- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
नेपाली राजनीतिमा एउटा छुट्टै ऐतिहासिक विरासत बोकेको पार्टी नेपाली काँग्रेस हो । यसले ७५ वर्षको इतिहासमा थुप्रै उतारचढावहरू व्यहोरेको छ । एउटा जिउँदो पार्टीमा आन्तरिक कलह हुनु स्वाभाविक नै मानिन्छ । गुट र उपगुटको अन्तरद्वन्द्वले अछुतो भने देखिएको छैन। काँग्रेसमा कम्युनिस्टको जस्तो मजबुत साङ्गठनिक संरचना पाइँदैन । तापनि जनतामा भिजेको र आफ्नो छुट्टै अस्तित्व निर्माण गरेर आफ्नो उच्च विरासत कायम गर्दै आएको पार्टी हो । बिपी कोइरालाले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवादको मूल सिद्धान्तलाई आफ्नो राजनैतिक यात्रा बनाएको देखिन्छ ।
जहानियाँ राणा शासनको समाप्ति र प्रजातन्त्रको स्थापनाका लागि स्थापना भएका दुई पार्टी नेपाली राष्ट्रिय काँग्रेस र नेपाल प्रजातन्त्र काँग्रेसको २००६ सालमा एकीकरण भएर नेपाली काँग्रेसको स्थापना भएको हो । यसको जग २००३ सालमै हालिएको थियो । इतिहासलाई हेर्दा यो पार्टी स्थापनाको एक मात्र लक्ष्य, उद्देश्य र ध्येय भनेको केवल राणा शासनको समाप्ति, प्रजातन्त्रको स्थापना, समुन्नत नेपाल र समृद्ध नेपाली बाहेक केही थिएन ।
परिणामस्वरूप यसको स्थापना कालको लक्ष्य र उद्देश्य २००७ साल फागुन ७ गते प्राप्त भयो । प्रजातन्त्रको स्थापनापछि प्रजातन्त्रका लागि गरिएको गौरवपूर्ण क्रान्तिलाई बिर्सिएर तत्कालीन राजाले राणाको स्थान लिन प्रयत्न गरेपछि २००७ सालदेखि २०१५ सालसम्म राजा र काँग्रेसका बीचमा अन्तर्विरोध र सङ्घर्ष सुरु भएको देखिन्छ । २०१५ सालको आम निर्वाचनपछि नेपाली काँग्रेसले दुई तिहाइको सरकार गठन गरेपश्चात् काँग्रेसको राजनैतिक उचाइ र छवि राम्रो देखिन्छ ।
सायद काँग्रेसको यो छवि देखेर र नेपालको पहिचान र उपस्थिति, देश विकासले लिएको अग्रताबाट डराएर मोज मस्तीमा पल्किएका राजाले आफूबाहेक अरूलाई देश दुनियाँले राम्रो भनेको देख्न नचाहने राज परम्पराका कारण राजा महेन्द्रले २०१७ साल पुस १ गते जन निर्वाचित सरकारलाई अपदस्थ गरी राज्यसत्ता आफ्नो हातमा लिएको देखिन्छ । तत्कालीन प्रधानमन्त्री महामानव बिपी कोइराला लगायतका काँग्रेसका नाम चलेका सबै नेताहरूलाई थुनामा हालेर महेन्द्रले पञ्चायती व्यवस्थाको प्रादुर्भाव गरे । तर काँग्रेस निरन्तर रूपमा पञ्चायतका विरुद्ध आन्दोलन गरिरह्यो ।
३० वर्षको अनवरत आन्दोलन गरेपछि काँग्रेस र कम्युनिस्ट मिलेर ऐतिहासिक आन्दोलनपछि नेपालमा २०४६ साल चैत २६ गते बहुदलीय प्रजातन्त्र आएको थियो । २०४६ सालको बहुदलीय प्रजातन्त्र आएपछि अधिकांश नेपालको शासन सत्ता नेपाली काँग्रेसले सम्हाल्यो । २०४६ पछिको शासन सत्तामा बाँचुन्जेल अधिकांश समय गिरिजाप्रसाद कोइरालाको एकछत्र नै चल्यो । यही समयमा काँग्रेस सत्ता लिप्सा र कुर्सी मोहले निकृष्ट र घृणित राजनीतिक चक्रब्यूँहमा परेको आरोपसमेत लाग्यो । फलस्वरूप सांसद किनबेच जस्तो क्रियाकलाप काँग्रेसमा देखा परेको आरोप पनि सहनु पर्यो ।
पार्टीभित्र असमझदारी बढेसँगै पार्टीका संस्थापक र निष्ठावान् नेताहरू पार्टीमा बस्ने अवस्था नदेखी राजनीतिबाट संन्यास लिनुपरेको थियो । सत्ता लिप्साको फोहरी र दुर्गन्धित खेलले ३६–७२ हुँदै पार्टी फुट्ने सम्मको अवस्था पुगी पार्टी फुट्यो । नेपाली काँग्रेसमा नाम कहलिएका उच्च पदस्थ नेताहरू नै भ्रष्टाचारी भए र काँग्रेस मात्र नभएर नेपाली राजनीतिमा कलङ्कको टीका लगाए जसले गर्दा काँग्रेसको जुन छवि र विरासत थियो त्यसमा इतिहासमा नै नपुछिने गरी दाग लाग्यो ।
नेपाली काँग्रेसको १२ औँ महाधिवेशनले गिरिजाप्रसाद पछिको नेतृत्व सुशील कोइरालामा आउँछ । सादगी जीवन पद्धति अँगाल्ने सुशील कोइराला सभापति र प्रधानमन्त्री भएकै कार्यकालमा २०७२ सालमा नेपालको सङ्घीय गणतन्त्रात्मक संविधान बनेको थियो । नेपाली काँग्रेसको १३ औँ महाधिवेशनबाट आएका वर्तमान सभापति शेरबहादुर देउवा हुन् ।।
देउवाको कार्यकाल सकिसकेको छ । डेढ वर्षअघि नै सकिएको उनको कार्यकालमा कोरोना भाइरसको महामारी र उनको आफ्नो इच्छाशक्तिले डेढ वर्ष पछाडि धकेलेसँगै १४ औँ महाधिवेशनको प्रक्रिया अगाडि बढिसकेको छ । भदौ १८ गतेदेखि वडा अधिवेशन सुरु भइसकेको छ । त्यसपछि जिल्ला, प्रदेशसँगै अन्त्यमा मङ्सिर ९ देखि १२ गतेसम्म काठमाडौँमा १४ औँ महाधिवेशन सम्पन्न हुनेछ । यसैका लागि काँग्रेस आन्तरिक चुनावी सङ्ग्राममा होमिएको छ ।
काँग्रेसको आन्दोलनमा महत्त्वपूर्ण छवि बनाएका देउवा सत्ता लिप्साको फोहरी खेलमा बेला बेलामा लागे र काँग्रेस नै फुटाले । कहिले सक्षम र कहिले असक्षम बनी सत्ता चलाए । इतिहासमा भागबन्डाको राजनीति गर्दा जम्बो मन्त्रीमण्डल बनाएर शासन सत्ताको चरम दुरुपयोग गरेका थिए । सत्ता लिप्सा र फोहरी खेल खेल्न माहिर देखिएका देउवा नेपालको इतिहासमा सबैभन्दा धेरै प्रधानमन्त्री हुने भाग्यमानी व्यक्तिका रूपमा अहिले पाँचौँ पटक प्रधानमन्त्री भएका छन् ।
नेपाली काँग्रेस पार्टीभित्र अहिले केही अन्तरद्वन्द्व भए पनि १४ औँ महाधिवेशनमा जुटेको छ । नेतृत्वको लागि ठुलो रस्साकस्सी छ । काँग्रेसको पनि अरू पार्टीको जस्तै समस्या भनेको केही नेतालाई देवत्व करण गर्ने शैली रहेको छ । मानौँ केही नेता बिना पार्टी चलाउन सकिँदैन कि भन्ने असक्षमता दोस्रो पुस्ता वा तेस्रो पुस्तामा देखिन्छ । चाकरी र चाप्लुसी गर्दै ५–७ जनाको अगाडि पछाडि सम्पूर्ण पार्टी पङ्क्ति लागेको देखिन्छ ।
२१ औँ शताब्दीको युग अनुकूल पार्टी र देश हाँक्ने युवा पुस्ताको नेतृत्व नेपाली जनताले खोजेका छन् । तर नेपाली काँग्रेसका युवा पुस्ताहरू बोल्न नसकी डराई डराइ असक्षमता प्रकट गरिरहेका छन् । यस महाधिवेशनमा पहिलो पुस्तालाई सम्मान गर्दै दोस्रो र तेस्रो पुस्ता हिम्मत गरी नेतृत्वमा आउनुपर्छ । अनि मात्र नेपाली राजनीतिले नयाँ मोड लिन सक्ने सम्भावना देखिन्छ । उमेरगत दृष्टिले हेर्दा पनि नेतृत्वको लागि तम्सिएका दोस्रो पुस्ता नै ६०–६५ वर्षको हाराहारीमा देखिएका छन् । वर्तमान नेपाली राजनीतिमा एउटा व्यक्ति पटक पटक नेतृत्वमा बस्ने अनि माखो नमार्ने संस्कारले राजनीति नै दुर्गन्धित बन्यो। युवा पुस्ताले हस्तक्षेप नगरी पालो पर्खेर बस्ने हो भने युवाको समय कहिल्यै आउँदैन ।
नेपाली काँग्रेसमा एज र एजेन्डासहित नाम कहलिएका तेस्रो युवा पुस्ताको प्रतिनिधित्व गर्ने नेताहरू गगन थापा, चन्द्र भण्डारी , धनराज गुरुङ, प्रदीप पौडेल, विश्वप्रकाश शर्मा, गुरुराज घिमिरे, बद्री पाण्डे, कमला पन्त, रत्ना शेरचन, जीवन परियार, सरिता प्रसाईँ, रामकृष्ण यादव, किरण यादव आदि कुनै गुट उपगुट नबनाई आउन सक्ने हो भने अरू पार्टीले पनि शिक्षा पाउने थिए ।
अहिले पार्टी नेतृत्वमा पुग्ने नेता २१ औँ शताब्दीमा कार्यकर्ता प्रिय र आम नागरिकबीच विचारको सम्प्रेषण गरिरहन सक्ने हुनुपर्छ । कुनै पनि मुद्दामा आफ्नो अभिमत प्रकट गरेर जनमत निर्माण गर्न उही पुरानो आचरण र शैली अपनाएर हुँदैन र नसक्ने व्यक्ति नेता हुन योग्य पनि हुँदैन ।
अझै पनि देउवा र पौडेलको दौराको फेरो समातेर तिनीहरूको वरिपरि घुम्न खोजियो भने नयाँ काँग्रेसको अनुभव नेपाली जनताले गर्न पाउँदैनन् र सिङ्गो पार्टी मात्र होइन नेपालीहरूको आशा फेरि पनि अन्धकारमा नै रुमलिने छ ।
(रुपन्देहीको बुटवलवासी लेखक हाल अमेरिकाको भर्जिनियामा छन्)