arrow

टेलिकमको मुल गेटमा कर्मचारीको धर्ना जारी, प्रवन्ध निर्देशक चार दिनदेखि वेपत्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १० आइतबार
telecom.jpg

काठमाडौं । सरकारी स्वामित्वको दुरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकममा कर्मचारीहरुले निरन्तर चौंथो दिन धर्ना जारी राखेका छन् । आफ्ना मागहरु सम्बोधन गर्न माग गर्दै कर्मचारीहरुले धर्ना दिइरहेका हुन्।

गत बुधबारदेखि प्रवन्ध निर्देशकसमक्ष माग सम्बोधन गर्न भन्दै टेलिकमको गेटमै कर्मचारीहरुले धर्ना दिएका छन् । तर, बुधबारदेखि नै प्रवन्ध निर्देशक डिल्लीराम अधिकारी कार्यालय प्रवेश गरेका छैनन् ।

प्रवन्ध निर्देशक अधिकारीको नेतृत्वमा कर्मचारी विनियमावली संशोधन गरी तल्लो तहका कर्मचारीको अधिकार कटौती भएपछि कर्मचारी आन्दोलित छन्।

आफ्ना मागहरु सम्बोधन गर्न आइबार पनि धर्ना जारी रहेको नेपाल टेलिकम वर्कस युनियनका केन्द्रीय सदस्य सुरेश रौनियारले बताएका छन् ।

विनियमावलीमा तल्लो तहका कर्मचारीहरुको ८ वर्ष पूरा भएपछि स्वतः बढुवा हुने प्रावधान विनियमावली संशोधन गरी हटाइएको कर्मचारीहरुको आरोप छ ।

त्यसैगरी नेपाल टेलिकमको कर्मचारी विनियमावली संशोधन गर्दै १० र ११ तहका कर्मचारीको क्रमशः ८ र ५ वर्षपछि स्वतः अवकाश हुने प्रावधान हटाइएको छ ।

साथै तल्लो तहका कर्मचारीहरुले विभिन्न अवस्थामा स्वतः तथा विशेष बढुवा पाउने व्यवस्था पनि यस विनियमावलीबाट हटाइएको कर्मचारी युनियनले आरोप छ ।  विभिन्न समयमा आन्दोलन गरेर स्थापित भएका अधिकारहरु कटौती भएको उनीहरुको दाबी छ ।

यीनै मागहरु पूरा गर्नका लागि प्रवन्ध निर्देशक अधिकारी समक्ष टेलिकमका तीन वटै ट्रेड युनियन संगठनमा आवद्ध कर्मचारीले विरोधसहित धर्ना कार्यक्रम जारी राखेको हुन् ।

यस्ता छन् कर्मचारीहरुले राखेका मागहरु

१ संविधान प्रदत्त ट्रेड युनियन अधिकारको रक्षा गर्न।

२ श्रम ऐन २०७४ को दफा १०८ (५)को व्यवस्था विपरित एकतर्फ ढंगबाट २०७८ साउन ०१ गते देखी लागु गर्न खोजिएको कर्मचारी विनियमावलीलाई कर्मचारीमैत्री बनाउन।

३ सबै खालका विभेद  र अवरोधहरुको अन्त्य गराई सम्पूर्ण कर्मचारीहरूलाई समान र सम्मानजनक सामाजिक सुरक्षा एवं वृत्ति विकासको अवसर हुने गरी कर्मचारी बिनियमावलीमा व्यवस्था गराउन ।

४ कम्पनीको व्यवसायिकता एवं प्रतिस्पर्धी क्षमता अभिबृद्धि गरी आम्दानीमा भइरहेको गिरावटलाई रोक्न र कम्पनीको वैज्ञानिक पुनसंरचना गराउन ।

५ कम्पनीको ऐन अनुरुप कम्पनीको स्वायत्ता कायम गराउन तथा कम्पनीको सञ्चालक समिति र व्यवस्थापनको स्वेच्छाचारीता अन्त्य गराउन ।

६ कम्पनीको प्रबन्ध निर्देशकको कार्य सम्पादन सम्झौता सार्वजनिक तथा आवधिक मुल्याइन गराउन र सोप्रति जवाफदेही गराउन।

७ फोरजी, एफटीटीएच, आईपीटिभी, आरटीडीएफ,लगायतका चालु परियोजनाहरुको अवस्था सम्बन्धमा स्वयत पत्र जारी गरी टेक्निकल अडिट  र थर्ड पार्टी  ईभ्यालुएसन गराउन ।

८ भुक्तानी सेवा प्रदायक कम्पनी नमस्ते पे को व्यावसायिक सञ्चालन गराउन 

९ सेवाग्राहीहरूलाई सर्वसुलभ र भरपर्दो सेवा उपलब्ध गराउन।

१० आधिकारीक ट्रेड युनियन र कर्मचारी प्रतिनिधि सञ्चालकको निर्वाचन यथाशिघ्र गराउन ।

११ आधिकारीक ट्रेड युनियनहरूसँग भएका सम्झौता, मिति २०७१/०६/१० को सहमतिको रक्षा गर्न एवं कम्पनीमा क्रियाशील ट्रेड युनियनहरूसँग मिति २०७७/०४/१५ मा भएको सहमति कार्यान्वयन गराउन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ