- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपाली काँग्रेसको क्रियाशील सदस्यलाई विधानले दिएको अधिकार कटौती गरिएको प्रति क्रियाशील सदस्यहरूले आपत्ति जनाएका छन् । उनीहरूले काँग्रेस भित्रको गुटले विधानको पालनालाई कमजोर बनाएको र गुटको स्वार्थका लागि मनोमानी ढङ्गबाट क्रियाशील सदस्यको अधिकार काट्न खोजिएको भनेका हुन् ।
पर्साको ठोरी गाउँपालिका २ बाट काँग्रेसको क्रियाशील सदस्य रहेका पीताम्बर सिलवाल विधानको पालनामा पटक पटक चुक्दा काँग्रेस कमजोर बनेको बताउँछन् । ‘विधान एकातिर काँग्रेसको निर्णय अर्कै तिर भएका धेरै उदाहरणहरू छन्, अहिले पनि त्यही भएको सुनिंदैछ, विधानले क्रियाशील सदस्यलाई अधिकार दियो, तर शीर्ष नेताको सहमतिबाट पालिका तहमा सदस्यलाई मत हाल्नबाट वञ्चित गरिंदैछ भन्ने सुनिंदैछ, यो ठिक होइन,’ सिलवालले हाम्रा कुरासँग भने ।
उनले जिल्लामा रहेका नेताहरूले क्षेत्र र पालिकामा आफ्नो पकड कमजोर हुन्छ भन्ने सोचेर क्रियाशील सदस्यलाई दिएको अधिकार काट्न खोजेकोसमेत बताए । ‘क्षेत्र र पालिकामा आफ्नो पकड कमजोर हुन्छ भन्ने सोचेर क्रियाशील सदस्यलाई दिएको अधिकार काट्न खोजिएको हो, प्रजातान्त्रिक पार्टी काँग्रेसको यो निर्णय सच्याइनु पर्छ, विधानमा भएको अधिकार क्रियाशील सदस्यलाई दिइनु पर्छ,’ सिलवालले थपे ।
सोही वडाकी क्रियाशील सदस्य प्रेमकुमारी गौतम काँग्रेस जस्तो ‘मासबेस’ पार्टीले विधानमा दिएको अधिकार खोस्नु नै क्रियाशील सदस्यमाथि घात भएको बताइन् । ‘काँग्रेस जस्तो मास बेस पार्टीले विधानमा दिएको अधिकार खोस्नु नै क्रियाशील सदस्यमाथि घात हो, यो स्वीकार्य हुँदैन,’ उनले भनिन् ।
ठोरी ५ का क्रियाशील सदस्य सूर्य कोइरालाले क्रियाशील सदस्यको सङ्ख्या दोब्बर बनाउने दलले सदस्यको सङ्ख्या बढाउने तर अधिकार घटाउने काम गर्नु ठिक नहुने बताए । ‘क्रियाशील सदस्यको सङ्ख्या दोब्बर बनाउने दलले सदस्यको सङ्ख्या बढाउने तर अधिकार घटाउने काम गर्नु ठिक होइन, सदस्य थुपारेर ब्लक गरेर राख्दा काँग्रेस तग्रिन सक्दैन,’ कोइरालाले भने ।
केही दिनअघि मात्रै काँग्रेसले विधानमा संशोधन गर्दै पालिका अधिवेशनमा वडा सभापति र क्षेत्रीय प्रतिनिधि मात्रै मतदाता हुने गरी विधान संशोधन गरेको थियो ।
यसअघि भने काँग्रेस विधानमा पालिकाभित्र रहेका सबै क्रियाशील सदस्य अधिवेशनका सदस्य हुने प्रावधान थियो ।
काँग्रेस नेता रमेश लेखकले कोरोना महामारीलाई ध्यान दिँदै अधिवेशनमा भिडभाड नहोस् भनेर यस्तो व्यवस्थासहितको विधान संशोधन गरिएको बताएका थिए । सांसोधित विषयलाई मङ्सिरका लागि तय गरिएको १४औँ महाधिवेशनबाट अनुमोदन गराइने भनिएको छ ।
‘विधानको धारा ८ (१) (क) र धारा ९ (१) (ख) मा उल्लेख गरिएको क्रमशः ‘गाउँपालिका क्षेत्र भित्रका सम्पूर्ण नेपाली काँग्रेसका क्रियाशील सदस्य गाउँपालिका अधिवेशनका र नगर/उपमहानगर/महानगरपालिका क्षेत्र भित्रका नेपाली काँग्रेसका क्रियाशील सदस्य नगरपालिका अधिवेशनका सदस्य’ भनिएकोमा ‘गाउँपालिका क्षेत्रभित्रका वडा सभापति र क्षेत्रीय प्रतिनिधि तथा नगरपालिका क्षेत्र भित्रका वडा सभापति र क्षेत्रीय प्रतिनिधि भनी संशोधन गर्ने,’ काँग्रेसले केन्द्रीय समिति बैठकबाट गरेको निर्णयमा भनेको छ ।
विधान अनुसार एक सय पचास वा सोभन्दा कम क्रियाशील सदस्य भएको वडामा क्रियाशील सदस्यमध्येबाट कम्तीमा तीन महिलासहित नौ जना क्षेत्रीय प्रतिनिधि प्रत्यक्ष निर्वाचित हुने व्यवस्था छ ।
त्यस्तै १५० भन्दा बढी क्रियाशील सदस्य भएको वडामा बढीमा ७५ को सीमाभित्र रही प्रति एक सय थप क्रियाशील सदस्यमा थप दुई महिलासहित ६ जना प्रतिनिधि चयन गर्न पाउने व्यवस्था छ । कोरोनाको जोखिम नघटेको र विभिन्न जिल्लामा निषेधाज्ञा पनि जारी भएको अवस्थामा थोरै उपस्थित हुन मिल्ने गरी विधानको व्यवस्थामा संशोधन गरिएको काँग्रेसले जनाएको छ ।
यसै गरी काँग्रेसले गाउँ/नगर/उपमहानगर र महानगरपालिकाको कार्यसमितिको सभापतिको उम्मेदवार क्षेत्रीय प्रतिनिधि मात्रै हुन पाउने गरी विधान संशोधन गरेको छ । यसअघि महासमिति बैठकले बनाएको विधानमा काँग्रेसको क्रियाशील सदस्यता लिएको दुई वर्षको सदस्य पालिका सभापतिको उम्मेदवार बन्न पाउने व्यवस्था थियो । सभापति बाहेकको कार्यसमितिका पदाधिकारी र सदस्यको उम्मेदवार भने क्रियाशील सदस्य पनि हुन सक्ने छन् ।
‘गाउँ/नगर/उपमहानगर/महानगरपालिका कार्यसमितिमा मतदाता वडा सभापति र क्षेत्रीय प्रतिनिधि हुने व्यवस्था गरिएको छ,’ काँग्रेसको निर्णयमा भनिएको छ ।
यस्तै अपाङ्गता भएका व्यक्तिहरूको प्रतिनिधित्वका सन्दर्भमा विधान र नियमावलीमा गरिएको पालिकाका क्रियाशील सदस्यहरूले निर्वाचित गर्ने भन्ने उल्लेख गरिएका पदहरूको निर्वाचन वडा सभापति र क्षेत्रीय प्रतिनिधिले गर्ने जनाएको छ ।