arrow

बालबालिकाको शिक्षा, स्वास्थ्य र संरक्षणमा थप प्रयास आवश्यक : प्रधानमन्त्री

logo
रासस,
प्रकाशित २०७८ भदौ २९ मंगलबार
deuba-pm-parliament-house.jpg

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड-१९ को नकारात्मक प्रभावबाट जोगाउन बालबालिकाको शिक्षा, स्वास्थ्य तथा संरक्षणका विषयमा थप प्रयास गर्न आवश्यक रहेको बताएका छन् ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय बाल अधिकार परिषद्ले आज आयोजना गरेको ५७औँ राष्ट्रिय बाल दिवस-२०७८ को मूल समारोह समितिको भर्चुअल कार्यक्रममा शुभकामना दिँदै उनले प्रत्येक कोभिड अस्पतालमा प्रभावित बालबालिकाका लागि कम्तीमा २० प्रतिशत श्ययाको व्यवस्था गरिएको अवगत गराए । 

नेपालको संविधानले बालबालिकालाई मौलिक हकका रुपमा आत्मसाथ गरेको र सरकारले बालबालिकासम्बन्धी ऐन, कानूनहरुको तर्जुमा गरी कार्यान्वयनमा ल्याएको जनाउँदै प्रधानमन्त्री देउवाले बालबालिकाको अधिकार संरक्षण गर्दै बालमैत्री राष्ट्र निर्माणका लागि प्रत्येक घरपरिवार बालमैत्री हुन जरुरी रहेको बताए । 

“समुदाय, सरकार तथा विद्यालय र स्वास्थ्य सेवा पनि बालमैत्री हुन आवश्यक छ । बाल अधिकार संरक्षण र संवद्र्धन गर्नु हामी सबैको साझा जिम्मेवारी हो”, प्रधानमन्त्री देउवाको सन्देशमा उल्लेख छ । संयुक्त राष्ट्रसङ्घको बालअधिकार महासन्धि, १९८९ मा नेपाल पक्ष राष्ट्र भएको ३० वर्ष पूरा भएको छ । उक्त महासन्धिलाई नेपालले अनुमोदन गरेको दिनलाई राष्ट्रिय बालदिवस मनाउन थालिएको हो ।
 
“सामान्य अवस्था वा कोभिड महामारी : बाल अधिकार संरक्षण हामी सबैको जिम्मेवारी” को नारासहित आयोजित दिवसमा प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले दिवस केवल नारामा मात्र सीमित नरहोस् र सडक बालबालिकामुक्त राष्ट्र हुन सकोस् भन्ने कामना गरे। जिल्ला समन्वय समिति महासङ्घ नेपालका अध्यक्ष सीता सुन्दासले कुनै पनि बालबालिकाले नाना, खाना र छानाबाट वञ्चित हुन नपरोस् भन्ने भावनालाई व्यवहारत: कार्यान्वयन गर्नुपर्ने खाँचो औल्याए । 

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य सलोनी सिंहले बालअधिकारको संरक्षणका लागि तथा बालबालिका एवं महिला हिंसाविरुद्ध साझा प्रतिबद्धता व्यक्त गर्नुपर्नेमा जोड दिए । मन्त्रालयका सचिव यामकुमारी खतिवडा र परिषद्का कार्यकारी निर्देशक मिलन धरेलले बाल अधिकार संरक्षण र संवद्र्धनका क्रममा भएका प्रयास र उपलब्धिका बारेमा जानकारी गराएका थिए । युनिसेफ नेपालका प्रतिनिधि इल्के विस्च, नगरपालिका महासङ्घ नेपालका अध्यक्ष अशोक ब्याजु, विभिन्न मन्त्रालयका प्रतिनिधिलगायतले बालअधिकारका लागि आफूले गरेका प्रयासबारे उल्लेख गर्दै दिवसको शुभकामना दिएका थिए ।

दिवसका सन्दर्भमा आह्वान गरिएको सङ्घीय नेपालमा बालअधिकार विषयक दुई मिनेटको भिडियो निर्माण प्रतियोगितामा उत्कृष्ट भएका तीन भिडियोको नतिजा घोषणा गरियो । छनोट समितिको मूल्याङ्कन अनुसार घोषित विवरणअनुसार प्रथम:अमृत रिजाल र जानुका जमरकट्टेल, द्वितीय : श्रद्धा श्रेष्ठ र समूह, तृतीय : सिर्जनशील संस्था नेपाल भएको छ । उत्कृष्ट भिडियोलाई क्रमश: प्रथमलाई रु २५ हजार, द्वितीयलाई रु २० हजार र तृतीयलाई रु १५ हजार नगद पुरस्कार तथा प्रशंसापत्र प्रदान गरिनेछ ।

दिवसकै अवसर पारेर सडक बालबालिका मुक्त राष्ट्र नेपाल बनाउने अभियानअन्तर्गत सडकदेखि रङ्गशालासम्म कार्यक्रम, परिषद् र नेपाल रग्वी एसोशियसनले सडक बालबालिकालाई रग्वी प्रशिक्षण कार्यक्रमको शुभारम्भ गरिँदैछ । उक्त प्रशिक्षणमा ४० जना सडकबाट उद्धार तथा संरक्षण व्यवस्थापन गरिएका बालबालिकाको सहभागिता रहनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ