arrow

कर्णालीको सदन आइतवार पनि चलेन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १३ आइतबार
karnali-prade.jpg

कर्णाली । कर्णाली प्रदेश सरकारले असार १ गते आगामी वर्ष २०७८-७९ को बजेट सार्वजनिक गरे यता बजेटमाथि छलफल हुने वातावरण बनेको छैन । तीन पटक बैठक स्थगित भयो ।

 यही असार ११ गते बाह्रौं बैठक बस्यो तर प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सदन अवरुद्ध गरेपछि स्थगित भयो । यो क्रम निरन्तर चलिरहेको छ ।

आइतवार पनि एमालेले सदन अवरोध गरेपछि बैठक स्थगित भएको छ । सभामुख राजबहादुर शाहीले बैठक शुरु गर्ने बित्तिकै प्रमुख प्रतिपक्ष दल एमाले प्रदेशसभा दलका नेता यामलाल कँडेलले सरकार र सदनमा आफ्ना कुरा सुनुवाई नभएको टिप्पणी गरे । एउटै पार्टी प्रतिपक्ष र सत्तापक्ष हुने गरी चलाउन खोजिएको बैठक संसदीय अभ्यास विपरीत भएको उनले तर्क गरे ।
 
नेता कँडेलले भने, “एमाले कर्णाली प्रदेशसभा दलको सदस्यको हैसियतमा सर्वोच्च अदालतले जेठ २७ गते पुनर्बहाली गरेका प्रकाश ज्वाला, नन्दसिंह बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाही दलीय अनुशासनअनुसार चलेको अवस्था छैन । यसअघि सभामुख शाहीले चारै जनलाई एमाले प्रदेशसभा दलको सदस्यको हैसियत कायम रहेको पत्र पढेर जानकारी गराउनुभएको थियो ।”

“एमाले प्रतिपक्ष र सत्तापक्ष हुने के यो प्रदेशसभाको आशन व्यवस्था त्यस्तो छ ?”, सभामुखलाई प्रश्न गर्दै उनले भने, “सर्वोच्च अदालतले गरेको निर्णय त्यस्तै हो ? सर्वोच्चको निर्णयलाई सम्मान गर्दा पनि पुनर्बहाली भएका प्रदेशसभा सदस्यले त्यो बाटो अँगाल्नुभएको छैन ।” सभामुखको रुलिङसहित भएका निर्णय कार्यान्वयन र  प्रदेशसभामा दल अनुसार आसन व्यवस्था नभएको जनाउँदै उनले संविधान धारा १६८ को उपधारा २ बमोजिम सरकारले चल्नुपर्ने बताए ।
 
संविधानको संरचनाअनुसार काम गर्न आग्रह गर्नुभएका उनले सर्वोच्च, सभामुख र संविधान विपरीत काम त्यसलाई समर्थन, सहयोग र स्वीकार्न नसकिने र बैठकको कारवाही अगाडि बढ्न नदिने धारणा व्यक्त गरेलगत्तै एमालेका प्रदेशसभा सदस्यले सदन अवरोध गरेका थिए । सदन अवरोधका कारण सभामुख शाहीले असार १८ गते शुक्रबार दिउँसो २ बजेसम्मका लागि बैठक स्थगित गरिएको जानकारी गराए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ