arrow

खोपमा सत्ताधारी दलका नेता कार्यकर्ताको हालीमुहाली, जिल्ला पुगेका खोप पनि काठमाडौं ल्याएर लगाइँदै

logo
हाम्राकुरा संवाददाता
प्रकाशित २०७८ असार १५ मंगलबार
corona-vaccine-covid.jpg

काठमाडौं । कोरोना भाइरसविरुद्धको एक मात्रै ओखतीका रूपमा रहेको खोप पूर्ण रुपमा सत्ताधारी दल नेकपाका नेता एवं कार्यकर्ताको स्वामित्वमा रहेको पाइएको छ । यहाँसम्मकी स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभागका अधिकारीहरू मिलेर जिल्ला जिल्लामा पुर्‍याइएका खोप समेत काठमाडौं मै फिर्ता ल्याएर लगाएको पाइएको हो ।

विभाग स्रोतका अनुसार ७७ जिल्लामध्ये ७२ जिल्लाबाट कोभिसिल्ड खोपका कैयन डोज काठमाडौं नै फिर्ता ल्याएर आफू निकटका व्यक्ती र नेकपाका नेता तथा कार्यकर्तालाई लगाउने क्रम जारी रहेको छ।

यसरी काठमाडौं भित्र्याइएका खोप स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखामा जम्मा गरिएको पाइएको छ । यसपछि ती खोप स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंह, स्वास्थ्य सचिव लक्ष्मण अर्याल, स्वास्थ्य मन्त्री कृष्णगोपाल श्रेष्ठ र पूर्व स्वास्थ्य मन्त्री शेर बहादुर तामाङको आदेशमा सोझै व्यक्ति र नेकपाका विभिन्न समूहका नाममा निकासा समेत भइरहेको खुल्न आएको छ ।

खास गरी सत्ताधारी पार्टी नेकपा एमालेका नेता एवं कार्यकर्तालाई खोप लगाउनमा स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलाल सबैभन्दा बढी सक्रिय रहेका छन् । स्रोतका अनुसार ललितपुर स्वास्थ्य कार्यालयका प्रमुख डा. गेलालमार्फत सत्ताधारी पार्टीका नेता र कार्यकर्ताहरूलाई खोप लगाएको छ ।

यो सबका पछाडि एमाले नेता कार्यकर्ताहरू र युवा सङ्घ नेपाल सक्रिय रहेको विभाग स्रोतको दाबी छ । 

नेता कार्यकर्ताको दबाब र लालचमा परेर एमालेका प्रभावशाली नेता कार्यकर्ताको घरघरमा खोप उपलब्ध गराउनेमा विभागका डा. तारा पोखरेल र डा. भीमसेन तिंकरी रहेको स्रोतको भनाइ छ । डा. पोखरेल र डा. भीमसेनहरूको जिम्मेवारी र खोपको वितरण रेकर्डका बारेमा छानबिन र अनुसन्धान गरेमा सबै कुरा छर्लङ्ग हुने विभागका एक अधिकारीको भनाइ छ ।

यसबाहेक भारतीय बजारबाट समेत कोभिशिल्ड खोप नेता एवं व्यापारीहरूकै मिलेमतोमा काठमाडौं ल्याएर ५ हजार रुपैयाँ भन्दा बढीमा बिक्री भइरहेको समेत स्रोतको दाबी छ । यो विषयमा समेत सरकारका नियामक र कारबाही गर्ने निकाय अनजान बनेर बसेका छन्। 

उसो त स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभागबाटै खोपमा मपाइत्व भइरहेका बेला यी नै निकायले खोपको कालोबजारी रोक्न सक्छ भनेर आस गर्न भने नसकिने स्वास्थ्य मन्त्रालयकै कतिपय अधिकारीहरू स्विकार्छन् । 

यसरी खोपमा व्यापक हिनामिना भइरहेका बेला दीर्घ रोग लागेका बिरामीहरू, शहर एवं दूर दराजका ज्येष्ठ नागरिकहरू भने खोपबाट वञ्चित छन् । अर्कोतर्फ सरकारले झण्डै साढे १३ लाख ज्येष्ठ नागरिकहरूलाई पहिलो डोज खोप लगाएर दोस्रो डोजको व्यवस्था गर्न सकेको छैन । 

यति धेरै ज्येष्ठ नागरिक खोपबाट वञ्चित हुनुको पछाडिको कारण पनि सरकारकै ढाकछोपमा रहेका बिचौलियाहरू नै रहेको जानकारहरू बताउँछन् । यसरी सर्वसाधारण नागरिकहरूको स्वास्थ्य माथि गम्भीर खेलबाड भइरहेका बेला सरकार भने कानमा तेल हालेर बसिरहेको छ ।



नयाँ