- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। नेपाली कांग्रेस यतिबेला आफ्नो १४ औं महाधिवेशनको तयारीमा छ। एक साता अघि कांग्रेस केन्द्रीय समिति बैठकले पार्टीको वडा तहदेखि केन्द्रीय तहसम्मको महाधिवेशनको कार्य तालिका अनुमोदन गरि प्रक्रिया अघि बढाइसकेको छ। सबैभन्दा तल्लो संरचना वडा तहदेखि केन्द्रीय महाधिवेशनसम्मको संशोधित कार्यतालिका अनुमोदन गरेसँगै चुनावी माहोल क्रमशः तात्दै गएको छ।
केन्द्रीय महाधिवेशन भदौ १६ देखि १९ सम्म हुने निश्चित भएसँगै पार्टीको गाउँ र नगर वडा स्तरमा चुनावी चहलपहल शुरु भइसकेको छ। साउन १२ गते हुने गाउँ र नगर वडा अधिवेशनका लागि तयारी शुरु भइसकेको छ। कांग्रेसको इतिहासमा विल्कुलै भिन्न प्रक्रिया र संरचना अनुसार हुन लागेको यस पटकको चुनावी प्रक्रियामार्फत नेतृत्व चयन हुँदैछन्।
कांग्रेसकै नेतृत्वमा निर्माण भएको बहुलवादमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानमा व्यवस्था भएको समानुपातिक समावेशी सिद्धान्तका आधारमा पार्टीको संशोधित विधान अनुसार पहिलो पटक संघीय संरचना अनुसार चुनाव हुन लागेको हो। विधानत ‘स्थानीय तह’ भनिएको गाउँ नगर अधिवेशनमा विधानको धार ४(१) बमोजिम छनोट भएका क्रियाशील सदस्यहरुले तल्लो तहदेखिको नेतृत्व चयन गर्दैछन्।
पार्टीको जग तथा तहगत संरचना निर्माणको मुख्य आधार मानिने क्रियाशील सदस्य कांग्रेस नेतृत्व चयनको महत्वपूर्ण हिस्सेदार मानिन्छन्। तल्लोदेखि माथिल्लो नेतृत्व चयनमा क्रियाशील सदस्यको गहन जिम्मेवारी हुने गर्छ। क्रियाशील सदस्य नरहेको व्यक्ति टोल कार्यसमिति बाहेक अन्य कुनै तहमा सदस्य हुन नसक्ने व्यवस्था विधानमा छ। साथै पालिकास्तरको वडा अधिवेशन नै क्रियाशील सदस्यबाट मात्र हुने व्यवस्था छ।
नयाँ विधान अनुसार वडाको कार्यसमिति छनोटमा क्रियाशील सदस्य संख्याको आधारमा कार्यसमितिको कुल संख्या निर्धारण हुने व्यवस्था छ। जसमा प्रत्यक्ष र समानुपातिक समावेशीका आधारमा प्रतिनिधि पनि छनोट गरिनेछ। मुलुकको नयाँ संघीय संरचना अर्थात राज्यको पुनःसंरचना अनुसार पार्टीको संरचना निर्माण हुने भएकाले कांग्रेसले पहिलो पटक नयाँ अभ्यास गर्दैछ। यसकारण क्रियाशील सदस्यबाट चयन भएर आउने केन्द्रीय महाधिवेशन प्रतिनिधिले केन्द्रीय कार्यसमितिको चयन गर्दैछन्।
कांग्रेसको नयाँ विधान मस्यौदा समितिका सदस्य समेत रहेका केन्द्रीय सदस्य प्रदिप पौडेल क्रियाशील सदस्य पार्टीको मेरुदण्ड भएकाले उनीहरुको भूमिका महाधिवेशनका लागि महत्वपूर्ण हुने बताउँछन्। उनी भन्छन्, ‘नयाँ विधान बढी समावेशी, लोकतान्त्रिक, धेरै प्रतिनिधिमूलक भएपनि कार्यान्वयन गर्न चुनौतीपूर्ण छ। यदि कार्यान्वयन गर्न सकियो भने धेरै व्यवहारिक र उत्कृष्ट हुनेछ।’ विधानले तल्लो तहससम्मलाई क्रियाशील र उत्तरदायी बनाउने प्रयास भएको केन्द्रीय सदस्य पौडेलको भनाइ छ।
आठ तहको समावेशी संरचना
कांग्रेसको नयाँ विधानले विभिन्न ८ तहको परिकल्पना गर्दै कार्यसमितिका रुपमा टोल, वडा, स्थानीय तह (गाउँ/ नगर), प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश हुँदै केन्द्रसम्मको कार्यसमिति चयन गर्नुपर्ने व्यवस्था छ। नेपालको संविधानलाई नै आधार मान्दै कांग्रेसले समानुपातिक समावेशी सिद्धान्तका आधारमा महिला, दलित, आदिवासी जनजाति, खसआर्य, मधेसी, थारु, मुस्लिम, पिछडिएको क्षेत्रबाट समानुपातिक समावेशी आधारमा कार्य समितिदेखि केन्द्रीय पदाधिकारीसम्म निर्वाचित गर्दैछ।
नयाँ विधानले महिला र अन्य समूदायलाई पनि प्राथमिकता दिंदै कार्यसमितिमा एक तिहाइ सदस्य महिला हुनुपर्ने अनिवार्य व्यवस्था गरेको छ। हरेक तहमा कुनै पनि लिङ्ग, वर्ग, भूगोल र समुदायको प्रतिनिधित्व अनिवार्य समेट्नुपर्ने विधानको व्यवस्था छ। समावेशी सिद्धान्तका आधारमा कार्यसमितिको कुल संख्याको २० प्रतिशत सदस्य मनोनित गर्न सक्ने व्यवस्था गरिएको छ।
क्षेत्रीय प्रतिनिधित्वका दृष्टिले १५० वा सो भन्दा कम क्रियाशील सदस्य भएको वडामा गाउँ, नगर वडा अधिवेशनले क्रियाशील सदस्यमध्येबाट प्रदेश सभा निर्वाचन क्षेत्रीय अधिवेशनका लागि कम्तीमा ३ जना महिलासहित ९ जना प्रतिनिधि प्रत्यक्ष निर्वाचित गर्नेछ। त्यस्तै १ सय ५० भन्दा बढी क्रियाशील सदस्य भएको वडामा बढीमा ७५ को सीमाभित्र रही प्रति १ सय थप क्रियाशील सदस्यमा २ महिलासहित ६ जना थप प्रतिनिधि प्रत्यक्ष निर्वाचित गर्नुपर्ने व्यवस्था गरिएको छ।
महिला, दलित, आदिवासी जनजाति, खसआर्य, मधेशी, थारु, मुस्लिम, पिछडिएको क्षेत्रबाट प्रत्यक्ष निर्वाचित हुने सदस्य संख्याको २ तिहाई संख्यामा जनसंख्याको बनोटअनुसार समानुपातिक आधारमा प्रतिनिधित्व गर्नुपर्ने व्यवस्था गरेको छ।
अल्पसंख्यक तथा अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्वका लागि विधानले स्पष्ट व्यवस्था गरेको छ। जसमध्ये गाउँ, नगर अधिवेशनले अपाङ्गता भएका क्रियाशील सदस्यमध्येबाट १ महिला सहित २ जना प्रदेश सभा क्षेत्रीय अधिवेशन प्रतिनिधिको निर्वाचन गर्नुपर्ने अनिवार्य व्यवस्था छ। तल्लो तहको क्लस्टरमा अल्पसंख्यक र अपाङ्गता भएकाहरुका हकमा विधानले स्पष्ट पारेको छैन्।
त्यस्तै विधान अनुसार प्रदेश सभा क्षेत्रीय अधिवेशनले प्रदेश अधिवेशन प्रतिनिधिको निर्वाचन गर्नेछ। प्रदेश सभा क्षेत्रीय अधिवेशनले आफूमध्येबाट कम्तिमा ३ महिलासहित १० जना प्रत्यक्ष र महिला, दलित, आदिवासी जनजाती, खसआर्य, मधेसी, थारु, मुस्लिम, पिछडिएको क्षेत्रबाट छ जना प्रदेश सभा क्षेत्रको जनसंख्याको बनोट अनुसार समानुपातिक आधारमा १६ जना प्रतिनिधि निर्वाचित गर्नेछ ।
यसैगरी केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनले आफूमध्येबाट कम्तीमा ४ महिलासहित १४ जना प्रत्यक्ष र महिला, दलित, आदिवासी जनजाति, खसआर्य, मधेशी, थारु, मुस्लिम, पिछडिएको क्षेत्रबाट १० जना प्रतिनिधि समानुपातिक आधारमा प्रतिनिधिसभा क्षेत्रको जनसंख्याको बनोट अनुसार निर्वाचित गर्नेछ।
प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनले केन्द्रीय महाधिवेशन प्रतिनिधिमध्येबाट २ महिलासहित ७ जना प्रत्यक्ष र महिला, दलित, आदिवासी जनजाति, खसआर्य, मधेशी, थारु, मुस्लिम, पिछडिएको क्षेत्रबाट ४ जना प्रतिनिधि सभा क्षेत्रको जनसंख्याको बनोट अनुसार समानुपातिक आधारमा केन्द्रीय महासमिति सदस्य निर्वाचित गर्नेछ। यसका अतिरिक्त विभिन्न भातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित जनसम्पर्क समितिहरुबाट समेत तोकिएबमोजिम महाधिवेशन र महासमिति सदस्य आउन सक्ने व्यवस्था गरिएको छ।
नेपाली कांग्रेस महाधिवेशन निर्वाचन समितिका सदस्य अधिवक्ता सिताराम केसीका अनुसार कांग्रेसको विधान राज्यको पुनःसंरचना अनुसार तयार भएकाले यसको प्रतिनिधि चयनमा केही द्वविधा उत्पन्न गराउन सक्ने भएपनि निर्देशिकाले यसको समाधान खोज्नेछ। उनी भन्छन्, ‘कार्यसमिति क्रियाशील सदस्यहरुबाट प्रत्यक्ष चयन गर्नेछ। वडाबाट चयन भएर आएका प्रतिनिधिले प्रदेश सभा ‘क’ वा ‘ख’ बेग्लाबेग्लै चयन गर्ने र त्यो जोडेर प्रतिनिधि सभा क्षेत्रमा आएर महाधिवेशन लागि प्रतिनिधि चयन गर्नेछन्।’
प्रतिनिधि चयन प्रक्रिया
-कुल १ सय ५० क्रियाशील सदस्य रहेको वडामा प्रत्यक्षतर्फबाट तीन महिलासहित नौं जना र समानुपातिक समावेशीतर्फबाट ६ जना र एक सभापतिसहित कुल १६ जना प्रतिनिधि चयन हुनेछन् । जसमा थप प्रत्येक सय क्रियाशील सदस्य बराबर ७५ को सीमामा रही समावेशी आधारमा थप १० प्रतिनिधि क्रमशः चयन हुनेछन् ।
-प्रदेशसभा क्षेत्रभित्रका गाउँरनगर, उपमहानगर र महानगरका कार्यसमितिका सभापति स्वत प्रतिनिधि हुनेछन् ।
-उक्त क्षेत्रमा रहेका पार्टी केन्द्रीय समितिमा रहेका बर्तमान एवम पूर्व पदाधिकारी तथा सदस्यहरु, जिल्ला सभापति, क्षेत्रीय सभापति, संघीय संसदका सदस्य तथा उम्मेदवार, प्रदेश सभाका सांसद, सांसदका उम्मेदवार एक अवधिका लागि क्षेत्रीय अधिवेशनका सदस्य हुन्छन् । तर निर्वाचनमा सहभागी भएको हकमा निर्वाचन परिणाम अनुसार हुनेछन् ।
-प्रदेश सभा क्षेत्रीय अधिवेशनबाट प्रदेश अधिवेशन प्रतिनिधिको निर्वाचन हुनेछ ।
-प्रदेश सभा क्षेत्रीय अधिवेशनले आफूमध्येबाट कम्तिमा तीन महिलासहित दश जना प्रत्यक्ष र महिला, दलित, आदिवासी जनजाती, खसआर्य, मधेशी, थारु, मुस्लिम, पिछडिएको क्षेत्रबाट ६ जना प्रदेश सभा क्षेत्रको जनसंख्याको बनोट अनुसार समानुपातिकको आधारमा गरि जम्मा १६ जना प्रतिनिधि निर्वाचित गर्नेछ ।
-प्रदेश सभा निर्वाचन क्षेत्रका क्षेत्रीय सभापति पदेन प्रदेश अधिवेशन प्रतिनिधि हुनेछन् ।
-त्यस्तै प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि छनोट हुनेछन् । जसमा केन्द्रीय महाधिवेशन प्रतिनिधि प्रदेश अधिवेशनको पनि प्रतिनिधि हुनेछन् ।
-केन्द्रीय महाधिवेशन प्रतिनिधि चयनका लागि प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनले आफूमध्येबाट कम्तिमा चार महिलासहित चौध जना प्रत्यक्ष र महिला, दलित, आदिवासी जनजाती, खसआर्य, मधेशी, थारु, मुस्लिम, पिछडिएको क्षेत्रबाट दश जना प्रतिनिधि समानुपातिक आधारमा प्रतिनिधि सभा क्षेत्रको जनसंख्या बनोट अनुसार निर्वाचित गर्नेछ । तर केन्द्रीय महाधिवेशन प्रतिनिधि हुनका लागि क्रियाशील सदस्यता प्राप्त गरेको चार बर्ष हुनुपर्नेछ ।
-प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिको सभापति पदेन महाधिवेशन प्रतिनिधि हुनेछन् ।
-तर प्रदेश अधिवेशन प्रतिनिधि केन्द्रीय महाधिवेशन प्रतिनिधि पदको उम्मेदवार भएमा नीजको प्रदेश अधिवेशन प्रतिनिधि स्वत समाप्त हुनेछ ।
जम्बो केन्द्रीय समिति
कांग्रेसको यस पटकको केन्द्रीय समिति अघिल्लो भन्दा दोब्बर ठूलो समिति बन्नेछ। १६९ सदस्यीय हुने समितिमा १ सय ३६ जनाको निर्वाचन हुनेछ भने ३३ जना मनोनीत हुनेछन्। अघिल्लो समिति ८५ सदस्यीय थियो र ६४ सदस्यको निर्वाचन हुँदै आएको थियो।