arrow

पच्चीस कम्युनिष्ट नेताहरु कांग्रेसमा प्रवेश, रामहरि खतिवडा भन्छन्– ‘लोकतान्त्रिक युद्धमा स्वागत छ’

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ३१ बिहिबार
ramhari.jpg

ओखलढुङ्गा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) जिल्ला सचिवालय सदस्य तथा वडाअध्यक्षका प्रत्यासी उम्मेदवार पूर्णबहादुर खड्का (पुजन), पूर्व गाविस उपाध्यक्ष तथा नेपाल कम्युनिष्ट पार्टी जिल्ला सल्लाहकार सदस्य जयप्रसाद सुवेदीसहित लिखु २ र ५ का २५ जना महत्वपूर्ण कम्युनिष्ट नेताहरु पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । 

लिखु गाउँपालिका कार्यसमितिले आयोजना गरेको पार्टी प्रवेश तथा भेटघाट कार्यक्रममा नेपाली कांग्रेसका प्रभावशालली युवा नेता रामहरि खतिवडा, जिल्ला पार्टी सभापति प्रदिपकुमार सुनुवार, उपसभापति तेजेन्द्र खनाल, सचिवद्वय नवराज केसी र रुद्र अधिकारी, नेता अशोक कार्की, अजय लुइटेल, होमबहादुर बिकले नव प्रवेशीलाई पार्टी प्रवेश गराए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेता खतिवडाले नवप्रवेशीहरुलाई भने, ‘नव प्रवेशी साथीहरु तपाईहरु लोकतान्त्रिक युद्ध लड्न आउनु भएको छ मलाई पूर्ण विश्वास छ हामी सधै सँगै मिलेर जित्ने छौं । मलाई पार्टीले पाँच वर्षको लागि विश्वास गरेर टिकट दिएको छ । मलाई दिएको जिम्मेवारीलाई मन, वचन र कर्मले सक्ने कुरामा सधैं न्याय र सत्य पक्षमा लाग्नेछु ।’ 

उनले अगाडि थपे, ‘दुई तिहाईको सरकारको अवस्था हामीले देखियो घर–घरमा पाइपबाट ग्यास, पानीजहाज, रेल जस्ता मिठा सपनाहरु बाँडियो तर कुनै पूरा भएनन् । त्यसैले आज साथीहरुलाई आज यसरी पार्टी परिवर्तन गर्न वाध्य बनाइयो ।’

नेता खतिवडाले भने, ‘नाम वामपन्थी, देवता रामपन्थी र काम दामपन्थी जे काम गर्दा नि खानु नै पर्ने । सही मान्छेलाई उचित पद नदिँदा आज लोकतन्त्र नै खतरामा परेको छ ।वडाको चुनाव हारेकोलाई राष्ट्रिय सभामा ल्याएको छ । मेयरको टिकट पाउनेलाई मन्त्री बनाएको छ । देश यो हालतको भएको छ ।’

उनले अझै थपे, ‘कम्युनिष्ट सरकारको तीन वर्षको पालामा देशलाई अन्धकारमा लाने काम भयो । केपी ओलीलाई प्रधानमन्त्री र विद्यादेवीलाई राष्ट्रपति बाहेक केही काम गरेन । दुई तिहाईको सरकार हुँदा हामीले एक दिन चक्काजाम, बन्द, हड्ताल र ब्रिफकेस खोस्न गएनौँ सधै शालीन प्रतिपक्षको भूमिकामा सहयोग गरी रह्यौं । तर कम्युनिष्टले  धन, बल र छलले शासन गर्दा आज यो गति भयो ।’

नेपाली कांग्रेस पार्टी सभापति प्रदिपकुमार सुनुवारले भने, ‘नयाँ प्रवेशी साथीहरुलाई विश्वास दिलाउन चाहन्छु उचित जिम्मेवारीसँगै हातेमालो गर्दै हामी सँगसँगै सधै असल बाटोमा हिंड्ने छौं । कांग्रेस फुलेको बेला, काउला पलाएको बेला हामी सबै साथीहरु थप बल गरेर देशलाई सही बाटोमा लानु पर्ने भएको छ । तपाईंहरु विश्वस्त रहनुस् तपाईहरुको जिउधनको जिम्मा कांग्रेसले लिन्छ ।’ 

पार्टी परित्याग गर्दै कांग्रेसमा आएका पूर्णबहादुर खड्का (पुजन) ले लोकतन्त्रको रक्षा गर्यो भने अब कांग्रेसले गर्छ भन्ने विश्वासले आफू प्रवेश गरेको बताए । उनले भने, ‘अहिलेको कम्युनिष्ट पार्टीलाई देख्दा म कतै नाङ्गै त छुइन भन्ने अनुभूति हुन्छ । कम्युनिष्टहरु सर्वहारा वर्गको नाम जप्ने अन्तत साम्राज्यवादको डण्डी हल्लाउने प्रवृत्तिले गर्दा कम्युनिष्टसँग दिक्क लागेको छ । म सुदूर पूर्वमा बढी नै काम गरेको हुनाले आजको मेरो प्रवेशले ओखलढुंगाको पूर्वी क्षेत्रमा धेरै खुशी रहेको पाएँ ।’



नयाँ