समिति सभापति खतिवडाले नै मागे छानबिन, भने- संसदमाथि गम्भीर प्रहार [भिडियो]
'यसमा छानबिन गर्नुपर्छ, म आफैँमाथि पनि छ भने छानबिन होस्, यो छानबिन हुनुपर्छ, म दोषी भएँ भने म पनि कारबाहीको दायरामा आउनेछु’
हाम्रा कुरा
प्रकाशित २०८२ असार १७ मंगलबार
1k
Shares
काठमाडौँ। राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले 'कुलिङ पिरियड' सम्बन्धी विधेयकमा भएको शब्दको चलखेलबारे छानबिन हुनुपर्ने माग गरेका छन्। मंगलबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सभामुख देवराज घिमिरेलाई समेत छानबिनका लागि आग्रह गरेको बताए।
सभापति खतिवडाले निजामती कर्मचारी वा अन्य सरकारी सेवाबाट राजीनामा दिएका वा अवकाश प्राप्त कर्मचारीले सेवा अवकाश भएको मितिले दुई वर्ष अवधि पूरा नभएसम्म कुनै संवैधानिक वा सरकारी नियुक्ति नपाउने गरी समितिले निर्णय गरेकोमा जोड दिए। तर, सोहीअनुसार अघि बढेको समयमा त्यसको मुनि एउटा दफा थपेर सदनमा लगिएको पाइएको उनले बताए।
"यो संसदमाथिको गम्भीर र ठूलो प्रहार हो," खतिवडाले भने, "यत्रो ठूलो गल्ती कानुन बनाउने कुरामा कतै हुँदैन। यसमा छानबिन गर्नुपर्छ। म आफैँमाथि पनि छ भने छानबिन होस्। यो छानबिन हुनुपर्छ। म दोषी भएँ भने म पनि कारबाहीको दायरामा आउनेछु।" उनले कानुन र सामान्य प्रशासन मन्त्रालयका पदाधिकारीहरूलाई आजको बैठकमा आमन्त्रण गरे पनि उनीहरू उपस्थित नभएको जानकारी दिए। यस विवादको कारण आजको बैठक स्थगित गरिएको छ।
यो विवाद फागुन २०८० मा सरकारले संसदमा दर्ता गराएको विधेयकबाट सुरु भएको हो। उक्त विधेयकमा ‘संवैधानिक, कूटनीतिक नियुक्ति वा सरकारले गर्ने अन्य कुनै नियुक्तिबाहेकको पदमा नेपाल सरकारको पूर्वस्वीकृति नलिई सेवा निवृत्त भएको मितिले दुई वर्षसम्म काम गर्नु नहुने’ व्यवस्था थियो। यो प्रावधानले संवैधानिक र राजनीतिक नियुक्तिमा कुनै अवरोध नहुने र सरकारीबाहेक निजी तथा गैरसरकारी संस्थामा नियुक्ति लिन मात्र सरकारको स्वीकृति चाहिने उद्देश्य थियो।
तर, समितिबाट पारित भएको विधेयकमा ‘संवैधानिक वा कूटनीतिक नियुक्तिमा नेपाल सरकारले गर्ने अन्य कुनै नियुक्ति बाहेक’ भन्ने शब्द राखिएको थिएन। प्रतिनिधि सभामा पुग्दा भने ‘बाहेक’ भन्ने शब्द राखिएको पाइएकाले यसमा प्रश्न उठेको हो।