- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
नेपालको पर्यटन विकासको क्रममा नेपाल भ्रमण वर्ष १९९८ को महत्वपूर्ण योगदान रहेको पाइन्छ । भ्रमण वर्षले विश्व मानचित्रमा नेपाललाई सशक्त रुपमा प्रस्तुत गर्न विभिन्न क्षेत्रीय, अन्तर्राष्ट्रिय तथा स्थानीय तह मा कार्यक्रमहरुको आयोजना गरेको थियो । यस भ्रमण वर्षले नेपालमा मेला महोत्सव र पर्यटकीय सम्पदाहरुको पहिचान गराउन सफल भएको र तत्कालीन समयमा देशका ७५ वटै जिल्लाका स्थापित एवम् नव–प्रस्तुत सम्पूर्ण सम्पदाहरुको प्रवद्र्धन गर्न विभिन्न सांस्कृतिक कार्यक्रमहरुको आयोजना गरिएको थियो । नेपालको पर्यटन क्षेत्रमा यो पर्यटन अभियान एक कोशेढुङ्गा सावित भएको मान्न सकिन्छ ।
भ्रमण वर्ष १९९८ को सफल आयोजना र स्थानीय रुपमा भएका यस्ता क्रियाकलापहरुले स्थानीय वस्तुहरुको व्यापार र गन्तव्यहरुको प्रचार प्रसारमा टेवा पुर्याएको पाइयो । एउटा कुनै गन्तव्यले महोत्सव गरेपछि अरुले त्यसको अनुशरण गर्दा देशभरि नै पर्यटन, कृषि र उद्योगका मेला महोत्सवहरु हुन थालेको पाइन्छ ।
यसैबीच नेपाल सरकारले सन् २००२–२००३ मा डेस्टिनेशन नेपाल क्याम्पेनको आयोजना गर्यो । सन् २००४–२००५ लाई क्षेत्रीय पर्यटन प्रवद्र्धन अभियान र सन् २००७ पोखरा भ्रमण वर्षको रुपमा आयोजना पनि भयोे । सन् २०११ मा दश लाख पर्यटक नेपाल भित्र्याउने प्रमुख लक्ष्य सहित पुनः नेपाल पर्यटन वर्ष २०११ को आयोजना भएको थियो । त्यसैगरी सन् २०२० को लागि नयाँ अभियान भिजिट नेपाल २०२० को एक वर्षीय पूर्व तयारी सन् २०१९ मा गरी औपचारिक उद्घाटन १ जनवरी २०२० मा सम्पन्न गरिएकोमा विश्वव्यापी महामारी कोभेड–१९ को कारण थप कार्यक्रमहरु सञ्चालन गर्न सकिएन ।
सन् १९९८ देखि शुरु गरिएका यस्ता पर्यटकीय अभियानलाई थप राष्ट्रव्यापी स्तरमा समेट्न र राष्ट्रिय सम्पदाहरुको पहिचान सहितको प्रस्तुतिकरण गर्न सन् २००४ र २००६ मा नेपाल पर्यटन बोर्ड, नाटालगायत विभिन्न निजी क्षेत्रका संगठनहरुले दुईवटा महत्वपूर्ण अन्तर्राष्ट्रिय स्तरका हिमालयन ट्राभल मार्ट (एचटीएम) र नेशनल टुरिजम फेयर (एटीएफ) नयाँ बानेश्वरको वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआईसीसी) मा आयोजना गरिएको थियो ।
बीआईसीसीमा आयोजना गरिएको यही एचटीएम र एटीएफको अगुवाई बोर्डका निर्देशक सुभाष निरौला र यस पंक्तिकार सहितको टिम र निजी क्षेत्रबाट सन् २००४ र सन् २००६ मा ट्राभल एजेण्ट्सहरुको छाता संस्था नाट्टा अध्यक्ष रवि पौडेलको टिम र सन् २००६ मा ध्रुवनारायण श्रेष्ठ र अर्जुन शर्माको टिमले गर्नु भएको थियो । त्यसैगरी भृकुटीमण्डपको प्रदर्शनी स्थलमा सन् २००८ मा सफलतापूर्वक आयोजना गरिएको मार्टमा रामकाजी कोनेको टिमले संयोजन गर्नु भएको थियो ।
यसरी सम्पन्न तीन वटा मार्टहरुको आयोजनाले दक्षिण एसियामा नेपालको अन्तर्राष्ट्रिय स्तरको मेला गर्न सक्ने क्षमता छ भन्ने कुरामा बल पुर्याएकोे थियो । यी माटहर्रुमा देशका ७५ जिल्लाहरुको प्याकेज सहितको उपस्थिति र निजी क्षेत्रको प्रत्यक्ष सहभागिताले देशलाई माइस पर्यटन गराउन सक्ने क्षमता भएको गन्तव्यका रुपमा उभ्याएको थियो । बीआईसीसी मेलाको आकर्षण भारतको दिल्लीस्थित प्रगति मैदानमा हुने गरेको मेला महोत्सवको झल्को भन्दा कुनै कम थिएन । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चार माध्यमले निकै चर्चामा ल्याएको विषय पनि थियो ।
बीआईसीसीलाई जुन उद्देश्यले चीनले बनाई त्यसको नामाकरण गरियो वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, त्यसलाई हाम्रा जन प्रतिनिधिहरुले संसद भवनको रुपमा उपयोग गरे । राष्ट्रिय उद्देश्य पूरा गर्दा पर्यटनको उद्देश्यको पूरा हुने बाटोमा नै विराम लागेको देखियो ।
देशमा ठूला स्तरका मेला, मार्ट गर्ने स्थान नै भएन र सन् २००७ पछिका दिनहरुमा एचटीएम जस्ता अन्तर्राष्ट्रिय स्तरको मेला काठमाडौंमा भए तर स्थान चाहीं भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा र सोल्टी होटलको हल र गार्डेनमा गर्नुपर्ने बाध्यतामा सञ्चालन भए ।
एउटा राम्रो दिशा लिइसकेको माइस पर्यटनको ल्याण्डमार्क सम्पदा बीआईसीसीको भिन्न तरिकामा उपयोग भएपछि महत्वपूर्ण सम्भावनालाई विश्राम नै दिएको जस्तो भान भएको छ । हुनत ५ हजार क्षमताको सभाहल लुम्बिनीमा पनि बनेको छ । हालै भक्तपुरमा पनि ५ हजार क्षमताको सभागृहको शिलान्यास भएको पाइन्छ । तर काठमाडौंलाई अन्तर्राष्ट्रिय स्तरको सभा सम्मेलन केन्द्र, पर्यटकीय बजारलाई हाम्रा सम्पदाहरु बारे साझा थलोबाट विश्व माझ पस्किने स्वर्ण अवसरबाट हामी चुकिरहेका छौं ।
माइस पर्यटनको इतिहास हेर्ने हो भने २० औं शताब्दीमा अमेरिकामा विकास भई युरोपमा सरेको पाइन्छ । अमेरिकाको पहिलो कन्भेन्सन व्यूरो सन् १८९६ मा स्थापना भएको र मोडर्न ट्रेड फेयरको पहिलो मेला सन् १८९५ मा जर्मनीको लेप्जिङमा भएको थियो । त्यसको आयोजना मस्टरमेसीले गरेको पाइन्छ । अमेरिका र युरोपका विभिन्न कन्भेन्सन सेन्टरहरुमा हुने ट्राभल मार्ट एन्ड एक्जिभिसन हरुको विकासको क्रम हेर्दा लण्डन शहरमा डब्ल्युटीएम, बर्लिन शहरमा आईटीबी, मिलान शहरमा बीआईटी, मड्रिड शहरमा एफटीयूआर, उट्रच्ट शहरमा भाकान्टेबर्स, एलए कन्भेक्सन लस एन्जलसमा वल्ड भेन्चर ट्राभल शो जस्ता वार्षिक रुपमा मनाइने स्थापित कार्यक्रमहरुका केही उदाहरण छन् । साथै अमेरिकाको अर्को एउटा उत्कृष्ट माइसको गन्तव्य लस भेगासलाई भन्न सकिन्छ । किनकि त्यस शहरको अर्थतन्त्र माइस पर्यटन र जुवाको व्यापारमा आधारित रहेको पाइन्छ ।
त्यस्तै साउथ इष्ट एसियामा सिंगापुर एक उत्कृष्ट माइस पर्यटनको गन्तव्य हो । त्यहाँको अर्थतन्त्रमा माइसबाट हुने एक डलरको कमाईले लगभग १२ डलरसम्मको योगदान जीडीपीमा गरेको छ, । विश्वभरि आजको दिनमा शहरहरुको पहिचान त्यहाँ हुने मेगा इभेन्टले हुने गरेको छ । जस्तै, कान्स शहर अन्तर्राष्ट्रिय फिल्म समारोहहरुको लागि, बोर्डेक्स शहर वाइनको मेलाको लागि, फ्रयांकफर्ट शहर किताब र अटोमोबाइल्सको मेलाको लागि, बर्लिन शहर आईटीबी पर्यटन विश्व मेलाको लागि ।
यस क्रममा छिमेकी राष्ट्र भारतको अन्तर्राष्ट्रिय स्तरको मेला, सम्मेलन र प्रदर्शनीमंचको निर्माण र त्यसको प्रगति पनि उदाहरणीय रहेको छ । सन् १९७२ मा अन्तर्राष्ट्रिय व्यापार मेला एसिया७२ को आयोेजना र स्वतन्त्रताको २५औ वर्षगाँठ मनाउने क्रममा नयाँ दिल्लीको प्रगति मैदानमा सभा हल निर्माण गरिको थियो । पछि सन १९८२ र २०१२ मा अन्तर्राष्ट्रिय सभा सम्मेलन गर्ने क्षमता विकास र त्यसको आधुनिकीकरण पछि थप अन्तर्राष्ट्रिय पर्यटन, व्यापार मेला तथा विभिन्न राज्यका हस्तकला एवम् सांस्कृतिक मेलाहरु ७० भन्दा बढी हुने गरेको पाइन्छ ।
अर्को राम्रो उदाहरण थाइल्याण्डको छ जसले माइस पर्यटनको रुपमा उदाहरणीय कार्य गरिरहेको पाइन्छ । एसियाको उत्कृष्ट बिजनेस गन्तव्य बन्ने उद्देश्यसहित सन् २००४ मा थाइल्याण्ड कन्भेक्सन एन्ड इक्जिबिजन ब्यूरोको स्थापना गरियो । ब्यूरोले थाइल्याण्डको बैंककलाई व्यापारिक केन्द्र बनाउन त्यहाँ बाह्रै महिना सभा सम्मेलन, मेला तथा विभिन्न जीवन्त इभेन्टहरुको सञ्चालन गर्दै आइरहेको पाइन्छ । विभिन्न कार्यक्रमहरुको सञ्चालनमा समन्वय गर्न, प्रत्येक विधाको महाशाखा बनाई व्यापारमा साझा थलोको रुपमा विस्तार गरी बैंकक एक सफल अनुकरणीय उदाहरण हामी माझ बन्न सकेको छ ।
माइसमा अन्तर्राष्ट्रिय स्तरको मेला, सभा सम्मेलनसँगै अर्को महत्वपूर्ण कुरा हो इन्सेन्टिभ टुर । आजको कर्पोरेट बजारमा कर्मचारीहरुलाई प्रोत्साहन गर्ने विभिन्न प्रकारका प्रोत्साहन टुर दिने प्रचलन छ, जसमा ट्राभल लेभल इन्सेन्टिभ प्रमुख छ । भारतमा पनि कर्पोरेट कम्पनीहरुले वार्षिकरुपले आफ्ना डिलर, एजेन्ट, ग्राहक तथा कर्मचारीहरुलाई विभिन्न प्रोत्साहन टुर,सभा, जमघट गर्ने गरेको पाइन्छ । यस्ता प्रोत्साहन गर्ने कार्यक्रममा थाइल्याण्ड, सिंगापुर, मलेसिया तथा दुबईले वर्चश्व जमाएका छन् । यस्ता प्रोत्साहन भ्रमणका कार्यक्रमहरुलाई नेपालका टुर ओपरेटरहरुले पनि नेपालको उच्च पहाडी गन्तव्य, ट्रेकिङ क्षेत्र र धार्मिक स्थलहरुका विभिन्न प्याकेज बनाइ कर्पोरेट कम्पनीहरु कार्यक्रम तान्न सक्ने सम्भावना पनि त्यत्तिकै देखिन्छ । तर यसको लागि केही थप पूर्वधार र जनशक्तिको आवश्यक देखिन्छ ।
हामीसँग जे जस्ता पूर्वाधारहरु छन् त्यहीबाट शुरु गर्नुपर्छ । वर्तमान परिस्थिति कोभिड–१९ ले प्रभावित गरेको छ । हाम्रो अर्थतन्त्र र त्यसमा अति प्रभावित पर्यटन क्षेत्रको पुनर्ताजगी र भावी दिनमा दिन सकिने दिशानिर्देशनमा माइस पर्यटनको सम्भावनाको लागि केही भौतिक पूर्वाधार तयार पार्नुपर्ने देखिन्छ ।
त्यसको लागि मैले तीनवटा सम्भावना देखेको छु । प्रथम, तत्कालिन समयमा नारायणहिटी दरवार संग्रहालयको मुख्य भवनको पूर्वपट्टिको जमीन, जसमा गणतान्त्रिक पार्क पनि बनेको छ र सँगै रहेको मैदान, नेपाली सेनाको ब्यारेक आदि रहेको सम्पूर्ण क्षेत्रलाई समेटेर आइरन र प्रिफ्याबका केही साना, ठूला संरचनामा सभाहल र प्रदर्शनको लागि चाहिने हल आदि बनाइ नारायणहिटी दरवारको ऐतिहासिक पृष्ठभूमि, संग्रहालयको थप आकर्षण र काठमाडौंको मुटुमा रहेको यसको अवस्थितिले एक नौलो पहिचान सहितको अन्तर्राष्ट्रिय सभा सम्मेलन, मेला तथा प्रदर्शनीको केन्द्र बनाई यसमा राष्ट्रिय तथा अन्तराष्ट्रिय मार्टहरुको आयोजना गरी पर्यटन क्षेत्रको विकासबाट लाभ लिन सकिन्छ ।
दोश्रो प्रस्तावमा भृकुटीमण्डप, काठमाडौंस्थित प्रदर्शनीमार्गमा रहेको प्रदर्शनी स्थल हललाई टुकुचे खोलादेखि नेपाल पर्यटन बोर्डको सेवा केन्द भवनसम्मको संरचनाहरुलाई एकीकृत रुपमा लिई ठूलो सभा सम्मेलन केन्द्र बनाउन सकिन्छ, यस क्रममा राष्ट्रिय सभा गृह, प्रहरीको तालिम केन्द्र, रत्नराज्य कलेज, बाल्मिकी कलेज आदि संस्थाहरु पनि स्थानान्तरण गरी ठूलो संरचनाको अन्तर्राष्ट्रिय सभा सम्मेलन केन्द्र बनाउनु पर्ने देखिन्छ । यस परियोजनाले सिंहदरवारको अगाडिको खुल्ला मार्ग भद्रकाली मन्दिरदेखि सिंहदरवारको पश्चिम गेटसम्मको क्षेत्रमा थप पर्यटकीय आकर्षण बनाउन शनिबारको सडक मेला वा रात्री बजार आदिको आकर्षण दिन सकिने र पर्यटकीय गतिविधि गर्न सकिने देखेको छु ।
तेश्रो प्रस्ताव मा कीर्तिपुरको मन्जुश्री पार्क वरपरको स्थानमा ठूलो प्रदर्शनी मैदान र सभाकेन्द्र बनाई अन्तर्राष्ट्रिय स्तरको सभा सम्मेलन, मेला तथा प्रदर्शनीे केन्द्रले पर्यटन क्षेत्रको दिगो विकासमा मद्धत गर्नेछ । काठमाडौं शहर भन्दा बाहिर चोभार, कीर्तिपुरमा बन्ने यस प्रदर्शनी हलहरुको पूवाधारले कीर्तिपुरको पर्यटकीय आकर्षण बढाउँदै ‘सिटी अन हिल’ को रुपमा विकसित हुने कीर्तिपुरको पहिचानमा थप आयाम मिल्नेछ ।
उपरोक्त तीनवटा प्रस्तावहरुमध्ये कुनै पनि एक स्थानको विस्तृत योजना, जग्गा अधिकरण आदि कार्य यसै वर्ष गरी अर्को वर्षदेखि कार्यान्वयनतर्फ गयो भने कोभिड–१९ ले शिथिल पारेको पर्यटकीय आवागमनले छाएको नैराश्यतालाई हटाउन र नयाँ आशाको किरण झुल्काउने छ । न्यू नर्मल अवस्थामा नेपालले व्यापक प्रचार प्रसार गर्नु नै पर्छ र आफ्ना पर्यटकीय सम्पदा तथा पर्यटकीय सेवा सुविधाहरुको प्याकेज विश्व माझ पस्कन हिमालयन ट्राभल मार्ट र नेशनल टुरिजम फेयर जस्ता ठूला आयोजना भव्यरुपले आयोजना गर्न थप मद्धत मिल्नेछ ।
त्यसैले माथि प्रस्तावित ठाउँहरुमा आवश्यक पूर्वाधार विकास गरी एकीकृत सभा सम्मेलन, मेला तथा प्रदर्शनीको केन्द्र बनाई माइस पर्यटनको अवधारणालाई अवलम्बन गर्दै अन्तर्राष्ट्रिय स्तरको पर्यटन मार्टको आयोजना गर्नुपर्ने देखिन्छ । यस्ता कार्यक्रमलाई वार्षिक इभेन्ट क्यालेन्डरमा सधैको लागि राख्ने व्यवस्था पनि गरियोस् । साथै बीआईसीसीलाई यथाशीघ्र खाली गरी पुरानै बिजनेसमा लगाउँँदै माइस पर्यटनको विकास गर्न, माइस ब्यूरोको स्थापना पनि गर्नुपर्ने र सोही अनुसार नेपाल सरकारले इन्सेन्टिभ टुर प्याकेजको लागि पनि विशेष आकर्षक पुरस्कार, छुट आदिको व्यवस्था पर्यटन व्यवसायीहरुलाई हुने क्रियाकलाप सञ्चालन र प्रर्वद्धन गर्नुपर्ने देखिन्छ ।
आजको पर्यटनको विस्तारमा कनेक्टेभिटी र नेटवर्किङको अत्यन्त महत्वपूर्ण योगदान छ । कनेक्टिभिटीमा जल, जमीन र हवाइमार्गका संजालसँगै डिजिटल संसारको संजाल उपयोगी छ । नेटवर्किङको पाटोमा व्यक्तिको व्यक्तिसँगको संजाल हुन भेटभाट र लगातार सम्पर्क नै चाहिन्छ । त्यसैले मिटिंगको भेन्यु र मेन्यु तयार छ भने बजार आफै आउन चाहन्छ ।
माइस ब्यूरोको स्थापना र माथि प्रस्तावित पूर्वाधार केही वर्ष अघिको समयमा परिकल्पना गरेको भए यो स्थानमा सरल तरिकाले संरचना बन्न सक्थ्यो । किन्तु इच्छाशक्ति छ भने अझ सम्भव छ तर केही वर्षहरुपछि परिस्थिति अन्य हुन सक्नेछ । (लेखक नेपाल पर्यटन बोर्डका निर्देशक हुन्)