arrow

एमालेका राष्ट्रपतिका उम्मेदवार

जित्दा ईश्वर, सत्तालोभमा माधव, हार्ने अवस्थामा सुवासलाई उम्मेदवार बनाए ओलीले

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २१ आइतबार
madhav-ishwor-subash.jpg

काठमाडौं । मंसिर ४ को निर्वाचनपछि नयाँ सरकार गठन हुँदा पुस १० मै राष्ट्रपति एमालेको भागमा परेको थियो । एमालेलाई राष्ट्रपति दिन तयार भएर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका थिए । 

पात्रको विषयमा छलफल नभए पनि एमालेले जसलाई पठायो उही पात्र हुने सामान्य नियमलाई पालाना गर्ने त्यतिबेला बनेको गठबन्धन भित्रको सहमति थियो । तर प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले एमालेको राष्ट्रपति पात्रचाहिँ माओवादीले छान्नुपर्ने अघोषित प्रस्ताव गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेकै नेता एमालेभित्र प्रचण्डको दाबी भन्ने ‘इगो’बाट एमालेभित्रका धेरै नेताहरुलाई राष्ट्रपतिको पात्रको रुपमा चर्चा थालियो । 

फागुन २५ मा तोकिएको नयाँ राष्ट्रपतिको निर्वाचनका लागि फागुन १३ गते शनिबार उम्मेदवारको मनोनयन दर्ताको कार्यतालिका समयसम्म एमालेभित्र कसले उम्मेदवारी पाउँदै छ भन्ने जानकारीसमेत बाहिर छनक दिइएको थिएन । 

नेपाली कांग्रेसबाट रामचन्द्र पौडेल उम्मेदवार बन्ने लगभग तय नै थियो । तर १३ गते बिहानसम्म पनि एमालेबाट राष्ट्रपतिको उम्मेदवार को बन्छ भन्ने कुनै संकेत थिएन । 

एमालेभित्रबाट धेरै नेताहरुले आकांक्षा पनि राखेका थिए । धेरैले त ओली र प्रचण्डसँग लविङ गरेको खबरसमेत बाहिरिएको थियो । शुरुमै सुवासचन्द्र नेम्वाङको नामबारे चर्चा नभएको पनि होइन । नेम्वाङले आफू निकटका नेता र सञ्चारकर्मीहरुसँग सहयोगको अपेक्षा पनि गरेका थिए । तर उनको उम्मेदवारी नै समय घर्केपछि पर्यो । 

जतिबेला राष्ट्रपतिको उम्मेदवार तय गर्न १३ गते बिहान एमालेको केन्द्रीय सचिवालय बैठक शुरु हुँदासम्म पनि ओली बाहेक अरु कोही नामबारे जानकार थिएनन् । अध्यक्ष  ओलीले गुरु बराल, ईश्वर पोखरेल, डोरमणि पौडेललगायत नेताहरूको नाम लिइरहेका थिए । 

प्रचण्ड भड्किएर कांग्रेसको पोल्टामा पुगिसक्दा पनि उनले सुवास नेम्वाङको नाम लिएका थिएनन् । अन्तिमम समयमा एमालेबाटै विभाजित भएर नयाँ दल खोलेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति बनाउन कस्सिए । 

माधव नेपालसँग चार–चार घण्टा कुराकानी गर्ने र त्यसपछि प्रचण्डलाईसमेत माधव नेपालको नाममा सहमति गराउन कस्सिए । तर अन्तिम समयमा नेपालले पनि नमानेपछि ओलीका लागि अन्य कुनै विकल्प भएन ।

त्यसपछि मात्रै एमालेभित्र सुवास नेम्वाङलाई अघि सारेका थिए । गठबन्धन कायमै रहे आफूले अघि सारेकै उम्मेदवार निर्वाचित हुने बुझेका ओलीले पटकपटक बराल, पोखरेल र पौडेलका नाममा सहमति जुटाउने प्रयास गरेका थिए । 

अझ ईश्वर पोखरेलको नाममा त धेरै पटक कुराकानी भैसकेको एमाले नेताहरुको दाबी छ । ‘महासचिव शंकर पोखरेल नै सुवास नेम्वाङको नाममा असहमत भई ईश्वर पोखरेललाई बोकेर हिँडेका थिए’, एमालेका एक पदाधिकारीले भने । 

उनका अनुसार महासचिव पोखरेलले यसअघि पृथ्वी सुब्बा गुरुङलाई सभामुख हुन नदिएझैँ राष्ट्रपतिमा सुवास नेम्वाङलाई पनि हुन नदिने गरी अघि बढेका थिए ।

 ‘दशौं महाधिवेशनमा हालका महासचिव शंकर पोखरेललाई सहयोग नगरेको रीस अहिले राष्ट्रपतिको निर्वाचनमा पोखेको देखियो, बेलैमा सुवास नेम्वाङ राष्ट्रपतिको उम्मेदवार भनेर लबिङ गरिएको थियो भने गठबन्धन भत्किने अवस्था पनि आउँदैनथ्यो’, एमालेका ती पदाधिकरीको दाबी छ । 

ती पदाधिकारीका अनुसार जब प्रधानमन्त्री प्रचण्डले एमालेभित्र पात्र छान्न शुरु गरे त्यसपछि ओलीमा त्यसो हुन नदिने अठोट बढ्दै गयो र पाएको राष्ट्रपति फुत्किएको हो । 

प्रचण्डले पात्र छान्न थालेपछि ओलीले पनि नेपालसँग सहकार्यका लागि हात बढाएका थिए । १० सिट रहेको नेपालसँग सहकार्य वा पार्टी एकता गर्दा एमाले ठूलो दल हुने संभावना रहेको थियो । 

त्यहीअनुसार सहकार्यको हात र साथ मागेका थिए । ओलीले नेपालसँग भेटेरै, अनि दोस्रो तहका नेताहरूमार्फत पनि कुरा अगाडि बढाएका थिए । तर शुरुदेखि ओलीको चाहनामा रहेका नाममा सहमति जुट्न नसक्ने अडान राख्दै आएका प्रचण्डले नेपालका नाममा पनि ओलीलाई ‘ग्रीन सिग्नल’ दिएनन् । 

बरु उनी कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा सघाउने मनस्थितिमा पुगेर कांग्रेससँग सहकार्य पुगिसकेका थिए । त्यही सुइँको पाएका ओलीले अन्तिम समयसम्म पनि माधव नेपाललाई राष्ट्रपति हुन प्रस्ताव गरिरहेका थिए । 

अन्ततः यो प्रयास असफल भएपछि ओलीले पार नलाग्ने अवस्थामा औपचारिकता निभाउन उम्मेदवार उठाउँदामात्रै नेम्वाङलाई अघि सारेको स्रोतको दाबी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ