arrow

नेपालकै कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ, सरकारमा जाने नजाने द्विविधा मै

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७८ साउन १७ आइतबार
madhav-kumar-nepal-media-brief.jpg
फाइल तस्बिर

काठमाडौँ। पाँच दलीय गठबन्धन बनाउन र केपी शर्मा ओलीको सरकार ढाल्न मुख्य भूमिका खेल्न माधवकुमार नेपालकै कारण मन्त्रिपरिषद् विस्तारमा पटक पटक ढिलाइ भएको छ । पार्टीभित्रको आन्तरिक विवादको विषयलाई लिएर नेपालले आइतबार पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई फोन गरेर मन्त्रिपरिषद् विस्तारमा रोक लगाएका हुन् । 

नेपाल पक्षका तीन सांसदले देउवालाई भेटेर आफूहरूलाई मन्त्री बनाउनु पर्‍यो भनेका थिए। त्यही कुरा लिएर उनीहरूले नेपाललाई भेटेपछि आफ्नै समूहमा फाटो आउन सम्भावना देखेर नेपालले आइतबार देउवालाई फोन गर्नुभएको हो’, नेपाल निकट स्रोतले भन्यो । 

आइतबार बिहान माओवादी अध्यक्ष प्रचण्डले समेत सरकारमा जाने नजाने विषय चाँडो टुङ्ग्याउनुपर्ने भन्दै दबाब दिएका बेला नेपालले देउवालाई फोनबाट मन्त्रिपरिषद् विस्तारमा रोक लगाएका हुन् । 

देउवा नेतृत्वको सरकारका सहभागी हुन गरेको पटक पटक आग्रहलाई नेता नेपालले विवाद मिले पार्टीमै रहने नत्र सरकारमा आउने सन्देश दिँदै आइतबारको मन्त्रिपरिषद् विस्तारमा रोक्न भनेका थिए । 

आइतबार देउवालाई फोन गरेर मन्त्रिपरिषद् विस्तार रोक्न आग्रह गर्दै विवाद मिल्ने अवस्थामा पुगेको नमिले सरकारमा सहभागी हुनेछौ भन्दै रोकेको स्रोतको दाबी छ । आइतबार मध्यान्ह मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेका देउवालाई नेपालले फोन गरेका थिए । 

नेपालको तर्फबाट तीन जना नेताहरू मन्त्रीका लागि तयारी अवस्थामा रहेको स्रोतको दाबी छ । तनहुँका किसान श्रेष्ठले आइतबार बिहान आफू गृहमन्त्री हुन लागेको भन्दै केही आफन्तहरूलाई भनेका थिए । प्रेम आले पर्यटन र धनबहादुर बुढाले सहरी मन्त्री हुने दाबी गरेका थिए । 

शनिवार देउवालाई भेटेर उनीहरूले आफूहरूलाई मन्त्री बनाउनुपर्‍यो भनेका थिए । शनिवार साँझ उनीहरू माधव नेपाललाई भेट्न पुगेका थिए । तर माधव नेपालसँग भने विरोध खतिवडा, मेटमणी चौधरी, रामकुमारी झाँक्री, बेदुराम भुसालको नाम मन्त्री बन्नेको सूचीमा रहेको छ । 

किसान श्रेष्ठ र आलेले ओलीबाट सधैँ अन्याय भएको बताउँदै आफूहरूलाई न्याय गर्नुपर्ने माग गरेका थिए । ‘हिजो साँझ किसान श्रेष्ठ, प्रेम आले, धनबहादुर बूढा आउनु भएको थियो’, नेपाल निकट एक नेताले भने । उनका अनुसार साथीहरूलाई मन्त्री बन्न हतारो भएकाले आएको बुझियो । 

नेपालले भने पार्टीभित्रको विवाद मिल्ने क्रममा रहेकाले अहिले हतार नगर्न आग्रह गरेका थिए । नेता नेपालले संयुक्त हस्ताक्षरसहितको एकता भए सबैलाई न्याय गर्ने बताएका थिए । पार्टीभित्रको विभेद हटाउन बराबरी अधिकार आवश्यक भएको नेपालको मत छ । 

पार्टी अध्यक्ष केपी शर्मा ओलीले दोस्रो अध्यक्ष दिएर भए पनि नेपाल समूहलाई पार्टीभित्रै राख्ने योजना बनाएको बताइए पनि नेपालले दोस्रो अध्यक्ष अस्वीकार गर्दै बराबरी अधिकार आवश्यक भएको बताएका थिए । 

तर पार्टी महासचिव ईश्वर पोखरेल लगायतका केही नेताहरू भने ओलीले दिने भनेको दोस्रो अध्यक्षको पनि विरोधमा रहेका छन् । उनले माधव नेपाललाई पार्टीभित्र ल्याउन नहुने गरी दोस्रो अध्यक्षको विरोध गरेका थिए । 

ओलीले हस्ताक्षर गर्ने अधिकार दिने सम्भावना भयो भने त्यसको पनि पोखरेलले विरोध जनाउने स्रोतको दाबी छ । ‘नेता कार्यकर्ताको संरक्षणका लागि भए पनि बराबरी अधिकार र निर्वाचन आयोगमा संयुक्त हस्ताक्षरमा कुरा मिलाउनुपर्ने पक्षमा नेपाल रहनुभएको छ’, नेपाल निकट स्रोतले भन्यो । 

ओली भने कार्यदलले तयार पारेको १० बुँदे सहमतिभित्रै रहेर विवाद मिलाउने पक्षमा रहेका छन् । उनले १० बुँदे सहमतिमै टेकेर अघि बढौँ भनेका छन् । आइतबारको स्थायी कमिटी बैठकमा सुवास नेम्वाङ र विष्णु पौडेललाई अधिकतम प्रयास गर्न र निर्देशन दिएका थिए । 

नेपाल पक्षमा पुगेका श्रेष्ठ र आलेले मन्त्री मागेको सूचना ओलीसम्म पुगेपछि आइतबार दिउसो नेपालको नाम नलिई ओलीले आफ्नो सरकार ढाल्ने, पार्टीको सरकारलाई प्रतिपक्षमा पुर्‍याउने र दक्षिणपन्थीसँग गठबन्धन बनाउने भन्दै नेपाल पक्षको आलोचना गरेका थिए । 

ओलीले माधव नेपालमाथि नाम नलिई तिखो टिप्पणी गर्दै दक्षिणपन्थीहरूसँग साँठगाँठ गरेको बताएका थिए । उनले माधव नेपाल समूह सत्तापक्षको गठबन्धनमा सहभागी भएको विषयमा पनि आपत्ति जनाए। 

ओलीले अनुशासनहीन र अराजकहरूले नै नेकपा फुटाएको, आफ्नै पार्टीको नेतृत्वको सरकार पनि ढालेको आरोप लगाएका थिए । उनले त्यस्ताहरूले कम्युनिस्ट आन्दोलनलाई अघि नबढाउने बताउँदै उनीहरूबाट सिक्न लायक कुनै पनि कुरा नभएको समेत बताएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ