arrow

खानेपानी मुहानको विषयमा वडाध्यक्षले गरेको सहमति विरुद्ध आन्दोलित महिलामाथि प्रहरीद्वारा हातपात

logo
जनकबहादुर शाही,
प्रकाशित २०७८ साउन ३ आइतबार
hatpat-humla.JPG

हुम्ला । खानेपानीको मुहानका विषयमा २ वडा बिच भएको सहमति विरुद्ध आन्दोलित सिमकोट-८ स्याँडाका महिलाहरू माथि प्रहरीले हातपात गरेको छ । 

खानेपानीको मुहानका विषयमा वडा अध्यक्षसहित गाउँका अगुवाले गाउँमा छलफल नै नगरी सिमकोट ८ स्याँडा गाउँमा रहेको पानीको मुहानबाट सिमकोट ७ धारापरि गाउँमा पानी ल्याउन दिने सहमति गरेको विरोधमा आन्दोलन गर्न आएका सिमकोट ८ स्याँडाका महिलाहरू माथि आइतबार दिउसो जिल्ला प्रशासन कार्यालय अगाडि प्रहरीले हातपात गरेको छ ।

आफ्नो क्षेत्रमा भएको पानीका मुहानलाई सिमकोट-७ धारापारीमा ल्याउन नदिने भन्दै जिल्ला प्रशासन कार्यालय हुम्लामा आन्दोलन गर्न आएका महिलाहरू माथि सुरक्षामा खटिएका सुरक्षाकर्मीले हातपात गरेको हो । धारापारिका लागि भनिएको खानेपानी हाम्रो सामुदायिक वन क्षेत्रबाट नियम विपरीत लिन खोज्दा हामी गाउँका आमा समूहले विरोध गर्दै जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराउन आएको स्याँडाकी स्थानीय महिला खुन्टी बुडाले बताइन् ।

गाउँका आमा समूह र गाउँलेको सहमति बेगर जिल्ला प्रशासन कार्यालयमा असार १७ गते सिमकोट-७ र ८ का वडा अध्यक्षसहित केही अगुवा बिच खानेपानी मुहानका विषयमा भएको सहमति आफूलाई थाहै नदिएकाले प्रशासन कार्यालयमार्फत उक्त काम अघि बढाउन नदिन भन्दै आफूहरू सिमकोट पुगेको आमा समूहका सदस्य रंगसरा बुढाले जानकारी दिइन । 

आफूहरूले पुर्खा देखि भोग चलन गर्दै आएको जग्गा माथि वडा ७ धारापारी गाउँका नागरिकले हकदावी गर्न खोजेको भन्दै आफूहरू आन्दोलनमा आएको बताएकी बुढाले प्रशासनको गेटमा नपुग्दै प्रहरीले अन्धाधुन्ध रूपमा आफूहरूलाई धरपकड गरेको बताइन् । तर स्याँडाका महिलाहरूले आफूमाथि प्रहरीले हातपात गरेको भन्ने भनाई प्रति स्थानीय प्रशासनले अस्वीकार गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ