arrow

मुस्किलमा माओवादी र नेकपा एस, मुस्किलमा प्रचण्ड र नेपाल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १३ आइतबार
nepal-prachanda.jpg

काठमाडौं। सत्तामा सहभागी भएको नेकपा माओवादी केन्द्र र सत्तामा सहभागी हुने निर्णय गरेको माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा मन्त्रिपरिषदमा जाने नेताहरुको नाम टुंग्याउन मुस्किल परेको छ । माओवादीले मन्त्रीमा जाने नेताहरुको नाम टुग्याउन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जिम्मा दिएको छ । 

प्रचण्डले आफू निकटका नेताहरुलाई सरकारमा पठाउने तयारी गरेका छन् । यसअघि मन्त्री नपाएकाहरु देव गुरुङ, देवेन्द्र पौडेल, हरिवोल गजुरेल, सुदन किराती, चुडामणी खड्का, मातृका यादव लगायतका नेताहरु आकांक्षी रहेपनि उनीहरुलाई मन्त्री बनाउने नबनाउने विषयमा केही निर्णय गरेका छैनन् । जयपुरी घर्ती, शशी श्रेष्ठ लगायतका नेतृ पनि आकांक्षी रहेका छन् ।

त्यसैगरी नारायणकाजी श्रेष्ठले आफ्नो समूहबाट कुनै पनि हालतमा मन्त्री बनाउनु पर्ने भन्दै लागिरहेका छन् । सके आफै जाने नसकेपनि आफ्नो समूहको तर्फबाट कोही नेताहरुलाई मन्त्री बनाउने विषयमा उनको जोड रहेको छ । ‘मन्त्री छान्ने अधिकार अध्यक्षलाई दिइएको छ त्यसकारण उहाँले नै छान्नु हुनेछ’, सांसद गुरुङले भने । उनका अनुसार यो काम चाडै हुन्छ । 

त्यस्तै सरकारमा जाने व्यक्तिहरुको टुङ्गो लगाउने जिम्मेवारी नेकपा एस पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई दिएको छ । संसदीय दल गठनका लागि आइतबार बसेको बैठकले सो जिम्मेवारी अध्यक्ष नेपाललाई दिएको हो । बैठकले प्रतिनिधिसभा, संसदीय दलका नेतामा अध्यक्ष नेपाल र राष्ट्रियसभा संसदीय दलका नेतामा बेदुराम भुसाललाई चयन गरेको छ । 

बैठकले पाँच सदस्यीय संसदीय दलको विधान बनाउन मस्यौदा कमिटी निर्माण गरेसँगै सरकारमा कसलाई पठाउने भन्नेबारेमा नेपाल स्वंयले निर्णय गर्नेछन् । चाँडै मन्त्रिमण्डल पुनर्गठन हुने र त्यसका लागि आवश्यक समयमा निर्णय गरिने सांसद विरोध खतिवडाले बताए ।

उनका अनुसार सरकारमा पार्टीले पाउने मन्त्रालयको संख्या र कुन कुन मन्त्रालय भन्ने टुङ्गो सरकारमा सहभागी दलहरुको गठबन्धनले गर्नेछ । ‘पहिले मन्त्रालय टुङ्गो लागेपछि नै पार्टीले व्यक्ति टुङ्गो लगाउनेछ,’ उनले भने ।

केही दिनमै मन्त्रिपरिषद् विस्तार हुने सांसद खतिवडाले जानकारी दिए । पार्टीले सरकारमा सहभागी हुने व्यक्ति छान्दा काम, योग्यता, वरिष्ठता, क्षेत्रीय र लैङ्गिक समावेशितालाई ध्यान दिइने उनको भनाइ छ । नेपाल नेतृत्वको पार्टीमा मन्त्री खाने नेताहरुको संख्या अधिक रहेको र मन्त्रालय ६ वटा मात्रै पाउने भएपछि समस्या उत्पन्न भएको छ । 

नेपालले सरकारमा पठाउनका लागि अहिलेसम्म मन्त्री नभएका पुराना नेता तथा सांसदलाई पहिलो प्राथमिकतामा राखेका भएपनि पार्टी विभाजनका लागि सहयोग गर्ने सबैले मन्त्री पद मागेका छन् । तर नेपालले एउटा मापदण्ड बनाउने र त्यही अनुसार मन्त्रीमा पठाउने सुनाएका छन् । बिरोध खतिवडा, मेटमणी चौधरी, बेदुराम भूषाल, प्रेम आले, पार्वती बिसुंखे, जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, रामकुमारी झाँक्री, कृष्णकुमार श्रेष्ठ‘किसान’ सहितका सांसदहरु नेपालको प्राथमिकतामा छन् । 

पहिलो चरणमा नपर्ने सांसदहरुलाई दोस्रो चरणमा मन्त्रीमा पठाउने र कतिपयलाई उपसभामुख, संसदीय समितिको नेतृत्वलगायतमा व्यबस्थापन गर्ने नेपालले सांसदहरुलाई वचन दिएका छन् । अहिले चर्चामा रहेकै नेताहरुलाई सरकारमा सहभागी गराउने नेपाल निकट स्रोतले जनाएको छ । नेपाल समूहको प्रवक्ताकै भूमिकामा रहेका मेटमणि चौधरीलाई पनि सरकारमा जाने आश रहेको छ ।

त्यस्तै सरला यादवले उपसभामुखमा दावी गरिरहेकी छिन् । भवानी खापुङ, पुष्पाकुमारी कर्ण कायस्थ, समिना हुसेन, कृष्णलाल महर्जन पनि कुनै न कुनै समितिको सभापति हुन खोजिरहेका छन् । कतिला खातुन,हिराचन्द्र केसी, धनबहादुर बुढा,गोपालबहादुर बम, पार्वतीकुमारी विशुंखे, लक्ष्मी चौधरी,विना बुढाथोकी,शेरबहादुर कुँवर, ठगेन्द्रप्रकाश पुरी, उदया शर्मा (पौड्याल),सिंगबहादुर विश्वकर्मा नन्दा चपाईं, शान्तिकुमारी अधिकारी जिसी पनि सरकार सहभागिातका लागि आंकाक्षी रहेका छन् । नेपाल समूहमा पछि तुलसा थापा र माया ज्ञवाली पनि थपिएका छन् ।

तुलसा थापा पनि सरकारमा सहभागी हुने इच्छा व्यक्त गरेको स्रोतको दावी छ । थापाका पति वामदेव गौतमले पनि केही दिनमा एमालेबाट राजिनामा दिएर समाजवादी पार्टीमा सहभागी हुने जनाइसकेका कारणपनि थापालाई सरकारमा पठाउनु पर्ने बाध्यता नेपाललाई रहेको छ । सरकारमा ६ जना, राष्ट्रिय सभाको प्रमुख सचेतक र सचेतकमा २ जना, प्रतिनीधि सभाको प्रमुख सचेतक र सचेतकमा  २ जना तथा विकास समितिका सभापतिमा २ जना गरी कम्तीमा १३ जना सांसदले पद पाउने निश्चित छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ