- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री नियुक्त भएका शेरबहादुर देउवा प्रधानमन्त्रीको कार्यकाल एक महिना पुगेको छ ।
गत असार २९ गते प्रधानमन्त्री बनेका देउवाले एक महिनामा कोरोना भाइरस विरुद्धको खोप अभियान प्रभावकारी बनाएर लगेपनि मन्त्रिपरिषद्लाई पूर्णता दिन भने सकेका छैनन् ।
एक महिनाको अवधीमा नेपाली कांग्रेसको तर्फबाट दुई जना, माओवादी केन्द्रकातर्फबाट दुई गरी चार मन्त्री र कांग्रेसबाट एक राज्यमन्त्रीको सहारामा सरकार चलाइरहेका देउवाले आफू एक्लैले १७ वटा मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।
गठबन्धनमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीमा मन्त्रीका आकांक्षी धेरै भएकाले नामावलीको टुंगो लगाउन नसक्दा मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन् ।
तर सत्ता गठबन्धनको अर्को सहयात्री घटक एमालेको माधव नेपाल समूहलाई सरकारमा सहभागी गराउन प्रयास जारी राखेको र नेपाल समूहको निर्णय पर्खिदा मन्त्रिपरिषद विस्तारमा ढिलाई भएको दाबी गरिएको छ ।
तर यसबीचमा सरकारले साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरेलगत्तै गठबन्धनका शीर्ष नेताहरुले मन्त्रिपरिषद् विस्तारको गृहकार्य थालेका थिए । नामावलीको टुंगो लगाउने सवालमा गठबन्धन आवद्ध पार्टीहरु आन्तरिक समस्यामा रहेकाले मन्त्रीको टुंगो लाग्न नसकेको बताइन्छ ।
यद्यपी, मन्त्रिपरिषदलाई पूर्णता दिन नसकेपनि कोभिड–१९ बाट उत्पन्न महाविपत्तिबाट जनतालाई मुक्ति दिलाउन सरकारले आगामी असोजसम्ममा एक तिहाइ नागरिकलाई र चैत मसान्तसम्ममा खोप लगाउन योग्य सबै नेपालीलाई निःशुल्क खोपको व्यवस्था गर्ने प्रतिवद्धता जनाइसकेको छ ।
अर्कोतर्फ निर्धारित मितिमा पार्टीको १४औं महाधिवेशन नहुने भएपछि पार्टीभित्रै अप्ठेरोमा परेका प्रधानमन्त्री देउवा महाधिवेशनको नयाँ मिति टुंग्याएर मात्रै मन्त्री थप्ने रणनीतिमा रहेको बुझिएको छ ।