- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काँग्रेस सभापति शेरबहादुर देउवाले एउटा विशिष्ट परिस्थितिमा देशको नेतृत्व सम्हाल्ने अवसर पाएका छन् । झण्डै दुई तिहाइ जनमतको अवमूल्यन गर्दै केपी ओलीले बिगारेको राजनीतिक प्रणालीलाई सपार्न देउवाको आगमन बाध्यात्मक थियो । सङ्घीय लोकतान्त्रिक गणतन्त्र, शक्ति पृथकीकरण र संविधानवादका मूल्य, मान्यता, मुलुकको स्वाभिमान र सुरक्षा जस्ता विषयमा अनेक सन्देह उठ्न थालेपछि सर्वोच्च अदालतको आदेश र वृहत् लोकतान्त्रिक गठबन्धनको बलमा ओली सत्ताच्युत भएका थिए । शक्ति उन्मादको रापले ओली आफै जलेका हुन् । यसमा कोही कसैको दोष छैन । आफूभित्रकै इख, इवी र प्रतिशोधले किचिएर ओली सिंहदरबारबाट बाहिरिएर बालकोट पुगेका हुन् ।
ओली शक्ति र सत्ताबाट सडकमा पुग्दाको पराकम्प भने अझै बाँकी छ । बेलाबेलामा टोलाएर ओली अझै पनि देउवा परमादेशको प्रधानमन्त्री भन्दै कुण्ठा पोख्दै छन् । तर संविधानको अन्तिम व्याख्याता सर्वोच्च अदालतले अवैध सरकारको छाप लगाइदिएपछि ओलीले बालुवाटारबाट बालकोट बसाई सर्न झिटीगुन्टा कसेको ब्यहोरा जनजनमा अवगतै छ । अब इतिहासको यो अध्याय समाप्त भइसकेको छ । यस्तो विशिष्ट परिस्थितिमा देउवाले मुलुकको बागडोर सम्हालेका छन् ।
समकालीन नेपाली राजनीतिमा क्रियाशील नेताहरूमध्ये देउवा सबैभन्दा अनुभवले खारिएका व्यक्ति हुन् । देउवाका केही विशिष्ट आयामहरू रहेका छन् । कालो बादलभित्र चाँदीको घेरा भनेझैँ यिनै विशिष्ट आयामकै कारण वर्तमान बेथितिबीच देउवा संकटमोचनको सारथि बन्न सक्ने देखिन्छ । इतिहासले सुम्पेको कार्यभार सम्हाल्दै देउवा नयाँ इतिहास रच्ने ठाउँमा समेत पुगेका छन् ।
भरपुर लचकता
शेरबहादुर देउवा राजनीतिमा सहमति, सहकार्य र एकताको भावनालाई राम्ररी बुझेका नेता हुन् । पटक पटक कठिन समयमा देशको नेतृत्व सम्हालेका देउवामा गठबन्धन संस्कृतिलाई राम्रोसँग व्यवस्थापन गर्न सक्ने खुबी छ । ‘मै खाऊ मै लाऊँ’ भन्ने भावना उनमा देखिँदैन । ‘गिभ एण्ड टेक’ मा लचक र उदार छन् । सबैको सम्मान हुने गरी सरकार सञ्चालनको तारतम्य मिलाउन सक्ने क्षमता देउवामै छ । पाँचौँपल्ट प्रधानमन्त्री भइसकेका र विगतको खारिएको अनुभवका कारण परिवर्तित सन्दर्भमा सरकार सुसञ्चालन एवम् राष्ट्रिय हितको रक्षा गर्न सक्ने क्षमता देउवामै देखिन्छ ।
व्यवस्थाप्रति अटुट आस्था
नेपाली कांग्रेसका सभापति समेत रहनु भएका देउवामा संविधानसभाबाट जारी भएको संविधान र त्यसले अङ्गीकार गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रकाप्रति अटल निष्ठा र प्रतिबद्धता छ । धेरै लामो सङ्घर्ष र बलिदानपछि जनताका प्रतिनिधिले बनाएको संविधानलाई समाप्त पार्ने र नेपाललाई अस्थिर राजनीतिको भुमरीमा फसाएर विभिन्न स्वार्थ पुरा गर्ने षड्यन्त्र विरुद्ध लोकतन्त्रका हिमायती देउवा सतिसालझैँ उभिनेमा सन्देह छैन । सत्ताको होइन व्यवस्थाको चिन्ता गरौँ भन्ने कतिपय नेताहरूको भनाइलाई हेर्ने हो भने पनि आज सङ्कटको यो समयमा देउवाको नेतृत्वले मुलुकलाई सहज निकास दिन सक्ने देखिन्छ ।
जनताको शक्तिमा विश्वास
शेरबहादुर देउवा जनता नै शक्तिका अजय स्रोत हुन भन्ने मान्यतामा दृढ छन् । २०४८ साल यता हरेक चुनावमा जनताबाटै प्रत्यक्ष निर्वाचित हुन सफल नेता हुन् देउवा । आवधिक निर्वाचन, विधिको शासन, शक्ति पृथकीकरणका मान्यताप्रति अत्यन्त चनाखो मात्र होइन यसको पालनामा इमानदार नेता हुन् उनी । संविधानको धारा ७६ को उपधारा ५ अनुसार स्वतन्त्र रूपले सरकार गठनको हैसियत प्राप्त गरेका देउवाले १७ महिनाभित्रै स्थानीय, प्रदेश र सङ्घको चुनाव सम्पन्न गर्नुपर्ने गहन दायित्व प्राप्त गरेका छन् । स्वतन्त्र, भयरहित र निष्पक्ष निर्वाचन मार्फत लोकतन्त्रलाई संस्थागत गर्दै लैजाने महान् कार्यमा विगतमा जस्तै यस पटक पनि सफलता प्राप्त गर्ने जनविश्वास रहेको छ । जनताप्रति पूर्ण भरोसा र विश्वास राख्ने नेताले भोलि पनि चुनावको सामना गर्नुपर्ने भएकाले अन्यथा गरिहाल्छ भनेर अहिल्यै सोच्नु गलत हुन्छ ।
सामाजिक सुधारका पक्षधर
कतिपय कम्युनिष्ट आलोचकहरूले नेपाली कांग्रेस र प्रधानमन्त्री देउवाको वर्ग चरित्रलाई बुर्जुवा र पुँजीवादी भनेर एकपक्षीय आरोप लगाउने गरेका छन् । तर वास्तवमा देउवाले विगतमा सामाजिक न्यायका लागि थुप्रै काम गरेका छन् । महिला, दलित, आदिवासी, भूमिहीन वर्ग, उपेक्षित क्षेत्र र मधेसी समुदायले थुप्रै अधिकार प्राप्त गरेका छन् । प्राप्त हुन बाँकी अधिकार क्रमशः कार्यान्वयन हुने मार्गमा छन् । नेपाली कांग्रेसमा दलित, महिला, जनजाति, मधेसी, थारु, मुस्लिम, पिछडिएको क्षेत्र एव अपाङ्गता भएका व्यक्तिमध्येबाट पार्टीमा सह महामन्त्री पद सुनिश्चित हुनु देउवाकै योगदानको उपज थियो । यो व्यवस्था आज विधानमै किटान छ । लामो अनुभव एवम् अभ्यासबाट पाठ सिकेर फेरी पनि देउवाले समानता र न्यायका लागि ठोस योजना तर्जुमा गर्न सक्छन् । देउवाको कदम सामाजिक सुधारको मानक बन्न सक्ने ठाउँ छ ।
अन्तर्राष्ट्रिय सम्बन्ध
मित्रराष्ट्रहरूसँगको असल सम्बन्ध बाहेक ठुलो राष्ट्रवाद अरू केही हुन सक्दैन भन्ने दृष्टिकोण देउवाको छ । पाँचपल्ट प्रधानमन्त्री भइसकेका र सोसलिस्ट इन्टरन्यासनलका उपाध्यक्ष रहिसकेका उनमा अन्तर्राष्ट्रिय सम्बन्धको राम्रो ज्ञान छ । अन्तर्राष्ट्रिय सम्बन्धका कारण पनि खोप कूटनीतिमा सघाउ पुग्ने सम्भावना प्रबल छ । हालको कोरोना त्रासदीमा कोरोना महामारीबाट उन्मुक्ति दिलाउन सके ५० प्रतिशत सफलता यसैमा निर्भर छ । अहिले भइरहेको खोपको प्रगतिबाट पनि यो देखिन्छ । कोरोनाबाट उन्मुक्ति पाउन कोभिड खोपको सुनिश्चित गर्न लागिपर्ने देउवाको प्रतिबद्धता छ । जनताका लागि अक्सिजन, बेड, आइसियु एवं भेन्टिलेटर र राहतको जो अहिले माग छ ।
कांग्रेसमा बलियो पकड
नेपाली कांग्रेसका सभापति देउवा पार्टीभित्र निक्कै शक्तिशाली छन् । अहिले काँग्रेसको केन्द्रीय समिति र संसदीय दलमासमेत देउवाको भारी बहुमत छ । पार्टीभित्र गुटकै कुरा गर्ने हो भने पनि हाल आधा दर्जन नेविसंघका पूर्व अध्यक्षहरू देउवाकै पक्षमा दृढतापूर्वक उभिएका छन् । काँग्रेसको नर्सरी मानिने नेपाल विद्यार्थी सङ्घमा देउवा स्वयम् संस्थापक सदस्य र दोस्रो अध्यक्ष हुन् । देउवाको पक्षमा देशभरका नेता कार्यकर्ताहरूको ठुलो पङ्क्तिमा आड र भरोसा देखिन्छ । तरुण दलका संस्थापक अध्यक्षसहित बहुमत अध्यक्षको साथ पनि देउवालाई नै छ । अरू हिसाबले पनि देउवाको पार्टीभित्र दह्रो पकड देखिन्छ ।
राष्ट्रिय राजनीतिको मियो
राष्ट्रिय सहमति निर्माणमा माउ भूमिका खेल्न सक्ने नेताका रूपमा पनि देउवालाई हेर्ने गरिन्छ । संसद्मा ६३ सिट भएको कांग्रेस संसदीय दलका नेता देउवाले १६५ जना सांसदको विश्वास जित्न सफल हुनु यसैको ज्वलन्त उदाहरण हो । राष्ट्रिय सहमति निर्माण गर्नुपर्ने अवस्थामा सवैका लागि सहज विकल्प देउवा नै हुन् । कांग्रेस, माओवादी केन्द्र, जसपाका दुवै खेमा, राजमो मात्र नभएर माधव नेपाल पक्षलाईसमेत एकठाउँमा उभ्याउन सक्नु आफैमा सबल पक्ष थियो । देउवामा अन्तर्निहित राजनीतिक संस्कारले पनि यस्तो राष्ट्रिय एकता कायम गर्ने खुबीको आभास दिलाउँछ । राष्ट्रिय एकताले संविधान र लोकतान्त्रिक गणतन्त्र रक्षाको सन्दर्भमा ठुलो बल पुग्ने आशा राख्न सकिन्छ । देउवाका जतिसुकै आलोचकले पनि समन्वयकारी गुणलाई त आत्मादेखि नै स्विकार्ने गर्दछन् ।
धुलोवाट उठेको नेता
राष्ट्रिय राजनीतिमा आफ्नै बलबुताले उदाएका नेता हुन् देउवा । २०२२ सालमा सुदूर पश्चिमाञ्चल विद्यार्थी सङ्घबाट राजनीतिक यात्रा सुरु गरेका देउवा नेपाल विद्यार्थी सङ्घको संस्थापक सदस्य बन्दै सभापति बनेका थिए । पञ्चायत विरोधी राजनीति गर्दा देउवा नौ वर्षसम्म जेल परे । २०४६ सालको जनआन्दोलनपछि सुदूरपश्चिम क्षेत्रमा नेपाली कांग्रेस पार्टीको राजनैतिक प्रमुखको भूमिकामा रहेर सङ्गठनको अनुभव सँगालेका थिए । २०४८ सालमा डडेलधुराबाट सांसद बनेर गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा तीन वर्ष गृहमन्त्री र २०५१ सालको मध्यावधि निर्वाचनपछि संसद्मा प्रमुख प्रतिपक्षी दलको नेता भए । २०५२ सालमा एमाले नेता मनमोहन अधिकारी नेतृत्वको अल्पमतको सरकार ढलेपछि पहिलो पटक संयुक्त सरकारको प्रधानमन्त्री बन्ने बेलासम्म देउवा राजनीतिक रूपले परिपक्व र सुझबुझ अपनाउने राष्ट्रिय नेता बनिसकेका थिए । सुदूरपश्चिमको विकट भूगोलमा जन्मेर पनि अनेक हण्डर, ठक्कर खाँदै आजको स्थितिसम्म आइपुगेका हुन् ।
समावेशी र समानुपातिकका पक्षधर
समावेशीकरणको विषयलाई विपी कोइरालापछि जबरजस्त उठान गर्ने र लागू गराउने युगान्तकारी भूमिकामा देउवाको महत्त्वपूर्ण योगदान रहेको छ । महिला, दलित, आदिवासी, अनि मधेसी समुदायले आज थुप्रै अधिकार प्राप्त गरेका छन् । प्राप्त हुन बाँकी अधिकार क्रमशः कार्यान्वयन हुने मार्गमा छन् । जसमा नेपाली कांग्रेस र सभापति देउवाको भूमिका महत्त्वपूर्ण छ । पार्टीभित्रै पनि आन्तरिक सङ्घर्ष गरेर देउवाले समावेशीकरणको विषयलाई उठाई नै रहे । दलितका अधिकार कार्यान्वयन गराउन २०५४ सालमा उपेक्षित उत्पीडित र दलित विकास समितिको गठन देउवाकै योगदान हो । यस्तै जनजातिको हित प्रवर्द्धनका लागि जनजाति विकास समिति गठन गरियो ।
दलित वर्गलाई न्याय र अधिकारका लागि राष्ट्रिय दलित आयोग, महिला अधिकार प्रवर्द्धनका लागि राष्ट्रिय महिला आयोग, आदिवासी जनजातिको हक स्थापनार्थ भिन्नै विकास प्रतिष्ठान । यी चिजको विकास गर्ने देउवा नै वास्तविक परिकल्पनाकार थिए । देउवा नेतृत्वको सरकारकै कार्यकालमा महिलालाई पैतृक सम्पत्तिमा समान अधिकार दिन मुलुकी ऐनको ११ औँ संशोधन– २०५९ आएको ऐतिहासिक दृष्टान्त बिर्सन सकिने घटना होइन । यी सब चिजकै कारण आज समाजका हरेक वर्ग र क्षेत्रमा अधिकारको समान वितरणको काम भइरहेको छ । कांग्रेसमा कर्णाली, दलित, महिला, जनजाति र मधेसी (कदमजम) लाई समानुपातिक सहभागिताको नारा दिने देउवा नै थिए ।
अन्त्यमा,
पाँच पटक प्रधानमन्त्री बनिसकेका देउवाका लागि अब व्यक्तिगत स्वार्थ र लोभ लालच रहनुपर्ने केही कारण छैन । पत्नी या छोरालाई लिगेसीको आडमा अघि सार्ने सम्भावना पनि उनीमा देखिँदैन । वंशजका आधारमा नभै नेतृत्वमा आफै सक्षम भएर आउनु आफैमा ठुलो शक्ति हो । त्यो अधिकारको विषय पनि हो । जतिसुकै आलोचना गर्नेहरूप्रति पनि निषेधको राजनीति गर्ने स्वभाव पनि देउवामा देखिँदैन । आफ्ना अभिव्यक्तिबाट अरूको मर्ममाथि चोट पुर्याउने बानी देउवामा छैन । यदाकदा चित्त नबुझेको कुरामा झडङ्ग रिसाउने स्वभाव छ, तर सँगसँगै देउवाको उदारताले त्यो चिज स्वयंमा विलीन हुन पुग्दछ ।