arrow

मोबाइलबाट इन्टरनेटबिना सबै विद्यार्थीले पढ्न सक्ने 'एप', गण्डकी प्रदेश सरकारले गर्‍यो उद्घाटन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १० बिहिबार
pd smart education.png

काठमाडौं। 'प्रज्ञान दृष्टि स्मार्ट एजुकेसन' संस्थाले 'पीडी स्मार्ट अफलाइन इजी लर्निङ' एपको विकास गरेको छ। यो एप डाउनलोड गरेपछि अथवा आफ्नो विद्यालयका शिक्षकबाट मोबाइलमा हालेपछि इन्टरनेटबिना नै अफलाइनमा पढ्न सकिने छ।

एपमा लेखिएका फाइलहरू मात्रै हैन, भिडियो, फोटोसहित सरकारी विद्यालयका विद्यार्थीहरूले मज्जाले पढ्न सक्नेछन्। प्रज्ञान दृष्टि स्मार्ट एजुकेसन संस्थाले विकास गरेको यो एप गत शनिवार गण्डकी प्रदेश सरकारले उद्घाटन गरिसकेको छ ।

कोभिड-१९को महामारीले लामो समयदेखि विद्यालयहरू बन्द छन्। सहरमा खास गरी प्राइभेट विद्यालयका बच्चाहरू अनलाइन क्लास लिइरहे पनि अधिकतम ग्रामीण भेगमा सरकारी विद्यालय पढ्ने विद्यार्थीको शैक्षिक अवस्था दयनीय बनेको छ।

सहर र प्राइभेट विद्यालयलाई लक्षित गरेर अन्य अनलाइन सिकाइका एप बने पनि, प्रज्ञान दृष्टिले भने सरकारी विद्यालय र जहाँ इन्टरनेट त परेको कुरा फोन गर्न टावरसमेत टिप्दैन त्यस्ता ठाउँका विद्यार्थीको लागि सोच्दै यस्तो एपको विकास गरेको हो।

प्रज्ञान दृष्टि स्मार्ट एजुकेसनका अध्यक्ष तेजबहादुर चन्दले भने, 'जहाँ टावर टिप्दैन, त्यहाँका विद्यार्थीहरूले कसरी पढ्ने, कोभिड१९को महामारीकै बेला मात्रै हैन, अघिपछि पनि बिना इन्टरनेट अब, पीडी स्मार्ट अफलाइन इजी लर्निङ एपबाट भिडियो सहित पढ्न सक्छन्।'

कसरी काम गर्छ पीडी स्मार्ट अफलाइन इजी लर्निङ एपले ?

यो एप अहिले एन्ड्रोइडमा मात्रै उपलब्ध छ। गुगल प्ले स्टोरबाट एप डाउनलोड गर्न सकिन्छ। तर, सरकारी निकायबाट समन्वय भइरहेका कारण यो एप डाउनलोड गरेर चलाउन पासवर्ड चाहिन्छ। 

जस्तै गण्डकी प्रदेश सरकारले तयारी सकेसँगै त्यहाँका सबै विद्यालयमा प्रज्ञान दृष्टि स्मार्ट एजुकेसनकै कर्मचारीहरू गएर एप उपलब्ध गराउँछन्। त्यसपछि सबै विद्यालयले आफ्ना विद्यार्थीहरूको मोबाइल अथवा अभिभावकको मोबाइलमा एप हालिदिन्छन् र पासवर्ड पनि उपलब्ध गराउँछन्।

कति कक्षाका विद्यार्थीले पढ्न सक्छन् ?

सरकारी विद्यालयका कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरूले यो एपबाट पढ्न सक्नेछन्। कक्षाको ११ र १२ को पाठ्यक्रम परिवर्तन भएका कारण अहिले नयाँ पाठ्यक्रम उपलब्ध गराउने तयारीमा प्र ज्ञान दृष्टि स्मार्ट एजुकेसन छ।

के के पढ्न सकिन्छ ?

अफलाइन एप भएका कारण कक्षा ६ को विद्यार्थीले कक्षा ६ कै पाठ्यक्रम उपलब्ध हुने गरी एप सेट गर्न सक्ने छ। यसरी एपको पर्फमेन्स राम्रो हुनेछ।

एपमा सबै विषयका सबै पाठका सबै कुराहरू भिडियोसहित र लेखिएको सहित उपलब्ध हुनेछन्।

कति प्रभावकारी हुन्छ ?

प्रज्ञान दृष्टि स्मार्ट एजुकेसनका अध्यक्ष तेजबहादुर चन्द भन्छन्, एक क्लिक गर्दा एप खुल्छ, अर्को क्लिक गर्दा मानौँ विज्ञानको किताब खुल्यो, तेस्रो क्लिक गर्दा पाठ १ खुल्यो, अब पढ्यो, किताब खोल्नु भन्दा छ। उसो त, आजभोलि एन्ड्रोइड फोन नभएका घरहरू सायदै होलान्।

प्राइभेट विद्यालयका र सहरी क्षेत्रका बालबालिकाहरूलाई लक्षित गर्दे थुप्रै अनलाइन एजुकेसन प्लेटमर्फहरु खुलेका छन्। तर, सरकारी विद्यालयका र दुरदराजका विद्यार्थीहरूको भविष्यबारे सोच्दै यो एप विकास गरिएको अध्यक्ष चन्द बताउँछन्।

कसरी उपलब्ध हुँदै छ एप ?

यो एप सात वटै प्रदेश सरकारसँग समन्वय गरेर देशभरिकै विद्यालय उपलब्ध गराउने तयारीमा रहेको अध्यक्ष चन्दले बताए। 

गण्डकी प्रदेशको शिक्षा, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्रालयले गत शनिवार स्याङ्जाको भीर कोट नगरपालिका २ स्थित दह थुम माध्यमिक विद्यालयमा यो एपको परीक्षण गरेको हो।

गण्डकी प्रदेशले १ हजार ४ सय ४८ विद्यालयका कक्षा ६ देखि १२ कक्षा सम्मका करिब ३ लाख ६० हजारभन्दा बढी विद्यार्थी लाभान्वित हुने अनुमान गरेको छ।

यसरी नै देशभरिका विद्यालयबाट चाँडै नै सबै विद्यार्थीहरूको हात हातमा यो एप पुर्‍याउने लक्ष्य रहेको अध्यक्ष चन्दले बताए। ,यो एप पुगेपछि विद्यार्थीहरूलाई पढ्नका लागि इन्टरनेट, टावर, डेटा, वाइफाइ, रिचार्ज केही चाहिँदैन, तर मोबाइलमा चार्ज भने चाहिन्छ', उनले हाँस्दै भने।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ