arrow

निजी क्षेत्रलाई तत्काल कोभिड खोपको प्राथमिकतामा राख्न उद्योग वाणिज्य महासङ्घको माग

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ३१ बिहिबार
fncci-pm-deuba-meet.jpg

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको महासङ्घको पदाधिकारी सम्मिलित प्रतिनिधिमण्डलले आज नवनियुक्त  प्रधानमन्त्री शेर बहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मा समक्ष सिंहदरबारमा छुट्टा छुट्टै भेटवार्ता गरेको छ। अध्यक्ष गोल्छाले नवनियुक्त प्रधानमन्त्री देउवा र  अर्थमन्त्री शर्मालाई सो अवसरमा महासङ्घको तर्फबाट बधाई दिए।

महासङ्घका तर्फबाट ती दुवै भेटवार्तामा थिलथिलो भएको मुलुकको उद्योग व्यवसाय र अर्थतन्त्रलाई माथि उठाउन तत्काल यो क्षेत्रलाई कोभिड खोपमा पहिलो प्राथमिकतामा राख्न, सरकारको बजेटमा समेटिएका निजी क्षेत्रका लागि ल्याइएका कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन, साना तथा मझौला उद्यम व्यवसायलाई तत्काल स्टिमुलस प्याकेज ल्याउन र लामो समयदेखिको ट्रङक तथा डेडिकेटेड लाइनको समस्या समाधान गर्न जोड 
दिइयो।

वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अञ्जन श्रेष्ठ र रामचन्द्र संघई सहभागी रहेको भेटवार्तामा अध्यक्ष गोल्छाले कोभिडले थलिएको उद्योग व्यवसायलाई माथि उठाउन अनुरोध गरे। अर्थतन्त्रलाई टिकाउन अग्र भागमा रहेर काम गर्ने उद्योगी व्यवसायी र कामदार कर्मचारीलाई खोपमा अनिवार्य व्यवस्था गर्न महासङ्घले दुवै भेटवार्तामा आग्रह गरेको थियो। सरकारको राजस्वको मुख्य स्रोत निजी क्षेत्र र निजी क्षेत्रद्वारा सृजना गरिएको उपक्रमबाट प्राप्त हुने आम्दानी नै हो।

हामीले दिएका सुझाव बजेटमा पनि समेटिएका छन्, मौद्रिक नीतिका लागि पनि हाम्रा सुझाव दिएका छौ। तीनको प्रभावकारी कार्यान्वयन हामीले खोजेका छौ र त्यसमा सरकारबाट सहयोगको अपेक्षा गरेका छौ, अध्यक्ष गोल्छाले भने।

अबको एक दशकभित्र मुलुकको अर्थतन्त्र कस्तो हुने भन्ने लक्ष्यका साथ महासङ्घले नेपाल राष्ट्रिय आर्थिक रणनीति पत्र २०३० (नेट २०३०) सार्वजनिक गरेको र सरकारले समेत यसको अपनत्व लिई सकेकाले त्यसको कार्यान्वयनमा पनि सहयोग खोजेको भेटवार्तामा महासङ्घका तर्फ बाट स्पष्ट रूपमा राखियो। महासङ्घले नेट २०३० का विषयमा छिट्टै विस्तृत रूपमा जानकारी गराउने पनि अध्यक्ष गोल्छाले सो अवसरमा प्रतिबद्धता जनाए।

महासङ्घसँगको भेटवार्तामा प्रधानमन्त्री देउवाले समग्र उद्योग व्यवसाय र अर्थतन्त्रको कमजोर अवस्थालाई माथि उठाउन सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउँदै निजी क्षेत्रलाई निर्धक्क काम गर्न अनुरोध गरे।

अर्थमन्त्री शर्माले निजी क्षेत्रलाई खोप लगायत अन्य आवश्यक कार्यमा आफ्ना तर्फबाट सक्दो सहयोग रहने प्रतिबद्धता जनाउँदै निजी क्षेत्रसँग नजिकमा रहेर कार्य गर्ने विश्वास दिलाए। अर्थमन्त्री शर्माले महासङ्घले दिएका सुझावलाई सहयोग गर्ने र आगामी सहकार्यका लागि छिट्टै विस्तृत छलफल गर्ने आफ्नो योजना रहेको पनि बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ