arrow

नेपाल र यादवलाई सांसद चोरिने डर, सांसदहरूले अर्को दल खोल्नेसम्मको चिन्ता 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १५ मंगलबार
Nepal-Yadav.jpg

काठमाडौं। पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले आफू निकटका सांसद चोरिने खतरा रहेको भन्दै सरकारमा सहभागिताको मिति परपर सारेका छन्। निर्वाचन आयोगले २१ गतेसम्म दल रोज्ने समय तोकेकाले त्यसअघि मन्त्रिपरिषद् विस्तार भए मन्त्री नपाएर असन्तुष्ट रहेका सांसदहरूले अर्को दल बनाउने वा पुरानै पार्टीमा फर्कने स्थितिलाई ध्यानमा राखेर तत्काल सरकारमा सहभागी हुन आनाकानी गरेका हुन् । 

नेपाल पक्षमा खुलेर लागेका सांसदहरू धेरैजसो मन्त्री पदको आकाङ्क्षी रहेका छन् । त्यसै गरी यादव नेतृत्वको जसपामा पनि धेरै सांसदहरू मन्त्री पदको आकाङ्क्षी रहेका छन्। नेपालले नेतृत्व गरेको पार्टी भन्दा पनि यादवले नेतृत्व गरेको पार्टी विभाजनमा आउने खतरालाई ध्यानमा राखेर एक सातालाई मन्त्रिपरिषद् विस्तार ढिलाइ गरिएको हो। 

‘हामीले त मन्त्री नियुक्तिका लागि निश्चित मापदण्ड बनाएका छौ त्यही अनुसार मन्त्रीको नाम तय हुनेछ’, नेकपा एकीकृत समाजवादीका हाइकमाण्ड सदस्य बेदुराम भुसालले भने। नेकपा एस पार्टीले भूगोल, समावेशिता र नयाँ पुराना पुस्ताहरूबीच सन्तुलन मिलाएर मन्त्रीपरिषद्मा पठाउने भएको हो। एकैतिरको मात्रै नहोस् भनेर पूर्व–पश्चिम सबै भूगोलको समेट्ने गरी मन्त्री बनाउने भएको हो। समावेशितालाई पनि ख्याल गरिने र नयाँ पुस्तालाई पनि प्राथमिकता दिने गरी मापदण्ड बनाएको हो। 

मन्त्रिपरिषद् विस्तारबारे सोमबार र मङ्गलवार सत्तारुढ गठबन्धनका नेताहरूबीच बालुवाटारमा छलफल भएको थियो। छलफलका क्रममा नेपाल र यादवले दल रोज्न समय सकिएपछि र राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्ता लिएपछि मात्रै सरकारमा सहभागी हुने जनाएका थिए। त्यसमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि सहमत रहेको स्रोतको दाबी छ। 

माओवादी केन्द्रबाट यसअघि नै जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री भइसकेका भए पनि त्यहाँ पनि मन्त्री छान्न अप्ठेरो परेका बेला सरकार विस्तारमा कम्तीमा एक साता पर धकेलिएको छ। सत्तारुढ गठबन्धनको सहमति अनुसार अब माओवादी केन्द्रले ४ जना मन्त्री पाउने छन्। यसमा भौगोलिक, प्रादेशिक, जातीय, लैङ्गिक सबैलाई समेट्नुपर्ने बाध्यतामा प्रचण्डसँग रहेकाले आकाङ्क्षी सांसदले अहिले पनि मन्त्री नपाउने सम्भावना बढ्दै गएको छ। मन्त्रीमा हरिबोल गजुरेल, देव गुरुङ, देवेन्द्र पौडेल, अञ्जना विसंखे र पूर्वबाट सुदन राई वा हेमकुमार राई मध्ये एक जना समेट्ने तयारी छ। नारायणकाजी श्रेष्ठको तर्फबाट शशी श्रेष्ठ वा विसंखे मध्ये एक जना हुनसक्ने सम्भावना रहेको माओवादी निकट स्रोतले जनाएको छ।

त्यस्तै नेकपा एकीकृत समाजवादी पार्टीमा भने मन्त्री हुनका धेरै जना आकाङ्क्षी रहेका छन्। पार्टीका अध्यक्ष माधवकुमार नेपालले सरकारमा पठाउनका लागि अहिलेसम्म मन्त्री नभएका पुराना नेता तथा सांसदलाई पहिलो प्राथमिकतामा राखेका छन् । जसअनुसार विरोध खतिवडा, मेटमणि चौधरी, बेदुराम भुसाल, प्रेम आले, पार्वती बिसुंखे, जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, रामकुमारी झाँक्री, कृष्णकुमार श्रेष्ठ‘किसान’सहितका सांसदहरू नेपालको प्राथमिकतामा छन्। पहिलो चरणमा नपर्ने सांसदहरूलाई दोस्रो चरणमा मन्त्रीमा पठाउने र कतिपयलाई उपसभामुख, संसदीय समितिको नेतृत्वलगायतमा व्यवस्थापन गर्ने नेपालले सांसदहरूलाई वचन दिएका छन्। अहिले चर्चामा रहेकै नेताहरूलाई सरकारमा सहभागी गराउने नेपाल निकट स्रोतले जनाएको छ। 

नेपाल समूहको प्रवक्ताकै भूमिकामा रहेका मेटमणि चौधरी पनि सरकारमा जाने तयारीमा छन्। उता यादव पक्षलाई भने २१ गते अघि मन्त्रिपरिषद् विस्तार भएमा आफैसँग रहेका चार सांसदले अर्को दल खोलेर भाग्लान् भन्ने चिन्ता रहेको स्रोतको दाबी छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ