arrow

डिल्लीरामले यसरी डुवाउँदै छन् टेलिकम, नेतृत्वमा पुगेदेखि नै घटिरहेछ नाफा

logo
प्रकाशचन्द्र जोशी,
प्रकाशित २०७८ साउन ३० शनिबार
telecome-dilliram.jpg

काठमाडौं। नेपाल टेलिकममा एक महिनादेखि कर्मचारीहरुको धर्ना र प्रदर्शन जारी छ। कर्मचारीहरुले प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीलाई प्रवेश निषेध गरेकै कारण एक महिनादेखि नै उनी कार्यालय जान सकेका छैनन्। कर्मचारीहरु घर गएको मौका पारेर अधिकारी केहि रात कार्यालय गएपनि कर्मचारीहरुकै अवरोधका कारण कार्यालय समयमा भने उनी टेलिकममा जान सकेका छैनन्।

सत्ता र शक्तिको प्रभावमा अधिकारीले टेलिकमको विनियमावली परिवर्तन गराएका थिए। अन्य सरकारी संस्थान र निकायको भन्दा फरक खालको विनियमावलीमा उनले आफ्नो सुरक्षा खोजेका थिए। भ्रष्टाचारको आरोपमा पदमुक्त भएका तत्कालिन संचारमन्त्री गोकुल वास्कोटाको प्रभावमा संसोधन भएको विनियमावलीमा प्रवन्ध निर्देशक भएको व्यक्ति फेरि तल्लो तहमा फर्कन मिल्ने बनाइएको थियो।

यो व्यवस्थापछि आन्दोलित भएका कर्मचारीहरुले अब प्रवन्ध निर्देशकको वहिर्गमन पछि मात्रै आफ्नो आन्दोलनलाई विश्राम दिने बताएका छन्। आफ्नो र आफ्नो गुटको स्वार्थका लागि जे पनि गर्ने व्यक्ति नेतृत्व तहमा रहेसम्म टेलिकम धराशायी हुने भन्दै अहिले टेलिकमका सबै कर्मचारीहरु आन्दोलित भएका हुन्।

टेलिकमको नेतृत्वकै कारण हरेक दिन नाफा घट्दै गएको चिन्ता गर्ने कर्मचारीहरुले आफ्नो रोजीरोटी मात्र नभइ राष्ट्रकै संचारको रुपमा रहेको टेलिकमलाई प्रक्रियागत ढंगले सक्ने बाटोमा लागेको आरोप समेत लगाएका छन् । कर्मचारीहरुको यो आरोपमा धेरै सत्यता पनि देखिएको छ। विगत आठ बर्षको टेलिकमको आय र खुद नाफालाई हेर्ने हो भने कर्मचारीहरुको यो आरोपको पुष्टी समेत हुन्छ।

आर्थिक बर्ष ०७०/७१ कुल ३९ अरव ६७ करोड आय गरेको टेलिकमले ११ अरव ५७ करोड खुद नाफा गरेको थियो। ०७१/७२ मा आय बढेर ४२ अरव ७० करोड पुगेको थियो भने खुद नाफा १४ अरव ५५ करोड पुगेको थियो। यो क्रम अर्को आर्थिक बर्षमा पनि देखिएको थियो। ०७२/७३ मा ४४ अरव २१ करोड आय पुग्दा खुद नाफा १८ अरव ५ करोड पुगेको थियो । नाफाको हिसावले यो आर्थिक बर्ष टेलिकमकै इतिहासमा राम्रो मानिन्छ ।

आर्थिक बर्ष ०७३/७४ मा ४४ अरव ५९ करोड आय गरेको टेलिकमले १५ अरव ३७ करोड नाफा गरेको थियो। ०७४/७५ मा टेलिकमले आफ्नो व्यापार अझ वढाई ४५ अरव २७ करोड आय गरेकोमा १७ अरव ४८ करोड नाफा गरेको थियो।

टेलिकमको नेतृत्वमा अधिकारीको प्रवेश भएपछि भने टेलिकमको प्रत्येक बर्ष व्यापार मात्र हैन नाफा पनि घटेको देखिन्छ। ५२ जना आफ्ना सिनियरहरुलाई पछि पार्दै अधिकारी तत्कालिन संचारमन्त्री गोकुल वास्कोटाको निकट भएकै कारण प्रवन्ध निर्देशक भएका थिए। एक कर्मचारीले हाम्राकुरासँग भने, ‘टेलिकमको दुर्भाग्य, सोहि बर्षबाटै आय र नाफा दुबै घट्दै गयो।‘

०७५/७६मा ४३ अरव ७७ करोड आय गरेको टेलिकमले ९ अरव ९३ करोड नाफा गरेको थियो। यो नाफा अघिल्लो बर्षको तुलनामा ७ अरव ५५ करोड कम हो। अधिकारीको कार्यकालमा टेलिकमको ओरालो यात्रा यतिकैमा रोकिएन। आर्थिक बर्ष ०७६/७७ मा ४२ अरव ९९ करोडको आय गरेको टेलिकमको नाफा भने ९ अरव ७५ करोडमा सिमित रह्यो।

यो आय र नाफा दुवै उनकै कार्यकालको पहिलो बर्ष भन्दा कम हो। सो आर्थिक बर्षमा टेलिकमको आय ७८ करोड कम थियो भने नाफा १८ करोड कम थियो। जुन आय र नाफा उनको कार्यकाल शुरु हुनु भन्दा अघीको आर्थिक बर्षको आयसँग तुलना गर्दा अझ कम हुन आउँछ। सबैभन्दा बढी खुद नाफा गरेको बुद्धी आचार्य प्रवन्ध निर्देशक भएको आर्थिक बर्ष ०७२/७३ को भन्दा ८ अरव ३० करोड कमी थियो।

आर्थिक बर्ष ०७७/७८ त अधिकारीको कार्यकाल नाफाको हिसाबले सबैभन्दा गएगुज्रेको साल भयो। ४२ अरव ७१ करोडको आय गरेको टेलिकमले सो बर्ष ७ अरव ५८ करोड खुद नाफा गरेको थियो। यो तथ्यले टेलिकमको नाफा मात्र घटाएको थिएन अधिकारीको घट्दो कार्यक्षमतालाई पनि दर्शाएको थियो।

अधिकारीले टेलिकम सम्हाल्नु अघी १७ अरव ४८ करोड खुद नाफामा रहेको संस्थालाई तीव्र गतीमा ओरालोतर्फ लैजादै ९ अरव ९० करोड कम नाफामा सिमित गरेका थिए। यद्यपी यस बीचमा टेलिकमका सेवा विविधीकरण हुँदै यसका ग्राहक संख्या भने बढेको थियो।

०७०/७१ मा जीएसएम ग्राहक ९० लाख १९ हजार ८०९ भएकोमा ०७७/७८ मा १ करोड ९७ लाख ५४ हजार ४५३ पुगेको थियो भने पीएसटीएन लाइन पनि ६ लाख ५३ हजार २०२ बाट बढेर ६ लाख ६९ हजार १४२ पुगेको थियो । इन्टरनेट चलाउनेहरुको संख्या पनि ३२ लाख ४० हजार ५७८ बाट बढेर १ करोड ३८ लाख ६८ हजार ३५३ जना पुगेको थियो।

ग्राहक संख्या बढ्दै जाँदा पनि कमजोर व्यवस्थापकीय क्षमताका कारण अधिकारीले टेलिकमलाई हरेक दिन ओरालो हुँदै डुवाउनेतर्फ लगिरहेको नेपाल टेलिकम वर्कस युनियनका अध्यक्ष राजेन्द्र प्रसाद जोशीले आरोप लगाए। ‘प्रतिष्पर्धी संस्थाहरु दिन दुगुना रात चौगुना प्रगती गर्दा टेलिकम किन कमजोर बन्यो भनेर हाम्रो प्रश्न नेतृत्वलाई थियो तर अब उनीबाट अब पार लाग्ने अवस्था छैन,’ जोशीले भने।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ