- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
कपिलवस्तु। लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले प्रदेशमा निर्माण भएको गठबन्धनको सरकारले जनमुखी तथा विकास केन्द्रित बजेट ल्याउने बताएका छन् । जनता समाजवादी पार्टी नेपालको मायादेवी गाउँपालिका समितिले लुम्बिनी प्रदेशका मुख्य मन्त्री सहित नयाँ मन्त्रीहरूलाई पकडीमा राखेको स्वागत कार्यक्रममा मुख्यमन्त्री केसीले ओली सरकारले जस्तै हुन नसक्ने खालका कार्यक्रम वर्तमान सरकारले नल्याउने बताए ।
‘वास्तविक र हुने खालका कार्यक्रम ल्याउँछौ, हुने खालको जे देख्छौ त्यही कार्यक्रम ल्याउँछौ ’ उनले भने । ओली सरकारले पानी जहाज र घर घरमा ग्यासको पाइप जडान गर्ने ल्याएको कुरा प्रचारका लागी मात्र रहेको भन्दै अहिलेको गठबन्धन सरकारले जनमुखी र कृषि केन्द्रित कार्यक्रम ल्याउने बताए । सबै पार्टी तथा विकासमुखी साझा कार्यक्रम ल्याउने बताए ।
ओलीले वर्तमान गठबन्धनलाई तोड्ने कोसिस गरेको भन्दै उनले यो गठबन्धन लामो समय सम्म रहने दाबी गरे । वर्तमान सरकारसँग विकासकालागि समय कम भएको भन्दै उनले ओली सरकारले गरेको काम भन्दा डेढ वर्षको अवधि मै राम्रो गरेर देखाउने बताए । वर्तमान सरकारले शिक्षा, स्वास्थ्य, पूर्वाधार पर्यटन विकासमा जोड दिने उनले बताए । कोरोनाको तेस्रो भेरियन्टलाई रोक्न आफ्नो सरकार जति पनि लगानी गर्न पछि नपर्ने बताए ।
उनले मुटु र मिर्गौला रोगीको उपचारमा सहजताकालागि ३ लाख रुपैयाँ दिने बताए । उनले प्राचीन बुद्धकालीन शहरलाई चिनाउन कपिलवस्तुमा ठुलो भ्यु टावर समेत निर्माण गर्ने योजना रहेको बताए । उनले कपिलवस्तुको शानको रूपमा रहेको कालानमक धानको उत्पादन बढाउन समेत विशेष कार्यक्रम ल्याउने बताए ।
सो अवसरमा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री तथा जसपाका केन्द्रीय सदस्य सहसराम यादवले ओली गणतन्त्र विरोधी रहेको आरोप लगाउँदै प्रतिगमनलाई परास्त गर्न गठबन्धन सरकार बनेको बताए । वर्तमान गठबन्धन सरकारले जनता र संविधानको रक्षा गरी देशमा विकास गर्ने उनले दाबी गरे ।
सो अवसरमा पार्टीका केन्द्रीय सदस्य तथा पुर्वमन्त्री दान बहादुर चौधरीले वर्तमान सरकारले समावेशीतालाई विशेष ध्यान दिनु पर्ने बताए । ‘ अहिलेको सरकारले छोटो समय मै धेरै काम गर्न पर्छ ’ उनले भने । कार्यक्रममा प्रदेश मन्त्री सुमन शर्मा रायमाझी र मन्त्री पुर्णमति ढेंगा जसपा पार्टीका जिल्ला अध्यक्ष शैलेन्द्र यादवको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी नेता अशोक कुमार यादव, अब्दुल रसिद खा, शुद्धोदन गाउँपालिका अध्यक्ष निसार अहमद खां , मायददेवी गाउँपालिकाका अध्यक्ष बजरंगी चौधरी लगातयले मन्तव्य दिएका थिए ।