिन तलमाथि मात्र भएको थिएन एसएलसी पास गरेको अवधि समेत तीन वर्ष तलमाथि गरिएको थियो। यो जानाजान भएको थियो वा भुलवश भएको थियो उनी त्यसको खोजीमा लागे ।

बुढानीलकण्ठ स्कुलले चारित्रिक प्रमाणपत्रमा एसएलसी पास गरेको वर्षसमेत ०३६ साल उल्लेख गरेको अर्को गल्ती पनि उनले फेला पारे। बुढानीलकण्ठ स्कुलका पूर्व प्रधानाध्यापक केशर खुलाल शाहीको हकमा विद्यालयले दिएको प्रमाणपत्रहरूमा गल्ती भएको स्विकारे। उनका अनुसार स्कुलको पहिलो ब्याचले ०३६ सालमा एसएलसी दिएको हो । प्रेम शाही बुढानीलकण्ठ स्कुलको चौथो ब्याच भएको र उनले ०३९ सालमा एसएलसी दिएर पास गरेको उल्लेख गर्दै खुलालले ट्रान्सक्रिप्ट दिने, क्यारेक्टर सर्टिफिकेट दिनेले एसएलसी पाए भएको मिति ०३६ साल लेख्न पुग्नु सरासर गल्ती भएको बताए । 

पूर्व प्रधानाध्यापक खुलालले भेरीफाइ गर्दा गल्ती भएको पाइएपछि सोही अनुसार हामीले करेक्सन गरेको कपी दिएको जनाउँदै कमजोरी बुढानीलकण्ठबाटै भएको स्वीकारे। बुढानीलकण्ठ स्कुलले शाहीको चारित्रिक प्रमाणपत्रमा रहेको जन्म मिति र एसएलसी पास गरेको वर्ष सच्याइदिएपछि उनले आफ्नो सिट रोलमा जन्म मिति मिलाई दिन भनेर तत्कालीन बलाधिकृतको कार्यालयमा निवेदन दिएका थिए । सैनिक कर्मचारीको नाम, उमेरलगायत सिट रोल बलाधिकृत रथीको कार्यालयले सच्याउने प्रावधान छ । तत्कालीन बलाधिकृत रथी पूर्णचन्द्र थापाको अध्यक्षतामा गठन भएको बोर्डले २० चैत्र ०७४ मा शाहीको जन्म मितिमा एकरूपता कायम गर्ने राय दिएको थियो । 

थापा नेतृत्वको बोर्डको राय अनुसार तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीले शाहीको जन्म मितिमा एकरूपता कायम निर्देशन दिए । यसपछि ६ जेठ ०७५ मा शैक्षिक प्रमाणपत्र, नागरिकता र चारित्रिक प्रमाणपत्र अनुसार शाहीको जन्म मिति ०२३ पुस २२ गतेको एकरूपता कायम गरिएको थियो । यसपछि तत्कालीन सैनिक सचिव विभागले तत्कालीन रक्षा मन्त्री ईश्वर पोखरेललाई १५ जेठ ०७५ मा नै पत्राचार गरी जानकारी गराएको थियो । तर, तत्कालीन रक्षा मन्त्री पोखरेलले शाहीको नागरिकता, एसएलसीको ‘ट्रान्सक्रिप्ट’, बुढानीलकण्ठ स्कुलले सच्याएर पठाएको जन्म मिति सबैलाई अस्वीकार गरिदिएर शाहीको जन्म मिति २०२२ साल पुस २० गतेलाई कायम गर्नु भनी मन्त्री स्तरीय निर्णय गरेर सैनिक मुख्यालयलाई पत्राचार गराएका थिए । शाहीको कक्षा आठदेखि स्नातकसम्मका शैक्षिक प्रमाणपत्र, नागरिकतामा जन्म मिति २०२३ साल पुस २२ गते छ ।

बुढानीलकण्ठ स्कुलले समेत वर्षौँपछि आफ्नो गल्ती स्वीकार गरेर शाहीको उमेर ०२३ साल पुस २२ गते नै कायम गरेको छ । जुन सच्याई पत्रमा तत्कालीन प्रधानाध्यापक केशर खुलालले हस्ताक्षर गरेका छन् । तर यही आएर पोखरेलले नियतवश शाहीको करिअरमा असर पार्ने गरी कलम चलाएका थिए । उपल्लो तहबाट भएको निर्णयले पीडित भएपछि आम नागरिककै रूपमा अदालतको ढोका ढकढक्याउन गएको शाहीले हाम्राकुरासँग बताए । अदालतमा विचाराधीन यस विषयमा पोखरेलको राय बुझ्न खोज्दा उनी सम्पर्कमा आएनन्। रथीमा बढुवा भएपछि ८ पुस ०७७ मा शाही सर्वोच्च अदालत गुहार्न गएका थिए। उनले रक्षा मन्त्रालय, रक्षा मन्त्री तथा रक्षा निर्देशन समिति अध्यक्ष, रक्षा निर्देशन समिति, रक्षा मन्त्रालयको कर्मचारी प्रशासन शाखा र सैनिक मुख्यालय जंगीअड्डा भद्रकालीलाई विपक्षी बनाएर मुद्दा दायर गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ