- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
जनकपुरधाम । प्रदेशसभा बैठक प्रदेश नम्बर २ को नेकपा एमाले र माओवादी केन्द्रका प्रदेशसभा सदस्यहरुले अवरुद्ध गरेका छन् ।
आर्थिक वर्ष २०७८/७९ को बजेट मन्त्रीमुखी भएको भन्दै एमाले र माओवादी केन्द्रका प्रदेशसभा सदस्यहरुले बैठक अवरुद्ध पारेका हुन् ।
आइतबार बैठक शुरु भएलगत्तै नेकपा एमालेका प्रदेशसभा सदस्य सुन्दर बहादुर विश्वकर्माले प्रदेश सरकारको बजेट विगतका जिल्ला विकास समितिको जस्तो पनि नभएको टिप्पणी गरेका हुन् ।
यस्तो किसिमको बजेटलाई अगाडी बढाउँदा प्रदेशको समृद्धि हुन नसक्ने दावी गर्दै उनले भने, ‘यो रेडबुक हैन यो ब्ल्याकबुक हो । त्यसैले हामी यो ब्ल्याकबुकलाई मान्दैनौं । र जबसम्म यसमा सुधार हुँदैन तबसम्म हामी सदनलाई अगाडि बढ्न दिदैनौं ।’
आइतबार बसेको छैठौं अधिवेशनको १३ औं बैठकमा बेल्दै प्रदेश सभा सदस्य विश्वकर्माले यो बजेट प्रदेश सरकारको नभई कुनै एउटा नगरपालिका वा निर्वाचन क्षेत्रको बजेट जस्तो लाग्ने गरेको टिप्पणी गरे ।
त्यस्तै, नेकपा माओवादी केन्द्रका सांसद दिलिप साहले पनि यस बजेटले प्रदेशका समग्र जनतालाई समृद्ध बनाउन नसक्ने दावी गरेका हुन् । प्रदेश सांसद साहले भने,‘ प्रदेश सरकारको यस रेडबुकलाई रेडबुक नभई कालोबुक भन्दा हुन्छ । बदनामीको भार बोक्नलाई हामी साक्षी बस्न सक्दैनौं ।’
साहाले प्रश्न गर्दै भने,‘ अर्थमन्त्रीले आफ्नै क्षेत्रमा बजेट केन्द्रित गर्ने ? यति ठुलो षडयन्त्र गर्ने ? मन्त्रीले आफ्नो क्षेत्रमा मनपरी बजेट राख्न पाउँछ र ? कसले अधिकार दियो ? सरकार भन्दैमा जे पनि गर्न पाईने ? छुट छ त्यस्तो ? यो सदनले मलाई लाग्छ त्यस्तो छुट कसैलाई दिएको छैन् ।’
प्रदेशसभा सदस्य साहले बजेटलाई समानूपातिक तथा संतुलित ढंगले विनियोजन गर्न माग गरे । उनले प्रदेशका ६४ वटै निर्वाचन क्षेत्रमा समानूपातिक ढंगले योजना पठाउन समेत प्रदेश सरकारसँग माग गरे।