arrow

स्वास्थ्य मन्त्रीको दबाबमा अस्पतालबाट खोसिने भयो खोप लगाउने कार्यक्रम

कार्यकर्ताको खोपमा पहुँच पुर्‍याउन वडा कार्यालयमा पठाउने तयारी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १५ मंगलबार
Vaccine-Covid-Corona-Nepal_1618133095.jpg

काठमाडौं । कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो डोज असार २२ गतेबाट लगाइँदै छ । अस्पतालबाट लगाइँदै आएको खोप यो पटक स्वास्थ्य मन्त्री कृष्णगोपाल श्रेष्ठको दबाबमा कार्यकर्ताको पहुँच बढाउन वडा कार्यालयमा पठाउने तयारी भएको छ। यसअघि खोप लगाउने कार्यमा राजनीतिकरणसँगै दुरुपयोग भएको भएपछि अस्पताल एवं स्वास्थ्य संस्थामा खोप लगाइएको थियो । यद्यपि यस पटक अर्थात् २२ गते भने अस्पतालबाट नभई फेरि स्थानीय तह अर्थात् वडा कार्यालयहरूबाट खोप लगाउने तयारी भइरहेको छ ।

यसअघि स्थानीय तह अर्थात् वडा कार्यालयहरूमा खोप कार्यक्रम गरिँदा जोखिम पूर्ण उमेर समूहकाहरूले खोप पाउन सकेका थिएनन् । नेता एवं कार्यकर्ताहरूले आफू र आफ्ना आफन्तलाई मात्र खोप लगाउन थालेपछि वृद्ध उमेर समूहलाई खोप लगाउन नै मुस्किल भएको थियो । यति मात्रै हैन, स्थानीय तहमा खोप लगाउने विषयमा विवाद हुँदा झडप समेत भएको थियो। यसै कारण सरकारले अस्पतालमा मात्रै खोप लगाउन बाध्य भएको थियो । 

अस्पतालमा खोप कार्यक्रम गर्दा स्वास्थ्य अधिकारी एवं जनस्वास्थ्य अधिकारीले उमेर खुल्ने परिचयपत्र लिएर आएकालाई मात्रै खोप लगाउने हुँदा लक्षित समूहले सहजै खोप पाउन सजिलो भएको थियो । तर, अहिले खास गरी आफ्ना नेता कार्यकर्ताहरूलाई खोपमा पहुँच पुर्‍याउन स्वास्थ्य मन्त्री श्रेष्ठ नै लागि परेको खुल्न आएको छ । 

यसका लागि स्वास्थ्य मन्त्री कृष्ण गोपाल श्रेष्ठले नै काठमाडौँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कालीप्रसाद पराजुलीलाई दबाब दिएको खुल्न आएको छ । स्रोतका अनुसार एमालेबाट निर्वाचित काठमाडौंका विभिन्न वडा अध्यक्ष र कतिपय नगरका मेयरको दबाबमा स्वास्थ्य मन्त्रीले प्रमुख जिल्ला अधिकारीमाथि दबाब दिइएको हो । मन्त्रीबाटै दबाब एवं निर्देशन आएपछि प्रमुख जिल्ला अधिकारी पनि रनभुल्लमा परेका छन् ।

सत्तारुढ एमालेका नेता एवं कार्यकर्ताहरूको खोपमा पहुँच बढाउन वडामा पठाउन लागिए पनि यसले यसअघिको अवस्था झैं वृद्ध-वृद्धा एवं जोखिमपूर्ण समूहका नागरिकहरू खोप पाउनबाट वञ्चित हुने स्पष्ट देखिन्छ ।

कोरोना भाइरसको नयाँ नयाँ भेरिअन्ट आउँदै गर्दा झनै घातक हुँदै गइरहेको छ । यस्तो अवस्थामा हरेक मानिस खोपका लागि लालायित छ।यस्तै मौकामा खास गरी नेकपा एमालेका नेता, कार्यकर्ता र स्वास्थ्य मन्त्री नै खोपमा आफ्नो दबदबा बनाउन लागि परेको देखिएको हो । 

वडामा फेरि खोप पठाउने मिसन सफल भएमा खोप सर्वसाधारण अथवा लक्षित वर्गले नपाउने अवस्था बढ्दै जाने देखिन्छ । अर्कोतिर कोरोनाको तेस्रो लहर आएमा जोखिमपूर्ण उमेर समूहका थुप्रै नागरिकहरूले ज्यान गुमाउने अवस्था समेत देखा पर्न सक्छ ।

यसरी आम सर्वसाधारणको ज्यानमाथि नै खेलबाड हुने गरी मन्त्रीस्तरबाटै खोपमा आफ्नो पहुँच पुर्‍याउने उद्देश्यलाई निरुत्साहित पार्न सकेमा मात्रै सयौं वृद्धवृद्धाहरूको ज्यान जोगाउन सकिन्छ।

स्वास्थ्य मन्त्रालयका अनुसार  नेपालमा हालसम्म २५ लाख ८७ हजार ८ सय ७३ जनाले कोरोना भाइरसको पहिलो डोज खोप र ७ लाख ५२ हजार १ सय १० जनाले दुवै डोज लगाइसकेका छन् ।

हाल सरकारसँग चीन सरकारले अनुदान स्वरूप दिएको भेरोसेल खोप उपलब्ध रहेको छ । पहिलो मात्रा पाइसकेकाहरूलाई काठमाडौंमा असार २१ गतेदेखि दोस्रो मात्रा दिइँदै छ ।

यद्यपि, दोस्रो मात्रा दिने खोप कार्यक्रम स्थानीय तहमा भयो भने, कयौंले सोही कार्यक्रममा पहिलो मात्रा समेत लाउने देखिन्छ । जुन यसअघि एक पटक भइसकेको हो । 

यसै कारण सरकारले अस्पताल र स्वास्थ्य संस्थाहरूमा नै खोप कार्यक्रम गर्न पहल गर्नुपर्ने सरकारभित्र र बाहिरका स्वास्थ्य अधिकारीहरूको भनाइ छ । सर्वसाधारण एवं अन्य सबैले स्थानीय तहमा खुला ठाउँमा हुने खोप कार्यक्रम भन्दा अस्पताल एवं स्वास्थ्य संस्थामै हुने खोप कार्यक्रम रुचाउने देखिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ