arrow

लडाकुदेखि मुख्यमन्त्रीसम्म कमरेड 'सोनाम' को यात्रा

रोल्पाबाट निर्वाचित कमरेड सोनामलाई लुम्बिनीको नेतृत्व गर्ने अवसर

logo
नारायण वली,
प्रकाशित २०७८ साउन २८ बिहिबार
kul-prasad-kc.jpg

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले राजीनामा दिएपछि विपक्षी गठबन्धनका तर्फबाट मुख्यमन्त्रीमा प्रस्तावित माओवादी केन्द्रका नेता कुल प्रसाद केसी ‘सोनाम’ले अब प्रदेश सरकारको जिम्मेवारी लिने भएका छन् ।

पोखरेलले बुधवार प्रदेश सभामा आफू विरुद्ध दर्ता भएको अविश्वास प्रस्तावको सामना गर्नुपर्ने भएपछि राजीनामा दिएका थिए । तत्कालीन नेकपाबाट मुख्यमन्त्री बनेका पोखरेल अल्पमतमा परेसँगै राजीनामा दिएर बाहिरिए पछि माओवादी केन्द्रका संसदीय दलका नेता केसी मुख्यमन्त्री बन्न लागेका हुन्। उनी सशस्त्र जनयुद्धका एक होनहार लडाकु कमान्डर पनि हुन् ।

नेपाली काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा लगायत दलको समर्थनमा नेता केसीले मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्ने बल पुगेको छ । माओवादी र नेपाली काँग्रेस बिच भएको मौखिक सहमति बमोजिम केसीले ८ महिना मुख्यमन्त्रीको नेतृत्व गर्ने अवसर पाउने भएका हुन्।

त्यसपछि काँग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले बाँकी ८ महिनाको अवधिमा मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्ने सहमति भएको छ । प्रदेश सभाका कूल ८० सदस्य मध्ये केसीको पक्षमा ४१ जना सांसदले समर्थन जनाएका छन्।

लुम्बिनी प्रदेशको नेतृत्व गर्ने अवसर यसअघि दाङ क्षेत्र नम्बर २ ‘क’ बाट निर्वाचित पोखरेलले पाएका थिए, भने अब रोल्पाबाट निर्वाचित कमरेड सोनामले पाउने भएका हुन् । कमरेड सोनाम २०२७ साल माघ १० गते रोल्पाको रोल्पा नगरपालिका वडा न ६ ज्यूवाङमा जन्मिएका हुन्।

पूर्व सभामुख कृष्ण बहादुर महराबाट प्रभावित भएका उनी विद्यालय तहमै पढ्दा राजनीतिमा जोडिएका थिए । उनी २०४३ सालमा नेकपा मसालको विद्यार्थी सङ्गठनमा आबद्ध भएर राजनीतिक यात्रालाई अझ बलियो बनाए।

एसएलसी उत्तीर्ण गरेपछि उच्च शिक्षा अध्ययन गर्न दाङको महेन्द्र बहुमुखी क्याम्पसमा झरे। त्यहाँ आइए पढ्दापढ्दै विद्यार्थी सङ्गठनमा आबद्ध भई सक्रिय राजनीति गर्न थालेको र विद्यार्थी राजनीति सुरु गरेको ४ वर्षपछि २०४७ सालमा सक्रिय पार्टी सदस्यता पाएको बिझिएको छ ।

विद्यार्थी राजनीतिमा सक्रिय नेता केसी सोनाम शिक्षक भए पनि आफ्नो राजनीतिलाई निरन्तरता दिँदै, प्राथमिक तहको स्थायी शिक्षक भएका केसी पार्टीमा एरिया सेक्रेटरी को भूमिकालाई कर्तव्य पालनाका साथ लागि परे ।

२०५० साल तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालालाई स्थायी शिक्षकले कालो झन्डा देखाएको भन्दै उनले शिक्षक बाट अवकाश लिनु पर्‍यो।

स्थायी शिक्षकले प्रधानमन्त्रीलाई कालो झन्डा देखाएर विरोध गरेको भन्दै शिक्षक बाट राजीनामा दिन परेपछि उनी सक्रिय राजनीतिमा आए। शिक्षकबाट राजीनामा दिएपछि केसी तत्कालीन जनमोर्चामा सक्रिय भई भूमिगत राजनीति गर्न थाले।

२०५२ साल फागुन १ गते तत्कालीन माओवादीले ‘जनयुद्ध’मा जाने घोषणा गरेपछि उनी भूमिगत भई माओवादीमा सक्रिय भए। माओवादी ‘जनयुद्ध’मा जाने बेला उनी रोल्पा जिल्ला पार्टी सदस्य मात्रै थिए।

भूमिगत भई राजनीति गर्न थालेपछि उनको राजनीतिक उचाइ थपिँदै गयो। २०५५ सालमा उनले दाङ, प्युठान र सल्यान जिल्लाको सेक्रेटरीको भूमिका पाए। त्यसपछि २०५६ सालमा भेरी, कर्णाली सैन्य कमिसार र २०५७ सालको दोस्रो राष्ट्रिय सम्मेलन बाट पार्टी केन्द्रीय सदस्यमा निर्वाचित भए।

रोल्पामा जन्मिएका केसीले आफ्नो गृह जिल्ला मात्रै होइन सशस्त्र युद्धमा रापती क्षेत्रका चर्चित नेताको रूपमा परिचय बनाए। २०५६ सालपछि भेरी, कर्णाली क्षेत्रको सैन्य कमिसार बनेपछि त्यस क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाए।

तत्कालीन माओवादीले पहिलो पटक रोल्पाको होलेरी आक्रमण गर्दा केसी समेत सहभागी भएको बताइएको छ । जुनसुकै पेसा वा क्षेत्रमा भए पनि केसीले राजनीतिलाई सधैँ निरन्तरता दिएको उल्लेख छ।

कमरेड ‘सोनाम विद्यार्थी हुँदा राजनीतिमा जोडिने मात्रै होइन, रोल्पा लिवाङ स्थित बाल कल्याण माविमा स्थायी शिक्षक समेत भए । त्यति बेला उनी जनमोर्चामा आबद्ध भएको र ‘स्थायी शिक्षक बाट राजीनामा दिनुपर्ने अवस्था आएपछि राजीनामा दिएर ‘जनयुद्ध’मा होल टाईमार भएर लागे ।

‘जनयुद्ध’मा केसीको चर्चा चुलिँदै गएपछि उनी तत्कालीन सेनाको नजरमा पर्न थाले। त्यति नै बेला पार्टी बैठकका लागि भारत जाने क्रममा २०६० साल जेठ २० गते पक्राउ परे। त्यसपछि उनी २०६३ साल साउन सम्म झन्डै तीन वर्ष भारतको बक्सर जेलमा बन्दी जीवन बिताए।

तत्कालीन माओवादी शान्ति प्रक्रियामा आएपछि मात्रै केसी जेल बाट छुटेका थिए। जेल बाट छुटेपछि २०६३ सालमा काभ्रेको कामीडाँडा बैठकबाट ‘जनमुक्ति सेना’को तेस्रो डिभिजन कमिसारको भूमिका पाए। तत्कालीन माओवादी ‘जनमुक्ति सेना’ क्यान्टोनमेटमा राखिएपछि वाईसीएलको इन्चार्जको भूमिका पाए।

लडाकु स्वभावका केसी तत्कालीन माओवादीमा दुई लाइन सङ्घर्ष भएपछि मोहन वैद्य तिर लागे। पुष्पकमल दाहाल ‘प्रचण्डले क्रान्तिलाई धोका दिएको भन्दै २०६९ सालमा वैद्यले नेकपा माओवादी गठन गरेपछि मूल पार्टी एकीकृत माओवादी छोडे।

प्रचण्डको साथ छोडेका केसी दोस्रो संविधान सभा निर्वाचन बहिस्कार अभियानमा लागे। वैद्यसँग झन्डै चार वर्ष बस्दा समेत केही हुन नसकेपछि केसी रामबहादुर थापा ‘बादल’सहित माओवादीमै फर्किए। एमाले-माओवादी तालमेल गरेपछि केसी रोल्पाबाट प्रदेश सभा सदस्य निर्वाचित भए।

तत्कालीन एमाले, माओवादी गठबन्धनमा एमालेका शङ्कर पोखरेल मुख्यमन्त्री भएपछि केसीले माओवादी कोटाबाट आन्तरिक मामिला तथा कानुन मन्त्रीको जिम्मेवारी पाएका थिए।

तत्कालीन नेकपामा केन्द्रीय सदस्य भएका केसी कानुन मन्त्रीकै जिम्मेवारी सम्हालेर दलको उपनेता थिए। एमाले-माओवादी एकता भत्किएपछि आन्तरिक मामिला मन्त्रीबाट राजीनामा दिएर उनी मुख्यमन्त्रीको दौडमा लागेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ