arrow

नेपाली काँग्रेसका चुनौतीहरू

logo
लक्ष्मी विलास कोइराला,
प्रकाशित २०७८ साउन १२ मंगलबार
nepali-congress-flag-tree.jpg

२०७८ साल भदौ १६-१९ सम्म नेपाली काँग्रेसको महाधिवेशन हुँदैछ । महाधिवेशनको समाचारले नेपाली काँग्रेसका नेता कार्यकर्तामा चहलपहल ल्याएको छ । गौरवमय इतिहास, जिम्मेवार वर्तमान र उज्यालो सुनिश्चित भविष्यको पर्यायवाची बनेको नेपाली काँग्रेस राष्ट्रियता, लोकतन्त्र र समाजवादका लागि दशकौँदेखि अनवरत सङ्घर्ष गर्दै आएको। युग पुरुष बिपी कोइरालाको विचार र संस्कारको जगमा समुन्नत नेपाल निर्माणका लागि दृढ अठोट राख्ने नेपाली काँग्रेस पार्टी, पार्टी मात्र नभएर एउटा चिर कालीन आन्दोलन हो, इतिहास हो । तर, गत स्थानीय निर्वाचन र संसदीय निर्वाचनमा कतै नेकपा माओवादीसँग, कतै राप्रपासँग त कतै मधेसवादी दलसँगको गरेको साँठगाँठले पार्टीलाई जिताएन, हरायो मात्र । कति ठाउँमा त काँग्रेस पार्टीका कार्यकर्ता र समर्थकले पटक पटक रुखमा भोट हाल्नै पाएनन् । परिणाम, देशको राजनीतिक वृत्तमा काँग्रेसलाई सशक्त राजनीतिक दलको रूपमा खडा हुन र काम गर्न बाधा पुर्‍यायो । भविष्यमा यस्तो साँठगाँठ गर्नु परे परिणाममुखी हुनुपर्दछ भन्ने सर्वत्र माग छ । 

नेपाली काँग्रेस बिपी कोइरालाको नेतृत्वमा सङ्गठित चम्किलो इतिहास भएको पार्टी हो । समयले कोल्टे फेरेसँगै नेपाली काँग्रेसमा अब इतिहास भजाएर खाने दिन सकिएको छ । पार्टीका स्रष्टाहरू बिपी कोइराला, गणेशमान सिंह, कृष्ण प्रसाद भट्टराई, गिरिजा प्रसाद कोइराला, महेन्द्र नारायण निधि, दिवान सिंह राई, रामलक्ष्मणहरुको नाम अगाडि सारेर निर्वाचन जित्ने सम्भावनाहरू पनि सकिएका छन् । पार्टी र नेतृत्व आफै सक्षम हुनु परेको छ । 

नेपाली समाज पार्टी डिजिटल समाज, सुसूचित समाज, चरम व्यक्तिवादी समाज, भर्चुअल नेटवर्कको समाजमा रूपान्तरण हुँदै गएको छ । जनताका आवश्यकता, चाहना, दृष्टिकोण बदलिएका छन् । सामाजिक सञ्जालले राजनीतिक सामाजिक आर्थिक सवालमा नयाँ ढङ्गले सोच्नु पर्ने बनाएको छ । मानिसको जीवनमा भौगोलिक जरुरत घटेको छ र आफन्तपनको सामिप्यताको परिभाषा बदलिएको छ । सूचनाको पहुँच र सामाजिक सञ्जालले देशको राजनीतिक निर्णयमा अन्तर्राष्ट्रिय सीमा पार बस्ने नेपालीहरूको प्रभाव पनि बढ्दै गएको छ । सङ्घीयताले प्रादेशिक राजनीतिक दलहरूको सम्भावनालाई अगाडि ल्याएको छ । राजनीतिक प्रतिस्पर्धा गम्भीर, खर्चिलो र चुनौतीपूर्ण बन्दै गएको छ । भूराजनीतिले अन्तर्राष्ट्रिय दृष्टिकोण र छिमेकी चासोलाई पनि ग्लोबल बनाएको छ । 

देशमा राजनीतिक सामाजिक आर्थिक विकास र परिवर्तनको गति सुस्त छ । गरिबी, रोग बढोत्तरी र वातावरण विनाश आर्थिक विकासका कठोर चुनौती बनेका छन् । प्रविधिको द्रुत परिवर्तनले समाजमा संवेदनशील वातावरणको सिर्जना गरेको छ । विश्वको विकास र परिवर्तनसँग परिचित युवाहरू संसारभरको विकास र परिवर्तन तथा सार्वजनिक सेवाको सहज उपलब्धताको आधारमा आफ्नो देशको सरकार र राजनीतिक दलहरूको मूल्याङ्कन गर्ने हैसियतमा छन् । नेपाली युवाहरूले सामाजिक सञ्जालमार्फत परिवर्तनको पक्षमा एकजुट हुने चरित्र देखाउने गरेका छन् । तर उनीहरूको राजनीतिप्रति चाख भने घट्दै गएको छ । युवाहरू नेपालको राजनीतिमा परिवर्तन देख्न चाहन्छन् । समाजमा राजनैतिक सैद्धान्तिक मान्यता र आस्था फेरिएका छन् । परम्परागत रूपमा पाइने सैद्धान्तिक स्थिरता र अडान मानव जीवनमा अनिवार्य हुन छोडेको छ । राजनीतिक चरित्र, व्यवहार र गतिविधिले नेपाली जनतामा राजनीतिक दलहरूप्रतिको विश्वास आस्था र माया नराम्ररी स्खलन भएको छ । यस घडीमा विगत बिर्सेर नेपाली काँग्रेस सङ्गठनात्मक रूपमा बलियो बन्न र जनताको मन जित्ने गरी काम देखाएर परिचित हुनुपर्दछ।

नेपाली काँग्रेसका चुनौतीहरू
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक वातावरणमा पार्टीलाई खरो उतारी जनविश्वास जर्गेना गर्दै सरकारको नेतृत्व गर्ने लक्ष्य हासिल गर्न तथा देशमा प्रजातन्त्र, राष्ट्रियता, समाजवादको सिद्धान्त अनुरूप आर्थिक सामाजिक विकास गरी देशमा आमूल परिवर्तन गर्नु नेपाली काँग्रेसको अहम् चुनौती हो । गतिशील, अनुशासित र जनभरोसाको नेपाली काँग्रेस बनाउन काँग्रेस वैचारिक, साङ्गठनिक र नेतृत्वका दृष्टिले मजबुत हुनुपर्ने आवश्यकता हिमालभन्दा अग्लो छ । महाधिवेशन भदौ महिनामा सम्पन्न गर्न नेपाली काँग्रेसलाई आवश्यक र संवैधानिक तथा कानुनी बाध्यता पनि छ । भविष्यमा अनुशासित पार्टी र सक्षम नेतृत्व विकासका लागि नेपाली काँग्रेस अगाडि देहायका चुनौतीहरू रहेका छन् । 

नेपाली जनताको मन जित्ने गरी काम गर्नु नेपाली काँग्रेसको प्रथम र अहम् चुनौती हो । नेपाली काँग्रेसको अगाडि अहिले देशमा रहेका अन्य राजनीतिक दलहरूभन्दा काँग्रेसलाई बढी सक्रिय, प्रतिस्पर्धी र जनप्रिय पार्टी बनाउने चुनौती छ । नेपाली युवाहरूलाई काँग्रेसप्रति आरक्षित गर्ने र युवाहरूको चाहनालाई समेट्नु पर्ने अर्को सबैभन्दा ठुलो खाँचो छ । पार्टी सङ्गठनलाई देशका सात सय त्रिपन्न स्थानीय तहका ६७४३ वडासम्म सङ्गठित र गतिमान बनाई जनताको नगिच पुर्‍याउनु पर्ने आवश्यकता उस्तै महत्त्वपूर्ण छ । पार्टी कार्यकर्ताहरूलाई तालिम दिएर पार्टीको सिद्धान्त, लक्ष्य र कार्यक्रमको विषयमा जानकार बनाई पार्टीको पक्षमा बहस गर्न सक्ने गरी सक्षम र उत्प्रेरित बनाउनु पनि छ । पार्टीप्रति आस्था र विश्वास राख्ने तमाम समर्थक र कार्यकर्ताहरूको क्षमताको न्यायिक उपयोग गरी पार्टीको सशक्तीकरण गर्नु पर्ने जरुरी पनि उत्तिकै महत्त्वपूर्ण छ । पार्टीमा स्वतः नेतृत्व विकास हुने परिपाटी विकास गर्नु काँग्रेसको समसामयिक चुनौती हो । साथै, पार्टी समर्थक हरू शुभचिन्तकहरू र सहयोगीहरू पार्टीका नेता कार्यकर्ता हरूबिच रहेको अनावश्यक गुटबन्दी र निर्वाचनमा हुने अनुशासनहीन अन्तर्घात र मतदानमा अनुपस्थित हुने बेइमानी चरित्र समाप्त हुनुपर्ने मान्यता राख्दछन् । नेताहरू कार्यकर्ताहरूले जथाभाबी सार्वजनिक रूपमा नेतृत्वको आलोचना गर्दै नहिँडुन् भन्ने चाहन्छन् । यस कारण पार्टीमा मजबुत एकता र पार्टीका नेता र कार्यकर्ताबिच आपसी विश्वास, सम्मान र सहयोगको स्थापना गर्नु पर्ने जरुरी छ । 

नेपाली काँग्रेसलाई जीवन्त, गतिशील र परिणाममुखी बनाउने चुनौती भावी नेतृत्व सामु सगरमाथा भई खडा छ । बदलिँदो नेपाली समाज, परिवर्तित राजनीतिक वातावरण, नागरिकको कनेक्टिभिटी, भूराजनीतिक अवस्था र पार्टीका अगाडि रहेका चुनौतीहरूको सामना गर्न नेपाली काँग्रेस सशक्त क्रियाशील र विश्वासिलो पार्टीको रूपमा खडा गर्न र पार्टीको अगाडि रहेका चुनौतीहरूको सामना रूपान्तरण उन्मुख नेतृत्वले मात्र गर्न सक्दछ । नेतृत्वले एकातर्फ पार्टीलाई लोकतान्त्रिक व्यवहार र आचरण, विधान र विधि अनुसार चलाउनु पर्दछ भने अर्कोतर्फ पार्टीलाई राजनीतिक वृत्तमा प्रतिस्पर्धी र जनमनको पार्टी बनाउनु पनि छ । काँग्रेस पार्टीलाई देशको राजनीति स्पर्धामा अग्रपङ्क्ति मा खडा गर्न सु ज्ञानी तथा सुसूचित, तर्क गर्ने, निर्णय गर्ने, नेतृत्व गर्ने, समन्वय गर्ने र पार्टीलाई रूपान्तरण गर्ने क्षमता भएको ईमान्दार नेतृत्वको सधैँ आवश्यक हुन्छ ।

प्रजातान्त्रिक प्रणालीमा राजनीतिक नेताको योग्यता उमेरको कसीमा नाप्न मिल्दैन र उमेर बढ्दै जाँदा जीवनको मूल्यमा ह्रास आउने पनि होइन । नेतृत्वको पुस्तान्तरण वा हस्तान्तरण प्रजातान्त्रिक निर्वाचनले गर्ने हो । विश्वमा धेरै पाका र धेरै युवाहरूले पार्टी र देशको नेतृत्व गर्ने अवसर पाएका छन् र गरिरहेका छन् । नेतृत्वको पहिचान उसमा अन्तर्निहित अग्रगामी सोच, क्षमता र क्रियाशीलताले गर्दछ । नेतृत्वले आफ्नो खुबी कार्यकर्ता माझ देखाई उनीहरूको विश्वास र लोकप्रियता आर्जन गर्नुपर्दछ । नेतृत्व रहर गरेर वा मागेर पाउने अवसर होइन । शारीरिक वा बौद्धिक वा अवसर नपाएको कारण देखाएर पनि नेतृत्व पाउने होइन । र नेतृत्व पालो कुरेर पनि पाईदैन् । यस कारण नेतृत्वमा पुग्न प्रतिस्पर्धा नै गर्नुपर्दछ । कोही नेता कार्यकर्ता निर्वाचनमा प्रतिस्पर्धा गर्न चाहियो वा उत्रियो भने त्यस्ता नेता कार्यकर्तालाई कर्के नजरले हेर्ने होइन उत्प्रेरित गर्नु प्रजातान्त्रिक संस्कार हो । 

प्रजातन्त्रमा निर्वाचन सभ्यता आफैमा महत्त्वपूर्ण पक्ष हो । निर्वाचनले पार्टीभित्र आन्तरिक प्रजातान्त्रिक संस्कार र सभ्यताको विकास गर्दछ । निर्वाचन नेतृत्व चयनको विधि भएकाले नेतृत्व छनौट र विकासका लागि फराकिलो, स्वतन्त्र र निष्पक्ष निर्वाचनको महत्त्वपूर्ण योगदान रहन्छ । निर्वाचनमा कार्यकर्ता मतदाताहरूले भई रहेको वा हुन खोजेका राजनीतिक नेता कार्यकर्ताले पार्टीको लागि पाएको जिम्मेवारी र सोको नतिजाको सफलता असफलताको मूल्याङ्कन गरेर निर्णय लिन्छन् । उत्तरदायी नेतृत्वले निर्वाचनमा आफ्नो उपलब्धिको स्वतन्त्र समीक्षा गर्ने अवसर दिनुपर्दछ र सफलता असफलताको जिम्मेवारी पनि लिनुपर्दछ । निर्वाचनमा दुई वा धेरै पक्षहरूबिच नेतृत्वका लागि प्रतिस्पर्धा हुनु स्वाभाविक हो । आकाङ्क्षी हरूले एउटै मञ्चमा उभिएर आफ्नो आफ्नो भिजन र लक्ष्यको सम्बन्धमा कार्यकर्ता र समर्थक हरू लाई बुझाएर उनीहरूको मन जित्नु पर्दछ । निर्वाचन पद्धति स्वीकार गरी सकेपछि राजनीतिक नेताहरूले प्रतिस्पर्धा र आलोचनालाई सहज रूपमा ग्रहण गर्न सक्नुपर्दछ । र परिणामपछि पार्टीको नीति सिद्धान्त अनुकूल आचरण गर्दै पार्टीको हित अनुकूल निर्वाचित नेतृत्वलाई सहयोग गर्ने प्रजातान्त्रिक संस्कृतिको विकास र पालना पनि गर्नुपर्दछ । 

स्वस्थ निर्वाचन प्रणालीले निर्वाचनमा नेतृत्वको चयन स्वतन्त्र र प्रतिस्पर्धात्मक बनाउँछ । मतदाताको स्वतन्त्र अभिमतले सक्षम र सामयिक नेतृत्व चयन गर्दछ । देशको विकास र समृद्धिको लागि पार्टी र सरकारको नेतृत्वमा आउने परिवर्तनले नवीन ऊर्जा ल्याउँछ । नेता गुट होइन नीति र योजना बनाउने गर्दछ । नेतृत्व गर्न चाहने हरेक नेता देश, जनता र पार्टीको लागि नवीन भिजन लिएर प्रतिस्पर्धामा उत्रन्छ । खुला बहस हुन्छ । पार्टीमा नेतृत्वको सहज विकास हुन्छ । पटक पटक निर्वाचन जित्नु र जिताउनु पर्दछ भनेर भ्रष्ट्राचार गरेर धन थुपार्ने राजनीतिक आकाङ्क्षा पनि सेलाएर जान्छ । प्रणालीगत रूपमा नयाँ व्यक्तिको हातमा नेतृत्व जाने कारण नेतृत्व गर्ने अवसर धेरै राजनीतिज्ञलाई उपलब्ध हुन्छ । उनीहरूमा शारीरिक, मानसिक एवं बौद्धिक क्षमता विकास गर्दै आफ्नो समयमा केही राम्रो काम गरौँ भन्ने इच्छाशक्ति जागृत हुन्छ । मतदातालाई मतदान गर्न पनि रमाइलो लाग्छ र राजनीतिक संस्कारमा नवीन रक्तसञ्चार प्रवाह हुन्छ । यस कारण, हरेक कार्यकर्तामा नेताको मूल्याङ्कन गर्ने क्षमता र सामर्थ्य हुनुपर्दछ । 

नेपाली काँग्रेसको पार्टीको सर्वोच्च कार्यकारी पदमा लगातार वा पटक पटक गरी दुई कार्यकालका लागि मात्र निर्वाचित हुन पाउने काँग्रेसको वैधानिक व्यवस्था राम्रो छ । तर, नेपालको संविधानले गाउँपालिको अध्यक्ष र नगरपालिको मेयर सोही पदमा दुई पटकभन्दा बढी उम्मेदवार हुन नपाउने व्यवस्था गर्‍यो । प्रधानमन्त्री, प्रतिनिधि सभाको सभामुख उपसभामुख, राष्ट्रिय सभाको अध्यक्ष, उपाध्यक्ष, तथा प्रदेशको मुख्यमन्त्री, प्रदेश सभा अध्यक्ष पदमा दुई पटकभन्दा बढी उम्मेदवार हुन नपाउने व्यवस्था भने गर्न सकेन । यस प्रावधानले राजनीतिक दल र सरकारमा विकृति ल्याएको छ । संविधान संशोधन गरेर एक व्यक्ति देशको प्रधानमन्त्री वा प्रदेशको मुख्यमन्त्रीलगायत निर्वाचन हुने पदहरूमा बढीमा दुई पटक निर्वाचित हुन पाउने व्यवस्था गर्न तथा देशको राष्ट्रपति उपराष्ट्रपति, प्रदेशको प्रदेश प्रमुख जस्ता संवैधानिक पदहरूमा भने एक पटक मात्र नियुक्त वा निर्वाचित हुन सक्ने व्यवस्था गर्न आवश्यक छ । त्यसपछि शीर्ष नेताहरू बीचकोे पद केन्द्रित विवाद त्यसै बिलाउँछ । दलहरूमा विवाद हुने र टुक्रने प्रवृत्ति पनि हराएर जान्छ । नेताहरू आफू पछि आफै नेता बन्ने विषय छोडेर कुन नयाँ योग्य व्यक्तिलाई नेता बनाउने भनेर चिन्तन र मनन गर्न थाल्दछन् । नयाँ जन्मेका र जन्मने राजनीतिक दलहरूमा पनि टुट्ने फुट्ने प्रवृत्ति रहदैन् । जसले राजनीति क्षेत्रलाई शान्तिकामी बनाई दिन्छ । 

आजको युग परिवर्तनको युग हो । नेपालको राजनीतिक समाजले नेपाली काँग्रेसले क्रियाशील, सुसूचित र दूरदर्शी नेतृत्व गर्नुपर्दछ भन्ने आशा गरिरहेको छ । राजनीतिक, सामाजिक, आर्थिक, प्रशासनिक र प्रविधि परिवर्तन द्रुतगतिमा भई रहेको घडीमा पार्टीमा अन्य राजनीतिक दलहरूसँग प्रतिस्पर्धा गर्न प्रतिस्पर्धात्मक क्षमता उच्च रूपमा चाहिएको छ । नयाँ पुस्ता राजनीतिक प्रणालीमा आमूल परिवर्तन खोजिरहेको वेलामा नवीन राजनीतिक समाजमा टिक्नको लागि पुरानो इतिहास बोकेको राजनीतिक दल नेपाली काँग्रेस आफ्नो आर्थिक सामाजिक दृष्टिकोण, सङ्गठनात्मक संरचना र निर्वाचन प्रणालीमा आमूल परिवर्तन र सुधार गर्नको लागि सधैँ तयार हुनुपर्दछ ।

महाधिवेशनसँगै गाउँघर सहर बजारमा चुनावी सरगर्मी बढेको छ । नेपाली काँग्रेसका कार्यकर्ता र समर्थकहरूको काँधमा नेतृत्व चयन गर्ने गुरुत्तर दायित्व आएको छ। क्रियाशील सदस्यहरू र स्थानीय तहदेखि केन्द्रसम्म नेतृत्व गर्न चाहने नेताहरूमा गतिशीलता ल्याएको छ । निर्वाचनमा पार्टी सभापतिका लागि केन्द्र, प्रदेश, जिल्ला र वडा स्तरसम्मै धेरै आकाङ्क्षीहरू देखिएका छन् र उनीहरू बिचको आपसी भेटघाट, अन्तरक्रिया, संवाद, समालोचना र क्रस मिलजुलले पार्टीका तमाम नेता कार्यकर्ता र शुभेच्छुकहरूमा फरक चासो र उत्साह जन्माएको छ । 

वर्तमान पार्टी सभापति शेर बहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल खारिएका अनुभवी वरिष्ठ, कुशल र आदरणीय नेताहरू हुन्। विमलेन्द्र निधि, प्रकाशमान सिंह, शशाङ्क कोइराला, कृष्ण प्रसाद सिटौला र शेखर कोइरालाले पार्टीको नेतृत्व गर्न सक्ने गरी आफ्नो क्षमता विकास गरिसकेका छन्। गगन थापा, विश्वप्रकाश शर्मा, मिनेन्द्र रिजाल, कल्याण गुरुङ र प्रदीप पौडेल नेपाली युवाहरूको माझमा रुचाइएका छन्। सबै प्रतिस्पर्धी र नेताहरूका आ-आफ्ना सबल र दुर्बल पक्षहरू छन् र हुन्छन् पनि । कार्यकर्ताहरूले विवेक पुर्‍याई स्वतन्त्र रूपमा भविष्यमा नेपाली काँग्रेसलाई कुशल नेतृत्व दिन सक्ने सक्षम नेतृत्व चयन गर्नुपर्दछ । 

राजनीतिक उथलपुथलले नेपाली काँग्रेसलाई सरकारको नेतृत्व गर्ने अवसर दिएको छ । पार्टी सभापति शेर बहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भई प्रतिनिधिसभाबाट विश्वासको मत पनि प्राप्त भई सकेको छ। यस परिदृश्यमा अब काँग्रेसले जनताको अगाडि केही राम्रो गरेर देखाउन र समयमा नै महाधिवेशन सम्पन्न गर्नुपर्छ भन्दै आम कार्यकर्ता र नेता उत्साही बनेका छन्। आगामी वर्षहरू निर्वाचनका वर्षहरू हुनेछन्। प्रधानमन्त्री देउवाले कोरोना महामारीबाट जनतालाई सुरक्षित गर्न सबै नेपालीलाई खोप दिलाउने र पार्टीको महाधिवेशन सम्पन्न गर्न सकेमा भविष्यमा पार्टी र सरकार नेतृत्वको लागि दह्रो जग बन्नेछ । यस कारण काँग्रेस पार्टी र प्रधानमन्त्री शेर बहादुर देउवाले यस अवसरको पुरापुर सदुपयोग गर्न सक्नु पर्दछ।



नयाँ