arrow

जिल्लाले निर्णय गरेर विद्यालय सञ्चालन गर्न सक्ने, काठमाडौंमा आज निर्णय

देशभर नै विद्यालय सञ्चालनमा आउने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २० आइतबार
Public_school_1618134814.jpeg

काठमाडौं । ‘स्मार्ट लकडाउन सम्बन्धी कार्यविधि २०७८’अनुसार हालको अवस्थामा देशभर नै विद्यालय सञ्चालन हुनसक्ने भएका छन्। नेपाल सरकार कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले जारी गरेको स्मार्ट लकडाउन कार्यविधि अनुसार कोरोना भाइरसको सङ्क्रमण कम भएका जिल्लाहरूले विद्यालय सञ्चालन गर्न पाउने भएका हुन् ।

सीसीएमसीले कोभिड-१९को सङ्क्रमणलाई व्यापक, पर्याप्त, मध्यम र न्यून गरी चार किसिमले वर्गीकरण गरेको छ । सङ्क्रमणको यो चार वटा अवस्थालाई रातो, गाढा पहेँलाे, पहेँलो र हरियो रङले सङ्केत गरिएको छ ।

यी चार किसिमले वर्गीकरण गर्नका लागि सातागत संकमण दर, गत साता भन्दा सङ्क्रमण दरमा गिरावट, सातागत नयाँ सङ्क्रमित, भर्ना सङ्क्रमित र सातागत मृत्यु दरलाई मापक बनाएको छ ।

यस अनुसार सूचकहरूलाई अङ्क दिइएको छ । १०० अङ्क भन्दा बढी भएको जिल्ला रेड जोनमा, ६५ अङ्कभन्दा बढी भएको जिल्लागाढा पहेँलाे जोनमा रहनेछन् ।

यस्तै ३० अङ्क रहेको जिल्ला पहेँलो र १५ अङ्क रहेको जिल्ला हरियो जोनमा रहनेछन् । अहिले लगभग देशभरका धेरै जिल्लाहरू पहेँलो र केही जिल्ला हरियो जोनमा रहेको देखिन्छ ।

सीसीएमसीका प्रवक्ता सीसीएमसीका प्रवक्ता नुरहरि खतिवडाले अहिले   लगभग देशभर नै सङ्क्रमणको अवस्था न्यून रहेको बताएका छन् ।

'हामीले कार्यविधि बनाएका छौँ, यसै अनुसार तथ्याङ्क विश्लेषण गरेर विद्यालय सञ्चालन गर्न सकिनेछ', उनले भने ।

यस अनुसार, जिल्ला कोभिड-१९ व्यवस्थापन समितिले जिल्लामा संक्रमणकाे अवस्था निर्क्याैल गरेर, स्थानीय तहको समन्वयको आधारमा स्वास्थ्य मापदण्डको पालना गरी विद्यालय सञ्चालन हुन पाउने भएका हुन् ।

विद्यालय सञ्चालन गर्नका लागि पनि विद्यालय सञ्चालन सम्बन्धी कार्य ढाँचाको पालना गरेर मात्रै सञ्चालन गर्न मिल्ने शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताए ।

'सङ्क्रमण कम हुँदै गएका जिल्लाहरूले स्मार्ट लकडाउनको आधारमा विद्यालय सञ्चालन गर्न पाउने भएका हुन्, यसमा शिक्षा मन्त्रालय भन्दा पनि सीसीएमसी, डिसीएमसी र स्थानीय तहको समन्वय रहेको छ', प्रवक्ता शर्माले भने ।

काठमाडौँ जिल्लामा आज निर्णय हुँदै

काठमाडौँमा विद्यालय के-कसरी सञ्चालन गर्ने भन्ने विषयमा भोलि छलफल हुने तयारी रहेको जिल्ला प्रशासन कार्यालय काठमाडौँकी सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले बताइन् । 

'सबै नगरपालिकाका शिक्षा एकाइ प्रमुखहरूको उपस्थितिमा सोमबार छलफल हुँदै छ, त्यसपछि के गर्ने भन्ने निर्णय हुन्छ', उनले भनिन् ।

उपत्यका बाहिर सप्तरी, काभ्रे, तनहुँ, हुम्ला र जुम्लालगायत जिल्लाहरूमा यसअघि नै विद्यालयहरू सञ्चालनमा आइसकेका छन् ।

यस्तै आगामी भदौ ३० गतेबाट कक्षा १२ को वार्षिक परीक्षा सञ्चालन हुने भएको छ । दुई पटक परीक्षा स्थगित गरेको राष्ट्रिय परीक्षा बोर्डले तेस्रो पटक गत बुधवार परीक्षा तालिका सार्वजनिक गर्दै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

जोखिम उच्च नै छ  

दैनिक २ हजारको हाराहारीमा सङ्क्रमित थपिदा कोरोना भाइरसको सङ्क्रमणको जोखिम भने उच्च नै रहेको विज्ञहरू बताउँछन् । यस सँगसँगै निरन्तर नयाँ भेरिअन्टहरू थपिने क्रम समेत जारी छ ।

विद्यालय सञ्चालनको क्रममा स्वास्थ्य मापदण्डमा पूर्ण रूपमा ध्यान दिइएन भने सङ्क्रमणको जोखिम बढ्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका विज्ञ डा. शेरबहादुर पुन बताउँछन्। स्वास्थ्य मापदण्डको पालनाका लागि प्रशासनले समेत निकै चुस्त रहनु पर्ने उनको भनाइ छ ।

'यसअघि नै सङ्क्रमण फैलिइसकेको समुदाय जहाँका मानिसहरूमा पर्याप्त एन्टीबडीरहेको छ त्यो समुदायमा सङ्क्रमण फैलिने जोखिम कम हुन्छ, तर, यसअघि नै सङ्क्रमित भइसकेका छैनन् भने, सङ्क्रमण फैलिने सम्भावना बढी हुन्छ', उनले भने ।

यसबाहेक देशभित्रै उत्पन्न भएर या देशबाहिरबाट भित्रिएर नयाँ भेरिअन्टको सङ्क्रमण फैलिन सक्ने जोखिम पनि रहेको डा. पुन बताउँछन् । यसकारण काेराेना भाइरसकाे संक्रमणकाे जाेखिम बढी नै रहेका कारण विद्यालय सञ्चालन गरिरहँदा स्वास्थ्य मापदण्डमा बिशेष ध्यान दिनुपर्ने विज्ञहरूकाे भनाइ छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ