- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । कोरोना भाइरसको नयाँ नयाँ भेरियन्टसँगै तेस्रो लहर निकै तीव्र गतिमा आउन लागेको अनुमान गरिएको छ । यसलाई रोक्नका लागि गर्भवती महिलालाई कोरोनाविरुद्धको खोप दिन जरुरी रहेको बताइएको छ ।
सम्भावित तेस्रो लहरलाई ध्यानमा राखेर गर्भवती महिलालाई कोरोनाको खोप लगाउन सल्लाह दिइएको छ । जोन अप्किन्सको भ्याक्सिन ट्रयाकरका अनुसार विश्वभरका २८ देशले गर्भवती महिलालाई भ्यासिन लगाउन अनुमति दिइसकेका छन् । १०० देशमा केही सर्तसहित गर्भवती महिलालाई भ्याक्सिन लगाइँदैछ ।
अमेरिकामा अहिलेसम्म १ लाख ३० हजार गर्भवती महिलाले फाइजर र मोडर्नाको एम–आरएनए भ्याक्सिन लगाइसकेका छन् । त्यहाँ कुनै पनि गर्भवती महिलामा कुनै गम्भीर किसिमको साइड इफेक्ट देखिएको छैन ।
त्यस्तै स्कटल्याण्ड, इङ्गल्याण्ड, अष्ट्रेलिया, क्यानडा र इजरेलजस्ता कयौं देशमा गर्भवती महिलालाई भ्याक्सिन दिन थालिएको छ ।
भारतले पनि जुलाई २ तारिखमा गर्भवती महिलालाई भ्याक्सिन लगाउनका लागि अपरेशनल गाइडलाइन जारी गरेको थियो । त्यसपछि कयौं राज्यले गर्भवती महिलालाई भ्याक्सिन लगाउन थालेका छन् ।
युनिसेफको तथ्यांकअनुसार सन् २०२१ मा विश्वमा १४ करोड बच्चा जन्मिन्छन् । गत मार्चमा पबमेडले अध्ययन गरेको रिपोर्टअनुसार गर्भवती महिलालाई कोरोना भए ‘प्रिमेच्योर बर्थ’ हुने खतरा बढ्छ । अन्य खतरा पनि हुन सक्नेछ । जसमा समयभन्दा पहिले जन्मिने बच्चाको जन्मेदेखि २८ दिनभित्र मृत्यु पनि हुन सक्नेछ ।
तसर्थ पनि गर्भवती महिलालाई भ्याक्सिन जरुरी भएको बताइएको छ । कयौं देशले यसबारे अनुसन्धान गरिसकेका छन् । जसमा गर्भवती महिलालाई कुनै पनि साइड इफेक्ट देखिएको छैन ।
द न्यू इङ्गल्याण्ड जर्नल अफ मेडिसिनमा १६ देखि ५४ वर्षका ३५ हजार गर्भवती महिलामा गरिएको अध्ययन प्रकाशित गरिएको हो ।
३५ वर्ष भन्दा माथिका गर्भवती महिला यदि संक्रमित भए गम्भीर खतरा हुने गर्छ । त्यस्तै मोटोपन, सुगर वा रक्तचापको समस्या भएका गर्भवतीमा समस्या हुन्छ भने गर्भवतीका समयमा ‘ब्लड क्लटिङ’ भए पनि खतरा हुने गरेको अध्ययनले देखाएको छ ।
गर्भवतीलाई कुन भ्याक्सिन दिने ?
गर्भवती महिलालाई धेरैजसो देशले एम–आरएनए प्लेटफर्ममा बनेको भ्याक्सिन दिइरहेका छन् । फाइजर र मोडर्नाको भ्याक्सिन एमआरएनए प्लेटफर्ममा बनेको हो । यो भ्याक्सिन शरीरमा गएर न्यूक्लियसमा पुग्दैन । यसकारण यो भ्याक्सिन न त डिएनएसँग जोडिएको हुन्छ न त जेनेटिक मटेरियलमा कुनै परिवर्तन आउँछ ।
तर भारतमा दिइराखिएको भ्याक्सिन भने एम–आरएनएको प्लेटफर्ममा बनेको छैन । यसको मतलब यो सुरक्षित नभएको भन्न मिल्दैन । इवोला भ्याक्सिनको ट्रायलमा पनि विश्वभर गर्भवती महिलाहरुलाई पनि सामेल गरिएको थियो । र सुरक्षित पाइएको थियो ।
भारतमा कयौं स्थानमा गर्भवती महिलालाई कोभ्याक्सिन लगाइएको छ । यसको कारण यो हो कि कोभ्याक्सिनको दोस्रो डोज २८ दिनपछि लगाइन्छ । जबकि कोभिशिल्डको दोस्रो डोज ८४ दिनपछि लगाइन्छ ।
नेपालमा भने गर्भवती महिलालाई खोप लगाउने बारेमा कुनै पहल नै भएको पाइएको छैन ।